क्यान्सरमा यस्तो चल्दै छ कामकुरा

क्यान्सरमा यस्तो चल्दै छ कामकुरा

बिरामीको सेवा गर्नुपर्ने ठाउँमा ‘मेवा’ टिप्न थालेपछि के होला ? कोरोनाको जोखिम भत्तामा समेत मनपरी गर्नेहरूले अरू कमिसनको खेलो कति चलाएका होलान् ? चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक र उपनिर्देशकले कोभिड वार्डमा काम गर्ने कर्मचारीहरूलाई समेत कम दिएर, कतिपय दिनुपर्नेलाई पनि नदिएर जोखिम भत्ता आफैंले बेसरी खाएको र आफ्ना आसेपासेलाई धेरै बाँडेकोबारे असन्तुष्टि बाहिरिएको अवस्थामा सञ्चालक समितिको सदस्य–सचिव रहेका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अध्यक्षलाई समेत गुमराहमा राखेर आफूखुशी काम गर्दै आएको आरोप छ ।

बोर्ड मिटिङका एजेण्डाहरू अध्यक्षलाई पहिले जानकारी नै नगराई एकैचोटि मिटिङमा लगेर निर्णय गर्न लगाउने गरेको स्रोतले जनायो । अध्यक्ष डा. निर्मल लामिछानेलाई एजेण्डाबारे सोध्दा उनले आफूलाई थाहा नभएको बताउने गरेको अस्पतालका कर्मचारीहरू बताउँछन् । अध्यक्ष लामिछानेसँग नै जिज्ञासा राख्दा अस्पतालका सबै गतिविधि आफूलाई जानकारी हुन आवश्यक पनि नभएको बताए ।

बोर्ड मिटिङका एजेन्डाहरूमा चाहिँ कतिपय अर्जेन्ट गर्नुपर्ने निर्णय आफूलाई थाहा नहुने प्रतिक्रिया दिए । केही बोर्ड मेम्बरलाई प्रभावमा पारेर आफू अनुकूलका कार्य सञ्चालन गर्दै आएको बताइएका डा. देजले आफू निकट बोर्ड सदस्य रामप्रसाद न्यौपानेलाई त गाडी किन्न पैसा नै दिएको गाइँगुइँ छ । डा. देजको कामकारबाही देखेर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटासमेत असन्तुष्ट छन् ।

कमिसनको खेलो भइरहने यस अस्पतालमा पछिल्लो समय खुद्रा खरिद बढी भइरहेको बताइएको छ । ‘मेसिनहरू सेटिङमा किनिन्छ’, स्रोत भन्छ, ‘कैयौं मेसिन बिग्रेर थन्केका छन्, ती बनाउन छोडेर डा. देज नयाँ–नयाँ खरिद गर्ने ध्याउन्नमा लागेका छन् ।’ प्राप्त जानकारीअनुसार रेडियोलोजीमा मेमोग्राम मेसिन बिग्रेको ६ महिना भइसक्यो, त्यो बनाइएको छैन ।

गामा क्यामेरा बिग्रेको पनि ८/१० महिना भइसक्यो तर बनाइएको छैन । पोर्टेबल एक्सरे मेसिन बिग्रेको एक वर्ष जति भयो, त्यो पनि उस्तै छ तर सिटी स्क्यान मेसिन दुई करोड बढी महँगो हालेर खरिद गरिएको छ । सेकाइको मेसिन कम मूल्यको टेण्डर स्वीकृत भएर खरिद प्रक्रिया अघि बढिसकेको अवस्थामा पछि त्यो रद्द गरेर महँगो मूल्यको अर्काे किन्न लागिएको छ । यसमा पनि कमिसनकै चक्कर भएको स्रोतको दाबी छ ।

‘ओपिडीमा प्रायः डाक्टर बस्दै बस्दैनन् । प्याथोलोजीमा बायोस्पी रिपोर्ट लिन बिरामीलाई तीन–चार महिना लाग्छ । विस्तारित स्वास्थ्य सेवामा सर्जरी सेवा लागू भएकै छैन । ठूला सर्जरीहरू डा. देज कार्यरत चितवन अस्पताल लगायतका प्राइभेटमा लगेर गरिन्छ’, स्रोत भन्छ, ‘यो अस्पतालमा त उनीहरू ट्राफिक भएर बसेका छन्, बिरामीलाई दायाँबायाँ पठाउने ।’

यसरी यहाँ उपचारमा ध्यान नदिइएको तथा बिरामीलाई छिटोछरितो एवम् सहज रूपमा स्वास्थ्यसेवा उपलब्ध गराउन छोडेर सञ्चालकहरू आ–आफ्नै स्वार्थसिद्ध गर्न÷फाइदा लुट्न तल्लीन रहेको व्यापक जनगुनासो छ । यसै सेरोफेरोमा हालै बोर्ड मेम्बरहरूलाई ‘किन नहटाउने ?’ भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको बुझिन्छ ।

– अजय गोर्खाली

टिप्पणीहरू