भारतमा कोभिड संक्रमण उकालो लाग्दै, मास्क नलगाउनेलाई जरिवाना

भारतमा कोभिड संक्रमण उकालो लाग्दै, मास्क नलगाउनेलाई जरिवाना

कोरोना महामारीका कारण छिमेकी मुलुक भारत आक्रान्त बनेको छ । महामारीको दोस्रो लहरमा देखा परेको डेल्टा भेरिएन्टको जोखिम उत्तिकै रहँदा महामारीको तेस्रो लहरको रुपमा आकलन गरिएको ओमिक्रोन भेरिएन्टले थप सन्त्रास थपेको छ ।

पछिल्लो २४ घण्टामा २७ हजार ५ सय ५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ सय ८४ जनाको कोभिडका कारण मृत्यु समेत भएको छ । नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्या पनि दिनहुँ बढेको छ ।

भारतमा आज एक लाख २२ हजार ८ सय १ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितको संख्या बढ्दै गएको छ । दिल्लीमा हिजो मात्रै २ हजार ७ सय १६ जनामा संक्रमण देखिएको थियो । यो पछिल्लो सात महिनामा एक दिनको अवधिमा देखिएको सबैभन्दा धेरै संख्या हो ।

त्यस्तै, मुम्बईमा ६ हजार १ सय ८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा १ हजार ३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या १ हजार ५ सय २५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित छन् । नयाँ संक्रमितमध्ये हालससम्म ५ सय ६० जना निको भएका छन् ।

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध घोषणा गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारतीय रुपैयाँ जरिवाना तोकिएको छ ।

टिप्पणीहरू