ठूलो इन्द्रविरुध्द सानो इन्द्रको पत्रकार सम्मेलन

ठूलो इन्द्रविरुध्द सानो इन्द्रको पत्रकार सम्मेलन

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले साधारण सदस्य पदबाटै निस्कासन गरेको घोषणापछि सञ्चारकर्मी इन्द्रप्रसाद बन्जारा (रमेश) ले पत्रकार सम्मेलन गरेर नेपाली काँग्रेसका बागमती प्रदेश सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाको आलोचना गरेका छन् ।

उनले समाचार लेख्दा व्यवसायी समेत रहेका बानियाँलाई व्यवसायिक नोक्सानी पुगिरहेकाले संगठनबाट आफूलाई निकालिएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसको बागमती प्रदेश निर्वाचनमा खुलेरै बानियाँविरुद्ध फिल्ड र मिडियामा देखा परेका बन्जारालाई त्यसैको बदला लिन र बानिया निर्माण सेवाका टिपरहरुले ओभरलोड बोकेर सडक बिगारिरहेको बिषयको समाचारबारेका बदला लिन युनियनबाट निकालिएको उनको आरोप छ । पत्रकार सम्मेलनमा बन्जाराले भने–‘युनियनको विधान बिपरित कारबाही गरिएको भनेर जिल्ला समितिले हल्ला गरेको छ,यो पूर्ण रुपमा नियोजित नै हो ।’

आफूलाई सचेत गर्ने,स्पष्टिकरण सोध्ने मौकासमेत नदिइएको उनको भनाई छ । यसअघि भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा समेत उनले युनियन र प्रेस सेन्टरबीचको गठबन्धनका विरुध्द सचिवमा उम्मेदवारी दिएका थिए ।

तर, पछि उम्मेदवारी फिर्ता गरिएको थियो । यसअघि पटक पटक सम्झाउने, बुझाउने प्रयास हुँदा पनि नसुध्रिएकाले कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको र केन्द्रले सिफारिस बमोजिम कारबाही गरिएको जानकारी दिएपछि साधारण सदस्यको अभिलेखबाट उनको नाम हटाइएको प्रेस युनियन मकवानपुरका सचिव केशव समर्पणले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टिप्पणीहरू