अंश माग्दै चितवनका अधिकारीको माइतीघरमा अनशन

अंश माग्दै चितवनका अधिकारीको माइतीघरमा अनशन

चितवनको भरतपुर महानगरपालिका ११ का टीकाप्रसाद अधिकारीले अंश माग गर्दै राजधानीको माइतीघर मण्डलामा अनशन बसेका छन् ।

कानुनी लडाईंबाट थाकेपछि अधिकारी आफूलाई अंश दिलाइदिन माग गर्दै माइतीघर मण्डलामा एक साता अघिदेखि अनशन थालेका हुन् ।

पाँच दाजुभाइमध्ये दुईजनाले पैतृक सम्पत्ति अंशबण्डा नगरी जालसाजी गरेर लिएपछि उनले कानुनी बाटोबाट अंश मागेका थिए । अंशका लागि कानुनी लडाईंमा कमाएको पैसासमेत सकिएपछि अनशन बसेर न्याय खोजेको अधिकारी बताउँछन् ।

‘दाजु दिनेशप्रसाद अधिकारीसहितले अंश नदिएपछि कानुनी संघर्ष गरेँ । तर, अंश पाउन सकिन । न्याय पाउन मुद्दा लड्दालड्दै भएका सम्पत्ति र पैसा पनि सकियो,’ उनी भन्छन्, ‘बाध्य भएर यहाँ (माइतीघर मण्डला) आएर अनशन बस्नुपरेको छ ।’

अंश नपाउँदा दुःखी बनेका उनी न्यायालयमा तारेख धाउँदा पनि नपाएको न्यायले झनै मन पोलेको बताउँछन् । उनले न्याय सम्पादनको वर्तमान शैली परिवर्तन नभएसम्म सर्वसाधारणले न्याय पाउन गाह्रो रहेको बताए ।

‘कानुनी क्षेत्रमा व्यापक सुधार हुनुपर्ने देखेँ । सँधै तारिखै तारिख बोकाउने अदालती शैली फेरियोस्,’ उनले भने, ‘नत्र हामी जस्ताले न्याय पाउने आशै नगरे हुन्छ ।’

गरिबका लागि न्याय महंगो र जटिल बनेको उनको अनुभव छ । यसैले अहिले अनशनमार्फत आफ्नो अधिकार खोज्न माइतीघरमा बसेको उनी भन्छन् । आफूले अंश पाउनुपर्ने बताउँदै अधिकारी भन्छन्, ‘सत्य नडगोस्, असत्य नटिकोस् ।’
आफूले कानुनसम्मत पाउनुपर्ने अशं नपाएसम्म अनशन बसिरहने बताएका टीकाप्रसाद अधिकारीले न्यायको लडाईंमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

टिप्पणीहरू