एमसीसी विरुद्धको प्रदर्शन संसद भवनको दैलोमै

एमसीसी विरुद्धको प्रदर्शन संसद भवनको दैलोमै

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै आन्दोलन गरिरहेको नेपाल मजदुर किसान पार्टीले आज संघीय संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

नयाँ बानेश्वरको तीनवटा चोकबाट र्यालीसहित निस्किएका सो पार्टीका कार्यकर्ताहरुले संसद भवन अगाडिको पानी ट्यांकी नजिकै जम्मा भएर एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

त्यसअघि पुरानो बानेश्वर चोकमा भेला भएका प्रदर्शनकारीहरु नाराबाजी गर्दै पानीट्यांकी अगाडि मिसिएका थिए । नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलको नेतृत्वमा झण्डै पाँच सयको संख्यामा रहेका प्रदर्शनकारीहरुले एमसीसीविरुद्ध चर्को नाराबाजी गर्नुका साथै ब्यानर र प्लेकार्ड बोकेका थिए ।

सो क्रममा प्रदर्शनकारीहरुले ‘एमसीसी सम्झौता खारेज गर’, ’अमेरिकी हस्तक्षेप मूर्दावाद’, अमेरिकी विस्तारवाद मूर्दावाद’, ‘राष्ट्रघाती सम्झौता फिर्ता गर’, भारतीय विस्तारवाद मूर्दावाद’, ’सरकार र सांसदहरु होसियार’, ’देशभक्त नागरिक एक हौँ’ जस्ता नारा लगाएका थिए ।

र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले देशलाई अमेरिका र भारतको उपनिवेश बनाउने योजनाअनुरुप एमसीसी संसदमा लगिएको दाबी गर्दै कुनै हालतमा पास गर्न नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीमा कहाँ राष्ट्रघात छ भन्ने देखाउनका लागि आफूहरु सडकमा आउन बाध्य भएको पनि उनले बताए । प्रधानमन्त्रीले केही दिनअघि माओवादी केन्द्रको महाधिवेशनमा एमसीसी नेपालको हितमा रहेको भन्दै कहाँ राष्ट्रघात छ ? भनि प्रश्न गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसमेत एमसीसीको पक्षमा रहेको भन्दै गोसाईले बहसमा आउन निम्तो दिएका छन् । एमसीसीमा कहाँ–कहाँ राष्ट्रघात छ भन्ने बुझ्न आफ्नो पार्टीका सामान्य कार्यकर्तासँग छलफल गर्न उनले ओली र देउवालाई कटाक्षपूर्ण आग्रह गरे ।

विरोधसभालाई नेमकिपाकी केन्द्रीय सदस्य अनुराधा थापा मगर, कृष्णकुमार वैद्यलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

टिप्पणीहरू