आधी जनसंख्या किन डराएका होलान् ?

आधी जनसंख्या किन डराएका होलान् ?

-डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

पाण्डवहरूले १४ वर्षे बनवासको एक कालखण्ड जहाँ बिताएका थिए, त्यही ‘पाण्डवखानी’ मा जन्मिएका हुन् डा. शेरबहादुर पुन । बाउ, बाजे लाहुरे रहेका उनले थामेनन् पुर्खाको बिँडो । बरु हङकङमा साइन्स टप गरे, उतैबाट रसिया हुँदै जापानबाट पढाइ सके ।

विदेशका थुप्रै अवसर त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने मनशायसहित ०५९ सालमा जापानबाट फर्किए र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा काम प्रारम्भ गरे । त्यहाँ रिसर्च युनिट खोल्नुपर्ने माग राखे । अहिले त्यहीं क्लिनिकल रिसर्च युनिट संयोजकको भूमिकामा छन् ।

डा. पुनकै टिमले पहिलो पटक दिसाको कल्चर परीक्षणमा सफलता पायो । ०६७ सालमा नेपाली सेनाको कारण हाइटीमा हैजा फैलिएर १० हजार ७५ जनाको ज्यान गएको फ्रान्सेली वैज्ञानिकले आरोप लगाउँदा सो आरोपको खण्डन गर्दै अमेरिकी रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी) को जर्नलमा लामो लेख छपाए ।

अमेरिकी सोसाइटी फर माइक्रोबायोलोजीमा आफ्नो दाबी पुष्टि गर्ने अनुसन्धान रिपोर्ट पठाए । डा. पुनको तर्कले अन्तर्राष्ट्रिय मान्यता पायो । पुन मन्त्री, सचिव वा अरुले के भन्ला भन्ने डरले सूचना लुकाउँदैनन् । यही कारण समय–समयमा त्यहीँका चिकित्सक र हाकिमका आँखाको तारो बन्ने गर्छन्, यसअघि ओली सरकारबाट केही समय मन्त्रालयमा तानिएका थिए ।

– हरि गजुरेल

भारतमा कोरोनाको नयाँ संक्रमण देखिएसँगै कफ्र्यु लगाइएको छ । नेपाल–भारत खुला सीमा छ । ओमिक्रोन भेरिएन्टबाट हामीलाई कत्तिको जोखिममा छ ?

– भारतमा संक्रमण फैलिएको महिना दिनभित्रै नेपालमा पनि संक्रमण दर बढेको देखिन्छ, खुला सीमानाका कारण । विगतमा दुईवटा लहर भोगिसकेका छौं । विगतलाई हेरेर पनि सिक्नुपर्ने हो । कोभिडको तेस्रो लहर नफैलियोस् भनेर पूर्वतयारीमा रहनुपर्ने अवस्था छ । नागरिक आफैँ सचेत हुनु जरुरी छ । पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्दै खोप युद्धस्तरमा लगाउनुपर्छ । ओमिक्रोनका कारण मृत्यु हुने कम छन् । यद्यपि, अहिले पनि हामीकहाँ कोभिडको खोप १८ वर्षमाथिका ५० प्रतिशत नागरिकले मात्र लगाएका छन् । त्योभन्दा माथिका नागरिकले किन खोप लगाउन चासो देखाइरहेका छैनन् ? खोप नलगाएका व्यक्ति संक्रमित भएको खण्डमा कोरोना संक्रमण फैलन्छ नै !

केहीअघि एमाले, राप्रपा,काँग्रेस हुँदै अहिले माओवादीको महाधिवेशन चलिरहेको छ । सभा, सम्मेलन, जुलुस पनि दैनिकजसो भैरहेकै देखिन्छ । विश्वका धेरै मुलुकमा ‘ओमिक्रोन भेरियन्ट’ को प्रवेश नै नहोस् वा भित्रिएको भए थप नफैलियोस् भनेर सतर्कता अपनाएको पाइन्छ । तर, हामीकहाँ सभा, सम्मेलन चलिरहेछ, बिना सावधानी । एउटा भाइरोलोजिष्टको नाताले यसलाई कसरी लिनुहुन्छ ?

– दुई वा दुईभन्दा बढी मानिसको जमघट हुनु कोरोना भाइरस फैलनका निम्ति राम्रो वातावरण हो । महाधिवेशन, सभा, सम्मेलन, जुलुस मानिसको बाक्लो जमघट हुने थलो हुन् । अहिले पनि दैनिक सयभन्दा बढी संक्रमित देखिइरहेका छन्, औसतमा दुईदेखि चार जनासम्मले कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् । त्यही कारण अहिले पनि हामी जोखिममा छौं । कोरोनाको खोप नलगाएका वा लगाउन नपाएका धेरै छन् । त्यही कारण यो हात उठाएर बस्ने समय होइन । नेताहरू भनेको समाज र देशको रोल मोडल हुनुहुन्छ ।सकेसम्म कमभन्दा कम मान्छे भेला गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने उहाँहरूको कुरा अन्य सर्वसाधरण र नागरिकले सिक्ने र मान्ने थिए ।

दलहरूको महाधिवेशनपछि अहिले कोभिड संक्रमितको संख्या बढेको हो ? कस्तो छ तथ्यांक ?

– कोभिड संक्रमण तत्कालै देखिँदैन । महाधिवेशन भर्खर–भर्खर सकिएको छ । मेरो अनुमानमा महाधिवेशनमा सम्मिलितहरू धेरैले खोप लगाएको हुनुपर्छ । उहाँहरू शहरी क्षेत्र वा खोप उपलब्ध भएकै ठाउँमा हुनुहुन्थ्यो होला भन्ने मेरो अनुमान हो । यदि, खोप लगाएका रहेछन् भने रुघाखोकीलगायत लक्षण मात्र देखिन सक्छ । धेरैलाई व्यक्तिगत रूपमा परामर्श दिइरहेको छु । खोप लगाइसकेका वा महाधिवेशनपछि रुघा, खोकीलगायत सामान्य लक्षण देखिएकाहरू केही होम आइसोलेसनमा बसेको पाएको छु ।

शुक्रराज अस्पतालमा कोरोना संक्रमितको चाप कस्तो छ?

– आइसियुमा दुई चार जना बिरामीको संख्या थपघट होला तर केही महिनाअघिको झैं भरिभराउ स्थिति छैन । यसो भन्दै गर्दा पूर्णरूपमा बेवास्ता गर्न पनि भएन । हामी कोभिड संक्रमणको जोखिममा त छौं नै ! अहिले पनि दैनिक सयभन्दा बढी संक्रमित भेटिरहेका छन् । विगतमा धेरै भोग्यौं । अब थोरै मात्र सावधानी अपनाउन सकेको खण्डमा कोरोनाबाट बच्न सक्छौं । खोपका कारण मृत्युदर धेरै कम गर्न सकिन्छ भन्ने विदेश र नेपालकै मामलामा पनि देखिएको छ । कोरोनाको एउटा हर्कत छ, त्यही कारण प्रक्षेपण गर्न गाह्रो छ । यो परिवर्तन भइरहन्छ । आशा गरौं, पहिलो वा दोस्रो लहरझैं क्षति हुने दिन आउने छैन ।

तपार्इंले पहिल्यैदेखि कोरोनाको तेस्रो लहर आएको खण्डमा दोस्रो लहर (डेल्टा)भन्दा वा त उग्ररूप वा नरम रूपमा आउँछ भन्नुहुन्थ्यो । के आधारमा भन्नुभएको थियो ?

– आजको मितिसम्म जति पनि अनुसन्धान भएका छन् तिनका आधारमा डेल्टाजति ओमिक्रन कडा छैन । डेल्टाले जटिल अवस्था ल्याएकै हो । आजको मितिमा डेल्टाभन्दा ओमिक्रोन कमजोर देखिन्छ । तर, ओमिक्रन बढी फैलन सक्छ । तपार्इं हामी जो कोहीलाई लाग्न सक्छ । मानौं ओमिक्रोनका कारण सयमा एक जना अस्पताल भर्ना भए । यसको संक्रमण छिटो हुने हुँदा एक हजार संक्रमित हुँदा दश जना अस्पताल भर्ना हुने भए । एक लाख संक्रमित हुँदा एक हजार अस्पताल भर्ना हुने भए अर्थात् अनुपात बढ्दै जान सक्छ । त्यो हेक्का राख्नुपर्छ ।

डेल्टाभन्दा ओमिक्रोन कमजोर हुनुको दुईवटा कारण हुनसक्छन्, पहिलो कोरोनाविरुद्धको खोप लगाएको र धेरैभन्दा धेरै प्राकृतिक रूपमा संक्रमित भएको । स्वरूपको कुरा गर्ने हो डेल्टाभन्दा पनि ओमिक्रोन म्युटेसेन भएको भन्ने कुरा छ । कम्तीमा ३० भन्दा बढी म्युटेसन भएको भन्ने कुराले शुरुमा विश्व नै तरंगित भयो त्यतिखेर । मैलेचाहिँ शुरुवाती चरणदेखि नै भन्दै आएको थिएँ कि, वा त नयाँ भाइरस डेल्टाभन्दा उग्र रूपमा आउँछ वा त पहिलाको भन्दा नरम रूपमा । जेनेटिक कोटमा धेरै चेञ्ज भयो भने,उसको आनीबानीमा परिवर्तन हुनसक्छ । आनीबानी सदैव खराबै हुनुपर्छ भन्ने छैन । म्युटेसेन भयो भन्दैमा पहिले नै हावाहुरीझैं तर्सिनु पनि भएन । के थाहा पहिलेकोभन्दा झनै कमजोर भएर आएको पो छ कि ? उदाहरणका लागि छिट्टो दौडने खेलाडीका दुईवटा छोरा जन्मिए । उसका दुबै छोरा ऊजस्तै खेलाडी नै बन्छन् भन्ने त हुँदैन नि !

खोप लगाएका व्यक्ति पनि किन कोरोना संक्रमित भइरहेका छन् ?

– खोप लगाएका व्यक्तिको नाक वा घाँटीसम्म संक्रमण गराउन सक्छ तर फोक्सोमै क्षति पु¥याउने सम्भावना कम हुन्छ । खोप लगाउनु भनेको संक्रमित नहुनु होइन कि जटिल अवस्था आउने वा मृत्यु कम गर्छ भनेर बुझ्नुपर्छ ।

झण्डै आधा जनसंख्या अझै पनि खोपबाट वञ्चित छन् तर सरकारले झण्डै एक करोड खोप स्टक राखिरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

– हामीकहाँ योजनाको कमी देख्छु । हिजो कोभिडविरुद्धको खोप ल्याउन दौडादौड गर्नुपर्ने स्थिति थियो । खोप ल्याएपछि छुट्टाछुट्टै केन्द्र खडा गरेर त्यहाँ लगाइदिने मान्छे हुनुप¥यो । फेरि, लगाउने मान्छेले विश्वास गर्नुप¥यो । मेरो व्यक्तिगत अवलोकनमा हिँड्न नसक्ने, तलमाथि गर्न नसक्ने वा खोप केन्द्रसम्म पुग्न नसक्ने बूढाबूढी धेरै छन् । जसमध्ये कतिले त खोप लगाउन नपाएरै मृत्युवरण गर्नुपरेको छ । उहाँहरूलाई घरघरमै गएर खोप लगाइदिने व्यवस्था गर्नुपर्छ । अर्काेथरी खोपप्रति त्यति विश्वास नभएकाहरू पनि देख्छु । कतिपय खोप लगाउन चाहन्छन् तर कहाँ वितरण भइरहेको छ भन्ने केही जानकारी नभएका वर्ग पनि छन् । खोप लगाउने कामचाहिँ युद्धस्तरमा हुनुपर्छ ।

कोभिडका अझै कतिवटा थप भेरियन्ट आउन सक्छन् ? यस विषयमा केही अध्ययन वा अनुसन्धान भएको छ ?

– ठ्याक्कै भन्न सकिँदैन । ओमिक्रोनपछि विस्तारै हराउन पनि सक्छ वा थप परिस्कृत गर्दै जिनमा म्युटशीयन गरेर पनि आउन सक्छ । योभन्दा अघि सार्स २००२ मा देखिएर ००४ मा हरायो । त्यस्तै, ठुल्ठूला महामारी दुई वा तीन वर्षभन्दा बढी गएको देखिँदैन । एचवान एचटु भाइरसको पनि दोस्रो लहर कडा देखिएको थियो । कुनै पनि रोगको महामारी तीन चार वर्ष लम्बिने देखिँदैन । कोभिडको हकमा पनि त्यही हो– कतिपयलाई मल्टिपल इन्फेक्सन भइसकेको हुन्छ । हामीमध्ये धेरैले खोप लगाइसकेका हुन्छौं । त्यही कारण धेरै वर्षसम्म जाने देख्दिनँ । जस्तोः अहिले पनि स्वाइन फ्लु, सिजन सिजनमा आउने गर्छ । कोभिड पनि त्यस्तै हुन सक्छ ।

भारतका विभिन्न राज्यमा कफ्र्यु, तर नेपाल खुला छ । फेरि यस्तै महामारी नआउला भन्न सकिन्न । हुने खाने त उपचारका लागि एअर एम्बुलेन्स मगाएर थाइल्याण्ड, सिंगापुर पुग्लान् तर हुँदा खाने वर्गले गुमनाम मृत्युवरण गर्नुबाहेक अरु उपाय रहँदैन । यस्तो दृश्य देख्दा एक जना चिकित्सकको मन कत्तिको पोल्छ ?

– मैले आफ्नो आँखाअगाडि धेरै संक्रमित पुर्लुक्क पुर्लुक्क ढलेको देखेको छु । एउटा स्वास्थ्यकर्मीको नाताले फेरि पनि भन्छु स्वास्थ्य मापदण्ड पालना गर्न नभुलौं । खोप लगाउने विषयमा जनचेतना फैलाऊँ । अवश्य एक दिन हाम्रो जित हुनेछ । यस्ता महामारी फेरि पनि आउन सक्छन् तर लडाइँका लागि पहिला तयारी अवस्थामा रहनुपर्छ । चाहे देश–देशबीचको लडाइँ होस् वा रोगसँगकै लडाइँ । हाम्रोमा पूर्वतयारीको कमी छ ।

सीसीएमसी सुस्तायो भनिन्छ । कसरी लिनुहुन्छ, उसका गतिविधिलाई ?

– सीसीएमसी अहिलेसम्म गएको छैन, उसको बारेमा उतिधेरै जानकार पनि छैन । यो महामारी न शुरु हो न त अन्त्य । घरीघरी यस्ता महामारी आउन सक्छन् अनेकन रूपमा । लड्न फरक–फरक विज्ञ सक्रिय, छिटो रेस्पोन्स गर्ने मान्छेको एउटा टिम हुनुपर्छ । तुरुन्तै निर्णय गर्न सक्ने संस्था हुनुपर्छ । हामीकहाँ त महामारी आइसकेपछि मात्र दौडादौड गर्ने प्रचलन छ ।

स्वास्थ्यप्रति सर्वसाधारणमा कत्तिको जागरुकता पाउनुभएको छ ?

– एकाथरी केही होइन, सबै बकबास हो भन्नेहरू छन्, अर्काे थरिचाहिँ कोभिड खतरा हो भन्नेछन् । जसका आफन्त बितेका छन् उनीहरू कोरोना खतरा हो भन्छन् । जो आइसोलेसनमा बस्दै अलिअलि तातोपानी खाएर ठीकठाक भए उनीहरू खासै केही होइन भन्छन् । अर्काेतिर अहिलेसम्म संक्रमित भएका छैनन्, तीचाहिँ कोरोना भनेको केही होइन, हावा हो भन्ने पनि पाइन्छन् । कोभिडको अर्काे लहर आएको खण्डमा यो वर्ग जोखिममा पर्छ । खोप नलगाउने वर्ग पनि यही होला । अहिले बजारतिर जाँदा, भीडभाड हेर्दा कहाँ कोरोना छ र ? भन्ने भान हुन्छ । हामीले यहाँ आइसियुमा बसेर हेर्दा कोभिड संक्रमितलाई निमोनिया र दुवै छाती संक्रमित भएर खत्तम भएको दैनिक देख्छौं । त्यही कारण कोभिडलाई मान्छेले कसरी हेरे, कसरी भोगे त्यही आधारमा उनीहरूको सोच विकसित भएको पाइन्छ । यो नेपाल मात्र होइन, विश्वकै समस्या हो । कोरोना पूर्णरूपमा हटिसकेको छैन । यसका अनेकन लहर र उतारचढाव आउने क्रम जारी छ । स्वास्थ्यका न्यूनतम मापदण्ड पूर्णरूपमा पालना गरौं । सकेसम्म परिवारका सबैले खोप लगाऔं । सरकारले पनि भण्डारण मात्र गर्ने होइन कि जतिसक्दो चाँडो युद्धस्तरमा खोप लगाऔं । बल्लबल्ल ल्याएको खोप एक्सपायर हुने स्थिति नआओस् ।

टिप्पणीहरू