आफ्नो कार्वाहीले आफैलाई आपत

आफ्नो कार्वाहीले आफैलाई आपत

चार जना खेलाडीलाई अनुशासनको डण्डा बर्साउने आफ्नो निर्णय नेपाल क्रिकेट संघ (क्यान) का लागि महँगो पर्ने देखिएको छ । खेलाडी कारवाही विवादले आजदेखि हुने भनिएको बन्द प्रशिक्षण प्रभावित भएपछि क्यान दबाबमा परेको हो ।

अनुशासन उल्लङ्घन गरेको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारवाही गरेको थियो । क्यानले मल्ल र ऐरीको क्रमश: कप्तान र उपकप्तान पद खोसेको छ भने चारै जना खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

यसअघि क्यानले खेलाडीमाथिको कारवाही यथावत राखेर प्रारम्भिक चरणमा ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । बन्द प्रशिक्षणमा आउने खेलाडीहरुलाई शनिबारसम्म रिपोर्टिंग गर्न क्यानको निर्देशन थियो । तर,आजसम्म १४ खेलाडीले रिपोर्टिङ नगरेको बताइन्छ ।

प्रारम्भिक छनोटमा परेका ३० खेलाडीमध्ये कारवाहीमा परेका चार जनासहित विनोद भण्डारी,रोहितकुमार पौडेल,कुशल भुर्तेल,बिक्रम शोब,करण केसी, सुशन भारी,सन्दीप जोरा,नन्दन यादव,अविनाश बोहोरा र कुशल मल्ल प्रशिक्षणमा गएका छैनन् ।

विश्वकप छनोटको पूर्वसन्ध्यामा महत्वपूर्ण खेलाडीहरु सहभागी नहुँदा आगामी खेल प्रभावित हुने खतरा बढेको छ । आगामी फेब्रुअरीमा हुने टी–२० विश्वकप ग्लोबल छनोट खेल हुँदैछ ।

टिप्पणीहरू