देउवाको रोजाइमा हार्नेहरु

देउवाको रोजाइमा हार्नेहरु

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा बिभिन्न पदमा पराजित भएकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । महाधिवेशनमा हारेका र आफूलाई सघाएकाहरुलाई समेटेर देउवाले मनोनयन गर्नुभएको हो ।

मनोनित हुनेहरुमा सभापतिदेखि केन्द्रीय सदस्य हारेकासम्म छन् । सभापति पदमा पराजित प्रकाशमान सिंह र बिमलेन्द्र निधि,उपसभापति पदमा हारेका विजय गच्छेदार र सुजाता कोइराला मनोनयनमा परेर केन्द्रीय कमिटीमा उक्लिएका छन् ।

त्यस्तै,महामन्त्रीमा हारेका डा. प्रकाशशरण महत र प्रदिप पौडेल पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् । सहमहामन्त्रीमा हारेका जीवनबहादुर शाही पनि केन्द्रीय सदस्य बनेका छन् ।

आफ्नै समूहको पेलानमा परेर महाधिवेशनको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएका रामचन्द्र पौडेललाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । त्यसैगरी सभापतिमा देउवालाई सघाएर कुनै पनि पदमा उम्मेदवारी नदिएका कृष्णप्रसाद सिटौलालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

देउवाका सहयोगी नारायण खड्का,उमा रेग्मी र मीनबहादुर विश्वकर्माले पनि मनोनित कोटाबाट केन्द्रीय कमिटीमा जाने अवसर पाएका छन् ।

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने विधानको व्यवस्थाअनुसार देउवाले उनीहरुलाई मनोनयन गर्नुभएको हो । विधानमा सभापतिले समावेशी सिद्धान्तका आधारमा मनोनित गर्नसक्ने व्यवस्था छ ।

टिप्पणीहरू