जति गर्दा पनि ओलीले नपत्याएपछि…

जति गर्दा पनि ओलीले नपत्याएपछि…

केपी ओलीले मनोनितमा पक्कै आफूलाई पार्ने आशामा रहेकाहरुले युवा संघ र अखिलको अध्यक्ष, कार्यवाहक अध्यक्षसम्म चलाएकाहरूलाई पनि छानीछानी केन्द्रीय सदस्य बनाइसक्दा हेलाँको शिकार बन्नु परेपछि चित्त दुखाएका छन् ।

चितवनका कृष्णभक्त पोखरेलदेखि सिन्धुपाल्चोकका सुवास कर्माचार्यहरूले चित्त दुखाइ सार्वजनिक गरेकै छन् । ललितपुरको कमिटीलाई ३ कार्यकाल नेतृत्व गरेका मधुसूदन पौडेल र नवराज सिलवाल दुबै जना मार्सीसँग अटेनन् । जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलाई केन्द्रीय सदस्य बनाइएपछि दुबैले ओलीको आलोचना गर्न थालेका छन् ।

आफूले आर्थिक पारदर्शिताको कुरा उठाएकै कारण ओलीको टीममा नपरेको भन्दै पौडेलले फेसबुक स्टाटस देखेका छन् । पौडेलले व्यञ्जनकारलाई भवन निर्माण र निर्वाचनमा आर्थिक पारदर्शिता देखाउन नसकेको भन्दै नेकपा एकताकै बेलादेखि उजुर गर्दै आएका थिए ।

पौडेलले एकताका अध्यक्ष व्यञ्जनकारलाई हटाउन टोली बनाएर माओवादी नेता वर्षमान पुनको घर धाएको शंकर पोखरेल र कृष्णगोपाल श्रेष्ठहरूलाई थाहा छ । पौडेल पहिला झलनाथ खनालको टीमका नेता थिए । नवौं महाधिवेशनमा महासचिवको निम्ति ईश्वर पोखरेल र अध्यक्षमा माधव नेपाललाई भोट हालेको र दुईतिर लागेका कारण अन्तिममा केन्द्रीय सदस्य पनि प्राविधिक कारणले गएको थियो ।

नवराज सिलवाललाई रोक्न ललितपुरको दुईवटा टोलीले अलगअलग लबिङ गरेको थियो । संगठित सदस्यताको अवधि नै नपुगेको भन्दै एउटा टोलीले तत्कालीन महासचिव ईश्वर पोखरेलसंग महाधिवेशनअघि नै प्रतिनिधि अयोग्य गर्नुपर्ने भन्दै लविङ गरिरहेको थियो । सिलवाललाई केन्द्रीय सदस्य सरह हुने गरी आयोगमा राख्ने विषयमा छलफल हुँदा ओलीसम्म नै खास सम्बन्ध भएका काठमाडौंका रैथाने नेताले अलि असभ्य शब्द प्रयोग गरी राख्न हुन्न भनेपछि सिलवालको नाम काटिएको छ ।

आफ्नो नाम काटिएको सूचना पाएका सिलवालले दोश्रो केन्द्रीय कमिटीबाट पोलिटव्युरोको जिम्मेवारी पाएकी सुशीला नेपाल र मनोनित केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारलाई बधाइसम्म दिएका थिएनन् ।

नेपाली काँग्रेसको महाधिवेशनबाट निर्वाचित उदयसशेर राणा र मदनबहादुर अमात्यलाई सोमबार धेरैले बधाई दिएको र राजनीतिक संस्कार देखाउन बधाइ दिने क्रममा आफ्नै पार्टीकोलाई छुटाएर काँग्रेसकोलाई बधाई दिनु असहज लागेर १० दिनपछि बल्ल बधाइ दिएका छन् ।

पौडेलले भने महाधिवेशनबाट निर्वाचित ओलीलाई बाहेक सामाजिक सञ्जालमा कसैलाई बधाइ दिएका छैनन् ।

टिप्पणीहरू