एमालेमा सुदूरपश्चिम झन् उपेक्षित

एमालेमा सुदूरपश्चिम झन् उपेक्षित

नेकपा (एमाले) को बागडोर केपी ओलीले सम्हालेपछि सुदूरपश्चिम झन् उपेक्षित भएको छ । यसअघि सुदूरपश्चिमबाट शीर्ष वरीयतामा रहँदै आएका भीम रावल दशौं महाधिवेशनबाट पाखा लगाइएका छन् ।

एमाले उपाध्यक्षबाट भीम रावलको बिदाइपछि भने सुदूरपश्चिम प्रदेशको नेतृत्व लेखराज भट्टले गर्न पाएका छन् । दशौं महाधिवेशनपछि निर्धारित नेताहरूको वरीयताक्रममा सुदूरपश्चिमका कमाण्डर भट्टको स्थान चौधौं नम्बरमा छ । १९ सदस्यीय पदाधिकारीमा लेखराज सुदूरपश्चिमबाट एक्ला पात्र हुन् ।

कम्युनिष्ट पार्टीमा भूगोल, जाति, भाषा र धर्मको प्रतिनिधित्वभन्दा पनि नेतृत्वको क्षमताले स्थान पाउने तर्क पनि आउन सक्छ तर नेपालको राजनीतिक परिवेशमा वर्गीय चरित्र र क्षमताको आधारमा नेतृत्व चयन आदर्श मात्रै छ ।

ओली नेतृत्वको ३ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा सुदूरपश्चिमका २९ नेता अटाएका छन् । पार्टीको सर्वोच्च निकाय ४५ सदस्यीय स्थायी कमिटीमा सचिव लेखराज भट्ट र कर्णबहादुर थापा अटाएका छन् । वरीयताक्रममा १४ नम्बरमा भट्ट छन् भने थापाको वरीयताक्रम ४० मा छ ।

१९ पदाधिकारीसहितको ४५ सदस्यीय सिंगो स्थायी कमिटी अटाएको ९९ सदस्यीय पोलिटब्युरोमा लेखराज र कर्ण थापाबाहेक सुदूरपश्चिमका ६ जना सदस्य छन् । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा प्रदेश भूगोलको समानुपातिक प्रतिनिधित्व देखिँदैन ।

९९ सदस्यीय पोलिटब्युरोमा कञ्चनपुरका राजेन्द्र सिंह रावल, कैलालीका नादरमुनि राना, दार्चुलाका गणेशसिंह ठगुन्ना, डोटीका गौरी ओली, कञ्चनपुरकी निरुदेवी पाल र कैलालीका लीला भण्डारी समेटिएका छन् । पोलिटब्युरोमा समेटिएका सुदूरपश्चिमका नेता वरीयताक्रममा सबैजना क्रमसंख्या ५० भन्दा पछि छन् । ५० नम्बरमा रावल, ५९ मा ठगुन्ना र ६७ नम्बरमा गौरी ओली पोलिटब्युरो सदस्य बनेका छन् । निरुदेवी पाल ६८ र लीला भण्डारी ७० नम्बर मर्यादाक्रममा छन् ।

२९ मध्ये २८ लाई सुदूरकै जिम्मेवारी

नेकपा एमालेको केन्द्रीय कमिटीमा रहेका २९ जना सदस्यमध्ये २८ जनालाई सुदूरपश्चिम प्रदेशको भूगोलकै जिम्मेवारी दिइएको छ । पुस १ गते जारी अन्तरपार्टी निर्देशनमा केन्द्रीय सदस्य झपटबहादुर रावलबाहेक सबैलाई सुदूरपश्चिममै भूगोलको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

पदाधिकारीमा रहेका सुदूरपश्चिमका एक्ला लेखराज भट्टलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । कर्णबहादुर थापालाई सहइञ्चार्ज तोकिएको छ । थापा यसअघि पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष दुवै जिम्मेवारीमा थिए ।

पोलिटब्युरो सदस्य बनेका सुदूरपश्चिमका नेतामध्ये राजेन्द्र सिंह रावललाई प्रदेश सहइञ्चार्जको जिम्मेवारी दिइएको छ । कर्णबहादुर थापा र रावलसँगै गणेश सिंह ठगुन्ना र लीला भण्डारीलाई पनि सहइञ्चार्ज बनाइएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नालाई दार्चुला जिल्ला इञ्चार्जको पनि जिम्मेवारी दिइएको छ । पोलिटब्युरोमा पर्न सफल नारदमुनि रानालाई कैलाली जिल्ला इञ्चार्ज बनाइएको छ ।

कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका झपटबहादुर रावललाई भने भूगोलको जिम्मेवारी छैन । सुदूरपश्चिमको भूगोलबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २८ जनालाई त्यही भूगोलमा जिम्मेवारी दिइँदा रावललाई भने खानेपानी तथा सरसफाई विभाग प्रमुख बनाइएको छ । धेरैजसो केन्द्रीय सदस्यलाई आफ्नो गृहजिल्लाको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारीमा राखिएको छ ।
तीन जिल्लामा ‘सिंगल कमाण्डर’

एमालेको नयाँ कार्यविभाजनअनुसार सुदूरपश्चिमका ३ जिल्लामा एक–एक जनालाई नै एकल जिम्मेवारी दिइएको छ । दार्चुला, डडेल्धुरा र डोटीमा एकजनालाई मात्रै सम्पूर्ण जिम्मेवारी दिइएको छ । यी जिल्लामा जिल्ला इञ्चार्ज मात्रै तोकिएका छन् भने सहइञ्चार्ज राखिएका छैनन् ।

कार्यविभाजनअनुसार दार्चुलामा गणेश सिंह ठगुन्ना, डडेल्धुरामा पठान सिंह बोहरा र डोटीमा गौरी ओली इञ्चार्ज छन् । जिल्ला इञ्चार्जलाई नै जिल्लाभित्र पार्टीको सम्पूर्ण कमाण्ड गर्न जिम्मेवारी दिइएको छ । ठगुन्ना र ओली प्रतिनिधिसभा सदस्य तथा बोहरा प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ ।

बैतडी र अछाममा जिल्ला इञ्चार्जसँगै एक–एक जना सहइञ्चार्ज पनि तोकिएका छन् । बैतडीमा पुरन सिंह दयाल इञ्चार्ज तथा लीलाधर भट्ट सहइञ्चार्ज छन् भने अछाममा झपटबहादुर बोहरा इञ्चार्ज र यज्ञ बोगटी सहइञ्चार्ज छन् ।
कैलालीमा नारदमुनि राना जिल्ला इञ्चार्ज तोकिँदा कमलाकुमारी ओली र गौरीशंकर चौधरी सहइञ्चार्जमा राखिएका छन् । बाजुरामा प्रतिनिधिसभा सदस्यसमेत रहेका लालबहादुर थापालाई जिल्ला इञ्चार्ज र दयालबहादुर शाही, प्रकाशबहादुर शाह तथा सहदेव बोगटीलाई सहइञ्चार्ज बनाइएको छ ।

बझाङमा भैरवबहादुर सिंह जिल्ला इञ्चार्ज तथा अफिलाल ओखेडा, आशाकुमारी विक र ऐनबहादुर महर जिल्ला सहइञ्चार्ज छन् । जिल्ला इञ्चार्ज सिंह प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ ।

कञ्चनपुरमा निरुदेवी पालको इञ्चार्जसीपमा ४ जना सहइञ्चार्ज छन् । इन्दु कडरिया, कमला बोहरा, कृपाराम राना र नरबहादुर धामीलाई सहइञ्चार्ज तोकिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद रहेकी निरुदेवी पाल जिल्ला इञ्चार्ज बनाइँदा कञ्चनपुर—२ बाट कांग्रेसका नेता एनपी सावदलाई हराउने प्रतिनिधिसभा सदस्य नरबहादुर धामीलाई सहइञ्चार्ज बनाइएको छ ।

एमालेको दशौं महाधिवेशनले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेकामा अध्यक्ष केपी ओलीको प्रस्तावमा ४४ जना थपिएका छन् । मंसिर २८ गते बसेको केन्द्रीय कमिटीको बैठकले ओलीको प्रस्तावलाई एकमतले अनुमोदन गरेको छ ।

ओलीले खुलातर्फ २० जना केन्द्रीय सदस्य मनोनीत गर्दा सुदूरपश्चिम प्रदेशका २ जनाले स्थान पाएका छन् । मनोनीतमध्ये क्रमसंख्या ३ मा बझाङका ऐन महर र क्रमसंख्या ९ मा अछामका यज्ञ बोगटी छन् । यसैगरी, एकता र एकीकरणको प्रक्रियाअन्तर्गत भन्दै थपिएका ९ जना केन्द्रीय सदस्यमध्ये सुदूरपश्चिमबाट बाजुराका सहदेव बोगटी समेटिएका छन् ।

केन्द्रीय कमिटीले मनोनीत गरेका १५ जना महिलामध्ये बझाङका आशा विक केन्द्रीय सदस्य हुने सुदूरपश्चिमकी एक्ली नेत्री हुन् । अध्यक्ष ओलीको प्रस्तावमा सुदूरपश्चिम प्रदेश कमिटीमा दामोदर भण्डारी अध्यक्ष, कमल तिमिल्सिना उपाध्यक्ष, धर्मराज पाठक सचिव तथा बलदेव रेग्मी र भागरथी बिष्ट उपसचिव बनेका छन् । प्रदेश अध्यक्ष बनेका भण्डारी बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । ओलीका विश्वासपात्र मानिन्छन् ।

कञ्चनपुरबाट रमेश लेखकलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका डा. दीपकप्रकाश भट्टलाई भने केन्द्रीय कमिटीमा स्थान दिइएको छैन । पुराना नेता महेश्वर पाठक र हिमाञ्चल भट्टराई पनि केन्द्रीय कमिटीमा अटाएनन् ।

टिप्पणीहरू