पानी अभावका कारण रजश्वला भएका छात्राहरु विद्यालय जान छाडे

पानी अभावका कारण रजश्वला भएका छात्राहरु विद्यालय जान छाडे

बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ । खानेपानी व्यवस्थापनका लागि बर्सेनी बजेट छुट्टाइए पनि दिगो समाधान हुन सकेको छैन । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरू घरबाटै बोतलमा पानी बोक्न बाध्य छन् ।

पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ । हिउँदयामपछि सुख्खा समयमा विद्यालयमा पानीको चर्को समस्या हुने गरेको छ । विद्यालयबाट टाढा र नजिक सबैतिरका विद्यार्थीले किताबसँगै पानी समेत बोकेर लैजाने गरेका छन् ।

‘विद्यालयको धारामा पानी नै आउँदैन, पानी आयो भने पनि फोहोर हुन्छ’, कक्षा १० मा अध्ययनरत विद्यार्थी अनुजा सुनारले भनिन्, ‘टाढा टाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुल ब्याकुल नै परिन्छ ।’

पानी अभावका कारण रजश्वलाको समयमा छात्राहरू विद्यालय जानै नमान्ने अभिभावकहरुको गुनासो छ । शौचालय प्रयोग गर्न विद्यार्थीले विद्यालय नजिकका घरबाट पानी माग्ने गरेको छिमेकीहरु बताउँछन् । कक्षा ९ मा अध्ययनरत विद्यार्थी विशाल पौडेलले भने, ‘हामी घरबाटै पानी ल्याउँछौँ, विद्यालयको शौचालयमा पानी नै छैन ।’

खानेपानीको चरम समस्या भएपछि विद्यालयमा विद्यार्थी संख्या पनि कम हुँदै गएको छ । विद्यालयलाई पायक पर्ने स्थानमा खानेपानीको मुहानसमेत छैन । हाल विद्यालयमा ल्याइएको पानीको मुहान झण्डै चार किलोमिटर टाढा छ । बेला बेलामा पानीसँगै लेदो र फोहोर आउने भएकाले विद्यार्थीले उक्त धाराको पानी प्रयोग नगरेका हुन् ।

प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहका लागि एक र माध्यमिक तहको लागि अर्को धारा रहे पनि विभिन्न समयमा निर्माण भएका बाटोका कारण विद्यालयसम्म पानी आउन नसकेको हो ।

‘मुश्किलले दिनमा एक सय लिटर पानी मात्र विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुर्याउन नै समस्या भएको छ,’ प्रधानाध्यापक शर्माले भने, ‘खानेपानीलाई निवेदन लेखेको छु, नगर प्रमुख तथा सरोकारवालाहरुसँग सहकार्य गरिरहेका छौँ ।’

टिप्पणीहरू