इन्द्र बानियाँको टोलीले चुनाव हराएको भन्दै काँग्रेस नेताले पार्टी छाडे

इन्द्र बानियाँको टोलीले चुनाव हराएको भन्दै काँग्रेस नेताले पार्टी छाडे

नेपाली काँग्रेस बाग्मती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले चुनाव हराएको भन्दै मकवानपुर काँग्रेसका एक स्थानीय नेताले पार्टी छाडेका छन् । बानियाँको प्रत्यक्ष योजना र निर्देशनमा आफूलाई मध्यवर्ती उपभोक्ता समितिको निर्वाचनमा पराजित गराइएको भन्दै उनले काँग्रेस परित्यागको निर्णय गरेका हुन् ।

बानियाँसहित क्षेत्रीय सभापति रन्जन कालाखेती, गाउँपालिका सभापति प्रकाश बर्ताैलालगायतले मतदाताहरुलाई प्रत्यक्ष निर्देशन दिएर आफूलाई समितिमा आउन बाटो छेकिएको तितुङको आरोप छ । ‘आजैका मितिबाट मैले नेपाली काँग्रेसको क्रियाशील सदस्यता र सबै जिम्मेवारी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गर्दछु’, उनले आज विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् ।

बानियाँको टोलीले आफ्नो नीजि स्वार्थसिद्धका लागि समितिको निर्वाचनमा मतदातालाई तल्लोस्तरमा झरेर प्रभावित पारेको उनको दाबी छ । आफू २०३८ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध रही लोकतन्त्र र बहुदलीय व्यवस्थाका पक्षमा सदैव लागि परेको भन्दै तितुङले अभिभावक ठानिएका नेताहरुबाटै घृणित व्यवहार सहनु परेकाले पार्टी छोड्ने निर्णय पुगेको बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव समेत रहेका तितुङ काँग्रेसनिकट तामाङ संघका जिल्ला सहसचिव पनि हुन् । डेढ दशकदेखि संरक्षण अभियानमा निरन्तर लागेका उनी हाल पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल) को अध्यक्ष छन् ।

तर, काउन्सिलको अध्यक्ष हुनका लागि उपभोक्ता समितिको अध्यक्ष हुनुपर्ने बाध्यकारी नियमका कारण उनी चुनावी प्रतिष्पर्धामा होमिएका थिए । समितिबाटै पराजित गराएर आफूलाई काउन्सिलमा जान बानियाँले बाटो छेकेको उनको आरोप छ ।

टिप्पणीहरू