चक्रपथको बाँकी खण्ड मानवमैत्री बनाउन दबाब

चक्रपथको बाँकी खण्ड मानवमैत्री बनाउन दबाब

‘रिङ्गरोड हाम्रो सरोकार’ भन्दै आउँदो शनिबार शंखपार्क धुम्बाराहीमा नागरिक अगुवाहरुले बृहत कार्यक्रम गर्ने भएका छन् ।

काठमाडौं उपत्यकाका घना मानव बस्तीबीच भएको कलंकी–कोटेश्वर सडक निर्माणमा जस्तो गल्ती पुनः नदोहोरियोस् भन्दै नागरिक अगुवाहरूले कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

यसअघि बिस्तार गरिएको कलंकी–कोटेश्वर सडकखण्डमा धेरै गल्ती भएकाले अहिले त्यहाँ धेरै सडक दुर्घटना हुने गरेको छ । रिङरोडको डिजाइनमा ध्यान नदिँदा लाखौं प्रयोगकर्तालाई यात्रा गर्न असहज भएको छ ।

सन् २०१९ मा हस्तान्तरण गरिएको कलंकी–कोटेश्वर रिङरोड खण्डमा विगत १० महिनामा छ सय ५८ सडक दुर्घटना भएका छन् । त्यस्तै, २५ जनाले अकालमा ज्यान गुमाउनुपरेको छ । अझै पनि सर्बसाधारणको ज्यान जाने कैयौं डरलाग्दा सडक दुर्घटनाहरु भइरहेको उनीहरुको ठहर छ ।

सोही लापरबाही पुनः नदोहोरियोस् भनेर सरोकारवालालाई सजग गराउन दबाबमुलक कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले बताएका छन् । सडक सवारी साधानलाई मात्र नभई सबैको प्रयोगको निम्ति सहज खालको हुनुपर्दछ ।

पैदलयात्री, साइकलयात्री, ह्विलचेयरयात्री र अपाङ्गयात्रीहरुलाई पनि ध्यानमा राखी चौंडा पैदलमार्ग र साइकलमार्गसहित मानवकेन्द्रित सडक निर्माणको लागि नागरिक स्तरबाट दबाबमूलक कार्यक्रम गर्न लागिएको नागरिक अगुवाहरुले बताएका छन् ।

नागरिकस्तरबाट आलोचनात्मक आवाज उठानको लागि भइरहेका त्यस्ता कार्यक्रममा सबैलाई सहभागी हुन अनुरोध गरिएको छ ।

टिप्पणीहरू