पत्रकारले नै पत्रकारविरुद्ध अदालत गुहारे

पत्रकारले नै पत्रकारविरुद्ध अदालत गुहारे

-पूजा लम्साल

सुनसरीको इटहरीमा बसेर पत्रकारिता गर्दै आएका पिबी दियालीले आफूविरुद्ध झुठो समाचार लेखेको भन्दै समाचार लेख्ने पत्रका, छाप्ने सम्पादक र समाचार लेखाउने महिलाविरुद्ध गालीबेइज्जती मुद्दा दर्ता गराएका छन् ।

दलित समुदायका आमाछोरीमाथि अत्याचार भएको घटना मिलाउन पाँच लाख रुपैयाँ मागेको झुठो आरोप लगाएर आफूविरुद्ध समाचार लेखेको भन्दै सुनसरीको धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकका प्रबन्धनिर्देशक तथा सम्पादक किशोरकुमार कार्की, समाचार लेख्ने इनरुवा सम्वाददाता अमर काफ्ले र समाचार लेखाउने दुहबी नगरपालिका ५ की शारदा कार्कीविरुद्ध पत्रकार दियालीले जिल्ला अदालत मोरङमा गालीबेइज्जती कसुरमा मुद्दा दर्ता गराएका हुन् ।

झुठो समाचारबाट आफ्नो इज्जत, मानसम्मानमा अपुरणीय क्षति पुगेको र आफू मानसिक तनावमा परेको भन्दै मोरङ बेलबारी नगरपालिका १, घर भई सुनसरीको इटहरीमा बस्दै आएका पत्रकार पिबी दियाली (प्रेमप्रकाश दियाली) ले सुनसरीको धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकका इनरुवा सम्वाददाता इनरुवा नगपालिका ३ का २६ वर्षीय अमर काफ्ले र प्रवन्धनिर्देशक तथा सम्पादक धरान उपमहानगरपालिका ५ का ५४ वर्षीय किशोरकुमार कार्की तथा दुहबी ५ की ३२ वर्षीया शारदा कार्कीविरुद्ध मुलुकी अपराधसंहिता र फौजदारी कार्यविधि संहिताअनुसार सजाय हुनुपर्ने माग दाबी गरेका छन् ।

पत्रकार दियालीका अनुसार सुनसरी दुहबी ५ स्थित इलाका प्रहरी अगाडि २०७८ कार्तिक २३ गते सोही स्थानका ६५ वर्षीय टीकाराम कार्कीले मादक पदार्थ सेवन गरेर घरमा आएर दलित महिलालाई यौन शोषणको नियतले छेडखानी गरेका थिए । सोही विषयमा सोही दिन सोही स्थानकी ७० वर्षीया एकल दलित महिला लक्ष्मी परियार र उनकी छोरी ४० वर्षीया छोरी आरती परियारलाई टीकारामका छोराहरु ३९ वर्षीय रोशन कार्की, उनका भाई ३५ वर्षीय रवी कार्की र ज्वाईं ३२ वर्षीय सन्तोष कर्ण प्रहरीकै अगाडि अमानवीय ढंगले कुटपिट गरेर फरार भएका थिए ।

इलाका प्रहरी दुहबीले तत्काल जाहरी लिन नमानेपछि पत्रकार दियालीको सहयोगमा पीडितहरुले सरकारी वकिल मार्फत् कुटपिट गर्नेहरुविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । चौतर्फी दबाब परेपछि प्रहरीले फरार रहेका तीन जनामध्ये एक जना पक्राउ गरेको हो । त्यसपछि नातेदार शारदा कार्कीले पत्रकार सम्मेलन गर्दै पत्रकार दियालीले घटना मिलापत्र गराउन पाँच लाख रुपैया मागेको तर नदिएपछि हुँदै नभएको घटना बनाएर चर्काएको आरोप लगाएकी थिइन् । सोही समाचार मंसिर १६ गते ब्लाष्ट टाइम्स दैनिकमा इनरुवा सम्वाददाता अमर काफ्लेको बाइलाइनमा प्रकाशित भएको थियो । दैनिकमा किशोरकुमार कार्की सम्पादक तथा प्रवन्धनिर्देशक छन् ।

पत्रकार दियालीले भने निरीह गरिब दलित महिलाहरुमाथि अत्याचार गर्नेहरुलाई कानुनी कारबाही गराउन आफूले निरन्तर साथ दिएको तर कहिल्यै कसैबाट रकम नमागेकोले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । उनले कानुनी कारबाहीबाट जोगिन फरार आरोपीहरुले नातेदार प्रयोग गरेर अन्यायमा परेका पीडितलाई साथ दिएकै कारण पाँच लाख रुपैयाँ पैसा मागेको झुठो आरोप लगाएर आफनो चरित्र हत्या गराउँदै, इज्जत मानसम्मानमा अपुरणीय क्षति पुरयाएको र मानसिक विक्षिप्त बनाएको आरोप लगाएका छन् ।

टिप्पणीहरू