‘नारायणहिटीमा रमाइलो गर्ने हो भने राजीनामा दिनु’

‘नारायणहिटीमा रमाइलो गर्ने हो भने राजीनामा दिनु’

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट खोल्न दिएको अनुमतिलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको ठाडो निर्देशनमा रोक लगाइएको छ । हिजो दिउँसो मन्त्री आलेको निर्देशनपछि संग्रहालय विकास समितिका कार्यकारी निर्देशक तथस पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहालले सम्बन्धित कम्पनीलाई तत्काल कार्य रोक्न हिजै साँझ लिखित निर्देशन दिएका छन् ।

नारायणहिटीभित्र व्यावसायिक क्रियाकलाप गर्नु ठीक हो भन्ने लाइनबाट प्रस्तुत हुँदै आएका दाहालको पछिल्लो अभिव्यक्तिबाट रुष्ट भएपछि मन्त्री आलेले उनलाई मन्त्रालयमा बोलाएर त्यस्तो कार्य रोक्न निर्देशन दिएको बताइन्छ । अघिल्लो सरकारले हचुवाको भरमा गरेको उक्त निर्णयले ऐतिहासिक स्थलको मानमर्दन गरेको भन्दै संस्कृतिविद् तथा विज्ञहरुले चर्को बिरोध गर्दै आएका थिए ।

सोही क्रममा मन्त्रीले दाहाललाई राजतन्त्र र गणतन्त्रको फरक छुट्याउन भनेको स्रोतको दाबी छ । जनताको बलिदानबाट प्राप्त गणतन्त्रपश्चात् राजसंस्थाको नाममा रहेको सम्पत्ति सरकारले कब्जा गरेको सन्दर्भलाई कसैले पनि नजरअन्दाज नगर्न मन्त्री आलेले कार्यकारी निर्देशक दाहाललाई सम्झाउनु भएको थियो ।

दाहालसँगको कुराकानीमा मन्त्रीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘देशको नाममा ल्याइएको सम्पत्ति गणतन्त्रमा बेचेर खानको लागि हो ?’ समितिका कार्यकारी निर्देशकलाई कडा शब्दमा सम्झाउँदै मन्त्रीले तत्काल नारायणहिटीभित्रको उक्त कार्य रोक्न र रोक्न सक्षम नभए राजीनामा दिन भनेको स्रोतको दाबी छ । ‘गणतन्त्रमा नारायणहिटी रमाइलो गर्ने थलो होइन,’ मन्त्रीले दाहाललाई सम्झाउँदै भन्नुभयो ।

टिप्पणीहरू