म कैलाली जिल्ला सचिवको स्वाभाविक उम्मेदवार हो : नृपबहादुर सुनार

म कैलाली जिल्ला सचिवको स्वाभाविक उम्मेदवार हो : नृपबहादुर सुनार

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन र ६१ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । उसको केन्द्रीय निर्वाचन समितिले यसअघि विविध कारणले अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन यही पुस २७ र २८ गतेका लागि तय गरे पनि माघ १५ गते सारिएकाे छ ।

ती दिन अधिवेशन हुने १६ जिल्लामध्ये कैलाली पनि एक हो । यो जिल्ला सुदूरपश्चिमकै राजनीतिक केन्द्र समेत हो । प्रदेश राजधानी, धेरै वटा निर्वाचनक्षेत्र (पाँच) भएकाले कैलाली सबै राजनीतिक दलका लागि विशेष महत्वको जिल्ला हो । काँग्रेसको हिसाबले २०७० सालमा संविधानसभा निर्वाचनमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, २०७४ को आमनिर्वाचनमा प्रधानमन्त्री पत्नि एवम् नेतृ डा. आरजु राणाले चुनाव लडेको यो जिल्ला झनै महत्वको बनेको छ । अहिले जिल्लादेखि केन्द्रीय नेता र स्वयम् प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा, उहाँकी पत्नी राणाको कैलालीमा विशेष चासो छ ।

यही जिल्लामा जिल्ला सचिवको उम्मेदवारको रुपमा प्रचारमा जुटेका युवा नेता नृपबहादुर सुनारसँग जनआस्थाले अधिवेशनका विविध पक्षमा कुराकानी गरेको ।

प्रस्तुत छ सुनारसँग गरिएको संवादको सम्पादित अंश :

केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा हुन लागेको नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनलाई कुन रुपमा लिनुभएको छ ?

यो महत्वपूर्ण संवादका लागि धन्यवाद जनआस्थालाई । काँग्रेसको १४ औं महाधिवेशनमार्फत ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले आफ्नो शसक्त केन्द्रीय कार्यसमिति निर्वाचित गरिसकेका छन् । केन्द्रमा महाधिवेशन प्रतिनिधिहरुले गरेको फैसलाले धेरै प्रश्न, अनुमान र विश्लेषणको एकमुष्ट जवाफ दिएको छ । म त यो फैसलालाई आम काँग्रेसीले विवेकको परीक्षा धेरै ठूलो अंकसहित उत्तीर्ण गरेको भन्छु । यो महाधिवेशनले निर्वाचनको माध्यमबाट काँग्रेसको सांगठनिक जीवन मात्र होइन, नेपालको संविधानलाई नै थप मजबूत बनाएको छ ।

यो महाधिवेशनले काँग्रेस मुलुककै सबैभन्दा जेठो र लोकतान्त्रिक पार्टी हुनुको अर्थसिद्ध गरेको छ । समावेशीताको प्रश्नको जवाफ व्यवहारिक रुपमै दिएको छ । अग्रज र अनुभवी पार्टी सभापति शेरबहादुर देउवाको अनुमोदनदेखि रुपान्तरण र पुस्तान्तरणको सन्देशसहित विचार राजनीतिको विजय भएको छ । महाधिवेशनले काँग्रेसलाई देशकै भरोसायोग्य पार्टीका रुपमा उभ्याउँदै आमजनमानसमा आशासहितको राजनीतिक जागरण पैदा गरेको छ । गगन थापाको समुन्नत नेपालः सम्मानित नेपालीको संकल्पदेखि पहिले राजनीतिक परिवर्तन अब राजनीतिमा परिवर्तन भन्ने नारासहित चुनावी मैदानमा होमिएका विश्वप्रकाश शर्माको एकप्रकारको विद्रोहलाई अनुमोदन गरेको छ । यो सबै परिघटनासँग काँग्रेसको जीवन र भविश्य मात्रै होइन, नवनेपाल निर्माणका तमाम सपना पनि जोडिएका छन् ।

यही सन्दर्भ, सन्देश र उत्साहका बीच नेपाली काँग्रेस कैलालीको अधिवेशन हुँदैछ । नेपाली कैलालीको जिल्ला अधिवेशन धनगढीमा भव्यरुपमा सम्पन्न गर्न हामी सबै जोडतोडका साथ लागिरहेका छौं । अधिवेशनसँग जोडिएको नेतृत्व चयन र नीतिगत पक्षका विषयमा पनि हामी सचेत छौं । यसर्थमा काँग्रेसले राष्ट्रियरुपमा लिने नीति तथा कार्यक्रमको स्थानीयकरण गरी जिल्लाका अपार सम्भावना, यहाँको सामुदायिक एवं सांस्कृतिक संवेदनशीलतालाई सुझबुझका साथ व्यवस्थापन गर्न कैलालीका आमनेता कार्यकर्तालाई जोड्न र आमनिर्वाचनका मतदाता (जनता) समक्ष काँग्रेसलाई देखिने, सुनिने र बुझिने गरी प्रस्तुत गर्न त्यहीअनुसारको नेतृत्व आजको आवश्यकता हो । २ हजार ५ सय ७२ भन्दा बढी जिल्ला अधिवेशनका प्रतिनिधि (क्षेत्रीय प्रतिनिधि) र १८ हजार हजारभन्दा बढी क्रियाशील सदस्यले यसलाई राम्ररी बुझ्नुभएको छ ।

तपाईले आफूलाई जिल्ला सचिवको रुपमा प्रचार गरिरहनुभएको छ । यो प्रचार मात्रै कि अन्तिम समयसम्म रहन्छ ?

म जिल्ला कार्यसमितिमा आएको केही समयपछि मेरा अग्रज आदरणीय नेताहरु, १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभिन्न सञ्चारमाध्यममार्फत आमनेता तथा कार्यकर्ता एवम् शुभेच्छु र केही समययता क्षेत्रीय प्रतिनिधिलाई भेटेरै मेरो उम्मेदवारीका बारेमा जानकारी गराइसकेको छु ।

अहिले मभन्दा पनि पार्टीभित्र अबको मेरो स्थानका विषयमा जिल्ला अधिवेशनका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरु बढी सचेत हुनुहुन्छ । मेरो विगतको भूमिकाको हिसावले पनि म जिल्ला सचिवको स्वभाविक उम्मेदवार हो । अब केही दिनमा मेरो उम्मेदवारी र मेरो सभापतिसहितको टिमबारे सार्वजनिक घोषणा गर्नेछौं । यो प्रचार मात्रै सीमित रहँदैन र उम्मेदवार बन्ने र जित्ने गरी मेरो तयारी छ ।

काँग्रेसमा देशभर नै विभिन्न गुट उपगुट छन् । प्रधानमन्त्री पत्नि राणाको चुनावी क्षेत्र कैलालीमा पनि त्यो हुने नै भयो । तपाईं कुन प्यानलबाट उम्मेदवार हुने ?

लोकतान्त्रिक र जीवन्त काँग्रेसमा काँग्रेस स्थायी कुरा हो, प्यानल अस्थायी । यति भनिसकेपछि प्यानल त केही दिनमै थाहा भइहाल्छ नि !

यही गुट, उपगुट, प्यानलको हल्लाबीच भएको नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनले धेरै प्रश्नहरुको एकमुष्ट जवाफ दिइसकेको छ । महाधिवेशन प्रतिनिधिहरुले आम नेपाली काँग्रेसको भावना मुखरित गरिसक्नुभएको छ । नवीन, सशक्त र रुपान्तरित काँग्रेस बनाउने कुरा नै यति बेला हाम्रो प्राथमिक विषय हो । त्यस्तो काँग्रेस बनाउने शर्तमा गुट गौण हो, व्यक्तिको क्षमता, लगनशीलता र इमान्दारिता एवम् आवश्यकता मूल कुरा हो ।

अर्को कुरा, प्यानल सभापतिले बनाउने हो सचिवले होइन । अहिले सभापतिको दौडमा देखिनुभएका सबै नेताहरुले सचिवमा युवा साथीहरुलाई अगाडि बढाउने सोच बनाउनुभएको छ । यसका साथै कैलाली जिल्लाबाट अहिले ७ जना केन्द्रीय सदस्य र निवर्तमान जिल्ला सभापति प्रदेश महामन्त्री हुनुहुन्छ । स्वयम् पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा चुनाव लडेको जिल्ला, नेतृ आरजु देउवा राणाको चुनावी क्षेत्र रहेको जिल्ला पनि भएकाले उहाँहरु सबैको चासो जोडिएको छ जिल्ला अधिवेशनमा ।

हामी सबैको चिन्ता र चासो राम्रो जिल्ला कार्यसमिति चयन र त्यसको परिचालन गरी आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेमा छ । उहाँहरु सबैले बनाउन चाहेको कैलाली काँग्रेस, त्यसको सशक्त माध्यमका रुपमा रहने जिल्ला कार्यसमितिभित्र म पनि हुन्छु ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता र शीर्ष नेतृत्वको साथ पाउने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?

केन्द्र, प्रदेशमा रहनुभएका सबै मेरा आदरणीय नेता हुनुहुन्छ । कैलालीमा काँग्रेसलाई सवल, सक्षम र गतिशील बनाउने कुरामा म उहाँहरुसँगै छु । नेपाल विद्यार्थी संघ र तरुण दलमा जिल्लादेखि केन्द्रीय समितिमा हुँदा र पार्टीका अरु मोर्चामा मेरो क्रियाशीलता, जिल्ला कार्यसमितिमा हुँदा मेरो सक्रियता सबैका अगाडि प्रष्ट छ । मेरो स्वभाव, काम गर्ने शैली र क्षमताका विषयमा उहाँहरु सबै जानकार हुनुहुन्छ । उहाँहरुले मप्रति निकै आशा र विश्वास गरेको कुरा मैले राम्ररी बुझेको छु ।

यसका अतिरिक्त म निरन्तर जिल्लाका नेता कार्यकर्ताको बीचमा छु । उहाँहरुको बीचमै रहेर हरेक पार्टी बनाउने काममा खटिरहेको छु । यहाँका हरेक मतदाताले मलाई चिनेका छन्, उहाँहरुको अगाध माया छ ।

तपाईं नै जिल्ला सचिवमा किन र जिन्ने आधारहरु के ?

मैले मेरो युवा अवस्थाको सम्पूर्ण ऊर्जावान समय पार्टी राजनीतिमा खर्चेको छु । ५ वर्ष कैलाली काँग्रेसमा प्रशिक्षण विभाग प्रमुख बनेर १ सय २६ वटै वडामा प्रशिक्षणका गतिविधि गर्नेदेखि जिल्लामा ठूला ठूला प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यमा मेरो भूमिका रह्यो । यो कुरा सबैले देख्नुभएको छ ।

गत स्थानीय निर्वाचनमा पार्टीले मलाई १३ वटा पालिकाको घोषणापत्र तयारी समितिको संयोजक रहेर काम गर्ने अवसर दियो । कोभिड महामारीको विषम परिस्थितिमा पनि हामीले सुझबुझका साथ पार्टीका गतिविधि जारी राख्यौं । त्यसबेला पनि वर्तमान जिल्ला सभापति र जिल्ला कार्यसमितिको साथ र समन्वयमा जुममार्फत प्रशिक्षणलाई निरन्तरता दियौं ।

कैलाली काँग्रेसलाई डिजिटल काँग्रेस बनाउने अभियानदेखि स्थानीय तहको विकास निर्माणको अनुगमन समितिमा रहेर स्थानीय तहमा भएका र हुने गरेका भ्रष्टाचारका क्रियाकलाप न्यूनीकरण एवम् यसविरुद्ध सचेत गर्न मैले आफ्नो जिम्मेवारी कुशलातापूर्वक वहन गरेँ । यति मात्रै होइन नेपाली काँग्रेस कैलालीको प्रचारविभाग संयोजक र प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजकका रुपमा मैले प्रदेश र देशभर काँग्रेस कैलालीको उपस्थितिलाई थप परिचित गराउने अवसरको सदुपयोग गरेँ ।

यी विविध जिम्मेवारी वहन गर्ने क्रममा जिल्लाभर पार्टीका शुभेच्छुक, बुद्धिजीवी, पार्टीका नेता कार्यकर्ताले मेरो भूमिका, सक्रियता, लगनशीलता र क्षमता नजिकबाट नियाल्नु भएको छ । यी भूमिका र जिम्मेवारीले मलाई थप परिपक्व बनाउनुका साथै मेरो क्षमता अभिवृद्धि, नेता कार्यकर्तासँगको सामिप्यता बढाउन र जनतासँग सम्बन्ध विस्तार गर्न सहयोग पुगेको छ । यो अनुभव, सिकाई र क्षमतालाई सचिब पदमा रहेर पार्टी र जनताको हितमा प्रयोग गर्न चाहन्छु । यो विगतका कुरा भए, जो मेरो ठूलो शक्ति र पूँजी हो ।

योसँगै मेरा भावी योजनाहरु छन् । परम्परागत शैली र व्यवहारले बदलिँदो परिवेशमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छैन । व्यक्ति चयनले मात्रै पुग्दैन–उसको चरित्र, पार्टीप्रतिको निष्ठा, संगठन र काँग्रेससँग फाटेका मन जोड्ने, जनसवालमा सक्रिय भई निर्वाचनमा मत पनि जोड्ने दृढ संकल्पसहितको नेतृत्व चयन गरिनुपर्दछ । जसका लागि निम्न पक्षहरुमा मेरो विशेष जोड रहने छ ।

क्रियाशील सदस्य र शुभेच्छुक संघसंस्थाको रेकर्ड अध्यावधि गर्ने :

विधानमा क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था हुँदाहुँदै निर्वाचनको बेला मात्रै त्यो काम हुने गरेको छ । क्रियाशीलताको रेकर्ड अध्यावधि गर्ने, पार्टीका शुभेच्छुक संघसंस्थाका नेतृत्व, त्यसमा आवद्ध भएकाहरुको विवरण अद्यावधिक, प्रशिक्षणदेखि पार्टी निर्माणमा सहयोग लिने कार्यमा म लाग्छु । यसमा सभापतिसहित टिमको सहयोगमा मेरो विशेष जोड् रहने छ ।

कार्यक्षमताको मूल्याङ्कन, अवसरको न्यायसंगत वितरण :

नेपालका हरेक पार्टीमा केहीलाई ‘लाभै लाभ र केहीलाई विलापै विलाप’ को अवस्था छ । पार्टीमा गुटको राजनीतिले राम्रा मान्छेहरु पनि छायाँमा परेका छन् । विशाल सदस्यहरुको समूहमा रहेका नेताकार्यकर्ताको क्षमता पहिचान गरी भूमिकासहितको जिम्मेवारी दिनु पर्दछ । काँग्रेस बनाउने हुटहुटी, योग्यता र क्षमता भएका नेताहरुलाई त्यहीअनुसारको भूमिका दिने कुरामा मेरो सहजीकरण हुनेछ ।

क्यालेन्डरसहित नेतृत्व :

नेतृत्वसँग चार वर्षको कार्यकालमा गरिने कार्यहरुको योजना एवम् त्यसका लागि वार्षिक क्यालेण्डर हुनुपर्दछ । संगठनसँग जोडिएका तहगत रुपमा संलग्न पार्टीका नेता कार्यकर्ता, जोडिन चाहने र सद्भाव राख्नेहरुलाई पनि कुनै न कुनै रुपमा पार्टीसँग जोड्ने र संगठन सुदृढीकरण मार्गदर्शनसहितको परिपाटी निर्माण गर्न लाग्ने मेरो योजना छ ।

मध्यस्थताकर्ताको भूमिका :

सचिवले सभापतिलाई सहयोग गर्ने र सफल बनाउने हो । पार्टीमा विभिन्न गुटका कारण समस्या हुने गर्दछ । अधिवेशनमा हुने प्रतिस्पर्धाको नकारात्मक प्रभाव लामो समयसम्म रहँदा पार्टीले ठूलो क्षति व्यहोर्छ । विगतमा भएका स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा त्यो देखिएकै हो । यसअघि काँग्रेसले कैलाली क्षेत्र नम्बर ५ (जहाँ नेतृ आरजु देउवा राणा उम्मेदवार हुनुहुन्थ्यो) गुमाउनुको धेरै कारणमध्ये एउटा यो पनि हो । यस्ता मतभेदको सही व्यवस्थापन, निराकरण र संगठनमा गतिशीलता प्रदान गर्ने अठोटसहितको नेतृत्व आजको आवश्यकता हो । सबैलाई जोड्ने कुरामा मेरो भरपूर प्रयास रहने छ ।

अर्जुनदृष्टिः आमनिर्वाचन

आगामी बैशाखमा स्थानीय तहको निर्वाचन र मंसिरसम्म बाँकी तहको निर्वाचन गर्नै पर्ने संवैधानिक सीमा छ । यसर्थ काँग्रेसको पूँजीलाई जोगाउँदै नयाँ मतदातालाई जोड्न आशाको सञ्चार गर्ने कार्यमा मेरो समन्वयकारी भूमिका र संकल्प रहने छ । काँग्रेसका हरेक नेता कार्यकर्ता र कैलालीका जनतासँगै काँग्रेसलाई उभ्याउन म लाग्ने छु ।

उल्लेखित अनुभव, योगदान, संकल्प र योजनाको जगमा म पार्टीको चुनावी मैदानमा होमिन लागेको हुँ ।

कैलाली काँग्रेसको संस्थापन पक्षमै धेरै जना उम्मेदवार देखिनु भएको छ । संस्थापन समूह, इतर समूहको नारा लाग्ला ?

भरखरै सम्पन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनले केन्द्रीय नेतृत्व चयन गर्दा अब गुटको होइन काम गर्नसक्नेलाई भूमिका दिनुपर्छ भन्ने सन्देश दिएको छ । महामन्त्रीको परिणाम त्यसैको अनुमोदन हो । जिल्लाको हकमा सचिव नै महामन्त्री हो नि !

पार्टीभित्र विचार समूह रहन्छन् तर ती अस्थायी कुरा हुन् । म जिल्ला कार्यसमितिमा आएको ‘डे वान’ देखि जिल्ला नेतृत्वको पक्षमा छु । त्यो नेतृत्व नै संस्थापन पक्ष हो । त्यही संस्थापन पक्षसँगको सहकार्यले नै मैले जिल्लाका हरेक गतिविधिमा अथपूर्ण भूमिका पाएको हुँ । त्यति मात्रै होइन यो पाँच वर्षमा जिल्ला कार्यसमितिमा रहँदा मलगायत हामी कोही पनि कुनै पक्ष भएनौं । केवल काँग्रेस भयौं । यो कुरा कैलालीका सबै क्षेत्रीय प्रतिनिधिज्यूहरुलाई थाहा छ ।

गुट र समूह होइन काँग्रेस बनाउने अठोटसहित म काँग्रेस भएको हो । मेरो स्वभाव नै सबैसँग मिल्ने र सबैलाई मिलाउन सक्ने हो । आम काँग्रेसीले चाहेको पनि त यही हो । म सँधै व्यक्तिले होइन विचारले, नेताले होइन नीतिले काँग्रेसको रुपान्तरण सम्भव छ भन्दै आएको छु । यो मान्यतामा म दृढ छु ।

एकताबद्ध, सुदृढ, सबल र गतिशील काँग्रेस आजको आवश्यकता हो । नेता कार्यकर्ताले विश्वास गर्ने, आमजनताले पनि भरोसा गर्ने पार्टी निर्माणमा सिंगो कैलाली काँग्रेसलाई एक ठाउँमा उभ्याउने मेरो अभियान हुन्छ ।

टिप्पणीहरू