श्रीमतीलाई माछामा कस्दा सिडिओद्वारा सास्ती

श्रीमतीलाई माछामा कस्दा सिडिओद्वारा सास्ती

चितवनका सिडिओमाथि अचम्मको आरोप लागेको छ । श्रीमती माछा किन्न जाँदा सस्तोमा नदिएपछि आफूलाई दुःख दिएको व्यवसायीको आरोप छ । तर प्रशासनले भने व्यवसायीले माछाको मूल्य अनधिकृत रुपमा बढाएकोले अनुगमन गरिएको दाबी गरेको छ ।

चितवनको एक माछा पसलेलाई महँगोमा माछा बिक्री गरेको भन्दै फ्रिज सिल गरी व्यापारीलाई धम्काएको आरोप त्यहाँका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमाथि लागेको छ । भरतपुर एयरपोर्ट छेउमा रहेको माछा पसलमा अस्ति साँझ ५ बजेतिर सिडियोसहितको टोली पुगेर ‘चितवन फिस हाउस’ को फ्रिज बन्द गरेको थियो । त्यसक्रममा सञ्चालक लुलाराज तामाङलाई थर्काउँदै फ्रिजको साँचो खोसेर लगेको व्यवसायीहरुले बताएका छन् ।

आफ्नी श्रीमतीले माछा किन्दा प्रति केजी तीन सय रुपैयाँ लिएको भन्दै सिडिओले पसलमै पुगेर चितवन फिस हाउसका सञ्चालक तथा जिल्ला उपाध्यक्ष तामाङलाई यो के पारा हो,किन मनपरी भाउ राखेको भन्दै फ्रिज बन्द गरी साँचो लिएर हिँडेको प्रत्यक्षदर्शी एवम् मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र महतोले बताए ।

“आफूहरुले बजार मूल्य तीन सय ८० रुपैयाँमा बिक्री गर्ने माछा प्रति केजी तीन सय रुपैयामा उहाँलाई दिँदा पनि अझ सस्तो खोजेर व्यवसायीलाई आतंकित पार्ने काम गर्नुभएको छ,’

सिडिओले ज्यादती गरेको भन्दै व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका छन् । श्रीमतीलाई सस्तोमा माछा नदिएको निहुँमा सिडियो आएर व्यवसायीलाई धम्काउने,थर्काउने काम गरेपछि सिडियोको ज्यादतिविरुध्द आफूहरु आन्दोलित बनेको मत्स्य व्यवसायी संघले जनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीको नेतृत्वमा जनप्रतिनिधिसहित प्रशासन कार्यालय पुगेर उनीहरुले सिडियोको ज्यादति बन्द गर्नुपर्ने माग सहायक प्रजिअसमक्ष राखेका थिए । कार्यालयमा जिल्ला अध्यक्षलाई मैले गल्ती गरेको हुँ भनेर कागजमा जबर्जस्ती हस्ताक्षर गराउन खोजेपछि आफूहरु हस्ताक्षर नगरी हिँडेको व्यवसायीहरु बताउँछन् । अरु ग्राहकको माछा तयार पारिरहेका बेला सिडियो पसलमा पुगेर सुन्नै नसकिने अपशब्द प्रयोग गरी फ्रिज सिल गरेर साँचो लिएर गएको पीडित व्यवसायी लुलाराजले बताए ।

‘आफूहरुले बजार मूल्य तीन सय ८० रुपैयाँमा बिक्री गर्ने माछा प्रति केजी तीन सय रुपैयामा उहाँलाई दिँदा पनि अझ सस्तो खोजेर व्यवसायीलाई आतंकित पार्ने काम गर्नुभएको छ,’ मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले भने,‘ सिडिओबाट भएको यो कार्य सह्य हुँदैन । यो कार्यविरुद्ध देशव्यापी आन्दोलन गर्नेछौं ।’ उपभोक्तालाई स्वस्थकर माछा खुवाउन भारतीय माछाविरुद्ध लडेर नेपालमा जिउँदो माछा बिक्री गर्ने पध्दतिको सुरुवात गरेकाहरुमाथि सिडियोले गरेको हर्कत कुनै पनि हालतमा स्वीकार्य नहुने अधिकारीको भनाइ छ ।


अस्ति साँझ लक गरेको फ्रिज हिजो दिउँसो खोलेर त्यहाँ भएका केही माछा ल्याब परीक्षणको लागि प्रशासनले लगेको छ । सो विषयमा बुझदा प्रमुख जिल्ला अधिकारी तामाङले आफूले सिल नगरेको र व्यवसायीलाई खरिद तथा बिक्री बिल ल्याउन भनेको बताउनुभयो । ‘म्याडम’ लाई सस्तोमा माछा नदिएको झोंकमा फ्रिज सिल गर्नु भएको हो ? भनेर प्रश्न गर्दा उहाँले आफू माछा किनेर खाने मान्छे भएको र अरु कुरा आफूलाई थाहा नभएको उल्लेख गर्नुभयो ।

घटना के थियो ?

भरतपुर महानगर २६, दिव्यनगरमा दिउँसो ३ बजेको समयमा ना. १ झ ४९९ नम्बरको सिडिओको साइरनयुक्त सरकारी गाडी लिएर ५ किलो माछा खरिदका लागि प्रमुख जिल्ला अधिकारी तामाङकी श्रीमती संघका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीको माछा फर्ममा पुगेकी थिइन् । त्यहाँ पोखरीबाट माछा झिकेर आफ्नो सवारी साधनमा माछा लोड गर्दै थिए चितवन फिस हाउसका सञ्चालक एवम् जिल्ला उपाध्यक्ष लुलाराज तामाङ ।

आफूसँग सिडियोको परिवारले ५ किलो माछा माग गरेपछि बाटोमा ५ किलो माछा झिक्न अफ्ठयारो हुने बताए पनि जिल्ला उपाध्यक्षसमेत रहेका चितवन फिस हाउसका सञ्चालक तामाङले आफनो भागको माछाबाट ५ केजी माछा जोखेर सिडिओको सवारी चालकलाई दिए । उनले प्रतिकेजी तीन सय रुपैयाँको दरले १५ सय पनि बुझे ।

त्यही माछा खरिदमा प्रति केजी तीन सय रुपैयाँ लिएको रिसमा सिडियोले साँझ ५ बजे तामाङको भरतपुर विमानस्थल छेउमा रहेको फिस हाउसमा पुगी तथानाम गाली गरेको व्यवसायीहरुको आरोप छ । सिडिओले ‘तैंले फर्मालिन हालेको माछा बेच्ने ?’ भनेर धम्काउदै फ्रिज सिल गरेर हिँडेको अधिकारीले समेत बताए ।

त्यहाँ सिडियोले सुन्नै नसक्ने खालका अपशब्दसमेत बोलेको प्रत्यक्षदर्शी एवम् संघका केन्द्रीय महासचिव खगेन्द्र महतोले बताए । त्योभन्दा अगाडि पनि आफ्नो फार्म हाउसमा सिडिओकी म्याडम माछा खरिदका लागि पुग्दा आफूले त्यो पटक सिडियो सरलाई नै हो भनेर प्रति केजी दुई सय ५० रुपैयाँमा दिएको जिल्ला अध्यक्ष सुवेदीले बताए । ‘यो पटक तीन सय रुपैयाँ लिएपछि ५० रुपैयाँको निहुँमा उहाँबाट त्यस किसिमको काम भएको हो’, सुवेदीले स्पष्ट पार्दै भने ।

अहिले चितवनमा ५ किलो माछा खरिदका लागि सरकारी सवारी साधनको दुरुपयोग गरेर व्यवसायीलाई आतंकित पार्ने काम सिडियोबाटै भएको भन्दै व्यवसायीहरु आक्रोशित बनेका छन् । सिडियोको उक्त कार्यको व्यवसायीहरुले विज्ञप्ति सार्वजनिक गर्दै भत्सर्ना गरेका छन् ।

टिप्पणीहरू