पुर्कोट दहका इन्स्पेक्टर विवादमा तानिए

पुर्कोट दहका इन्स्पेक्टर विवादमा तानिए

गुल्मीको पुर्कोट दह इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गोपालजंग रायमाझी अवैध असुलीको विवादमा तानिएका छन् । व्यक्तिगत स्वार्थका लागि गरिएको अवैध असुलीबाट स्थानीय निर्माण व्यवसायी र ढुवानीकर्ताहरु सताइएपछि इन्स्पेक्टरको भित्री कुरो बाहिर आएको हो ।

गुल्मीका छल्दी,पनाहालगायत ठाउँबाट पुर्कोट दह आसपासमा भण्डारण गरिएको गिटी,बालुवामा समेत आँखा लगाउने र पालिका तथा वडा कार्यालयले तोकेको रोयल्टी तिरेर बालुवा गिट्टी बोकेका ट्याक्टरलाई दुःख दिएको व्यवसायीहरुको आरोप छ । ‘सामान्य ढुवानी गरेर जीविकोपार्जन गर्दै आएका व्यवसायी समेतले रायमाझीको हैरानी खेप्नु परेको,’ उनीहरु बताउँछन् ।

मदाने गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने नदीजन्य वस्तु उत्खनन् गर्न नियमित वातावरण पर्यावरणीय मूल्यांकन (एआईए) गरी अनुमति दिनु पर्नेमा पालिकाले एक ट्रिपमा पाँच सय रुपैयाँ रोयल्टीका दरले उठाएर उत्खनन् गर्न दिँदा पानाहा खोलाको क्षयीकरण तीब्र भएको हो । इन्स्पेक्टर रायमाझी पालिकाभित्र हुने घटना र उजुरीमासमेत राजनीतिक पनपच्छे गर्दै सक्रिय भएको एमाले बाहेकका राजनीतिक दलले आरोप लगाएका छन् ।

उक्त प्रहरी चौकी हाल सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई पिर्के सलामी दिएपछि चर्चामा आएको छ । द्वन्द्वकालमा विस्थापित उक्त चौकी शान्ति प्रक्रियापछि अन्यत्र स्थानान्तरण गर्न खोजिएको थियो । त्यसबेला एमाले नेता वामदेव गौतम गृहमन्त्री भएकाले झाक्रीकै पहलमा साविकको पुर्कोट दहमा पुनःस्थापित भएको हो ।

टिप्पणीहरू