३ दशकअघि भारतमा महिला बेच्ने काठमाडौंमा समातिए

३ दशकअघि भारतमा महिला बेच्ने काठमाडौंमा समातिए

२९ वर्ष अघि जीउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी काठमाडौंमा पक्राउ परेका छन् । नुवाकोट सूर्यगढी गाउँपालिका–२ का ५० वर्षीय टकबहादुर लामिछाने काठमाडौंको तारकेश्वर नगरपालिका–४, लोलाङ हाइटबाट पक्राउ परेका हुन् ।

अहिले ५० वर्षको भए पनि त्यतिबेला २१ वर्षको हुँदा लामिछानेले काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाका श्रीमान बिरामी भएर घरमा गएको मौकामा ती महिलालाई श्रीमती बनाउँछु, दुःख गर्नु पर्दैन भन्दै फकाएका थिए । महिला पनि उनको प्रलोभनमा परेर विश्वास गर्दा २०४९ जेठ ३० गते धनकुटा जाने भन्दै काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुगेकी थिइन् ।

नयाँ दिल्लीमा दुई जना महिलालाई जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाएपछि उनी भागेर असार १६ गते नेपाल आएकी हुन् । उनले २०४९ कात्तिक २६ गते टेक बहादुरविरुद्ध जिल्ला प्रहरी कार्यालय काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई राजधानीबाटै पक्राउ गरेको हो । लामिछाने उपर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

टिप्पणीहरू