स्वास्थ्य बिमामा किन समस्या पार्यौं सरकार !

स्वास्थ्य बिमामा किन समस्या पार्यौं सरकार !

केपी ओली नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई वर्तमान गठबन्धन नेतृत्वको सरकारले असहयोग गरेको आरोप छ । सरकारले भुक्तानी नगरेकै कारण केही अस्पतालले नागरिकलाई दिएको सेवा बन्द गरेका छन् भने केहीले साँघुरो बनाएका छन् । जिल्लाकै सबैभन्दा धेरै धुलिखेल नगरपालिकाभित्रका ७०.५४ प्रतिशत नागरिकको स्वास्थ्य बिमा गरिएको छ ।

नगरपालिकाले स्वस्थ शहर कार्यक्रम घोषणा गरेको छ । सरकारको असहयोगको बाबजुद नागरिकमा प्रभावकारी बन्दै गएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका १ लाख ५ हजार ८२ नागरिकले बिमा गरेका छन् । बिमाबापत नागरिकको ११ करोड ३५ लाख ४३ हजार ४ सय रूपैयाँ संकलन भएको छ ।

बिमाका लागि ११ हजार ४१ परिवारले नयाँ दर्ता गरेका छन् भने नवीकरण ९ हजार ५ सय ३५ परिवारको भएको छ । बिमा गरिएकामध्ये ज्येष्ठ नागरिक विमित सदस्यको संख्या ६ हजार २ सय ८८ जना, महिला स्वयंसेविका विमित सदस्यको संख्या ४ सय ३५ परिवार, एचआईभी एड्स लागेका ५३ परिवार, कुष्ठरोग लागेका २४ परिवार, पूर्ण अपांग भएका ४ सय ९ परिवार र एमडिआर टिबी भएका २ परिवारका गरी १ लाख ५ हजार ८२ नागरिकको बिमा भएको हो । अझै केही पालिकामा बिमा अभिकर्ताहरू नगएका कारण समस्या छ ।

बनेपा नगरपालिकामा २३ हजार ३ सय ११, धुलिखेलमा २२ हजार ६ सय ८९, पनौतीमा १७ हजार १ सय १४ जना, पाँचखालमा १२ हजार ९ सय ६ जना, मण्डनदेउपुरमा १० हजार २ सय ४९, नमोबुद्धमा ५ हजार ९ सय ८६ जनाले बिमा गराएका छन् भने भुम्लु गाउँपालिकामा ३ हजार ६ सय १० जना, रोशीमा २ हजार ४ सय ५७ जना, बेथाञ्चोकमा २ हजार ८७ जना, चौरीमा १ हजार ६ सय २८ जना, तेमालमा १ हजार ३ सय ५२ जना, महाभारतमा १ हजार ७० जना र खानिखोलामा ६ सय २४ जनाले बिमा गराएका छन् ।

जिल्लामा ३ लाख ५२ हजार ६ सय ७ जनसंख्यामा १ लाख ५ हजार ८२ अथार्त २९.८० प्रतिशत नागरिकको स्वास्थ्य बिमा भएको छ । धुलिखेलका ७० प्रतिशत नागरिकको स्वास्थ्य बिमा भएको छ भने खानिखोलामा ४ प्रतिशतको मात्रै भएको छ ।

टिप्पणीहरू