जनयुध्दका वैज्ञानिक प्रचण्डको सूचीमा अटाएनन्, पूर्वमन्त्री पनि फालिए

जनयुध्दका वैज्ञानिक प्रचण्डको सूचीमा अटाएनन्, पूर्वमन्त्री पनि फालिए

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य चयनमा जनयुध्दकालीन पुराना नेताहरुलाई पाखा पारिएको छ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको २३६ जना केन्द्रीय सदस्यको सूचीमा कतिपय कनिष्ठ नेताहरुले ठाउँ पाउँदा पुरानाहरू भने फालिएका हुन् ।

प्रभावशाली नेताकै परिवारका चार जनासम्म केन्द्रीय कमिटीमा अटाउँदा लामो समय माओवादी आन्दोलनमा लागेका र इमान्दार छवि बनाएका दर्जनौँ नेता समेटिएनन् । सबै हिसाबले केन्द्रीय सदस्य बन्ने योग्यता पुगेका रसुवाका इन्द्र गौतम जगतजंग,भक्तपुरका देवेन्द्र श्रेष्ठ, काभ्रेका सूर्यमान दोङ,सप्तरीका शिवकुमार यादवलगायतका नेताहरु अध्यक्षको सूचीमा नपर्दा कनिष्ठ भएर पनि वर्षमान पुनकी बहिनी सुशीला पुन र जनार्दन शर्माका भाइ अनिल शर्मा भने परेका छन् ।

प्रभावशाली नेताका घरमै चार जनासम्म केन्द्रीय सदस्य हुँदा रसुवा र काभ्रे भने नील भएको छ ।

प्रचण्डको सूचीमा नपरेका श्रेष्ठ जनयुध्दमा माओवादीले वैज्ञानिक घोषणा गरेका युवा नेता हुन् । उनी यसअघि नै माओवादीको पोलिटब्युरो सदस्य थिए । माओवादी जनयुध्दका बेला केन्द्रीय सफ्टवेयर विभाग प्रमुख भएर उनले युद्धलाई आवश्यक हातहतियार,सञ्चार सेट, माओवादीले सन्चालन गरेको रेडियो निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । श्रेष्ठ बेपत्ता परिवारका सदस्य पनि हुन् । जनयुद्धमा लागेर उनको परिवारबाट मात्रै तीन जना बेपत्ता भएका छन् ।

प्रभावशाली नेताका घरमै चार जनासम्म केन्द्रीय सदस्य हुँदा रसुवा र काभ्रे भने नील भएको छ । रसुवाबाट जगतजंग केन्द्रीय सदस्यको स्वभाविक दावेदार थिए । तर, उनलाई समेट्दा आयोजकबाट चार जना हटाउनुपर्ने बाध्यता देखाएर पाखा पारियो । जबकि आयोजक कमिटी सदस्य नरहेका जनार्दंनका भाइलाई भने प्रचण्डको सूचीमा चलाखीपूर्ण ढंगले घुसाएको आरोप छ । जगजतजंग यसअघि नै केन्द्रीय सदस्य बनिसकेका नेता हुन् । जनयुद्धकै बेला रसुवा,नुवाकोट र धादिङको इञ्चार्ज भैसकेका उनी अहिले पनि रसुवाको इञ्चार्ज छन् । कहिल्यै पनि लाभको पदमा नपुगेका उनी इमान्दार र त्यागी नेताका रुपमा जिल्लामा लोकप्रिय छन्।

त्यस्तै,काभ्रेका दोङ पनि फालिएका छन् । मन्त्रीसमेत भैसकेका उनी पनि जनयुद्धकालीन पुराना नेता हुन् । प्रचण्डको सूचीमा नपरेका शिवराम यादव पनि मधेसमा परिचित नाम हो । उनी संविधानसभा सदस्य पनि हुन् ।

एमालेसँग पार्टी एकता गर्दा ठूला नेता भएका जिल्लामा १८ जनासम्म केन्द्रीय सदस्य बनाइएको र अहिले तिनैलाई व्यवस्थापन गर्नुपर्ने अप्ठेराका कारण प्रचण्डको चाहनाका बाबजुद उनीहरु पाखा परेको बताइन्छ । श्रेष्ठ,गौतम, दोङलगायतका थुप्रै नेतालाई एमालेसँगको एकतापछि केन्द्रीय सदस्यबाट हटाइएको थियो । त्यतिबेला पनि कतै जिल्ला नै खालि हुने र कहीं डेढ दर्जनलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना भएको थियो ।

टिप्पणीहरू