झुण्डिनुअघि एसएसपीले देखाएको त्यो व्यवहार

झुण्डिनुअघि एसएसपीले देखाएको त्यो व्यवहार

‘गाडी बाहिर देखेर हजुर आएको थाहा पाएँ सर !’
‘के रे–के रे, मेरो गाडी बाहिर ? कसरी हँ…!’
आत्महत्या गर्नु हप्ता दिनअघि, ३ गते शनिबार भैरहवा विमानस्थलमा एसएसपी सुशीलकुमार यादव झस्किए, आफैँ चढेर आएको गाडी बाहिर छ भनेको सुनेर ! विमानस्थल ड्युटीमा खटिएका एकजना सईले संघीय प्रहरी इकाइमा कार्यरत एसएसपी सुशीललाई भिआइपी लाउञ्जमा देख्नासाथ जय नेपाल टक्र्याउँदै उक्त कुरा भनेका थिए । तर, एसएसपीले अस्वाभाविक जवाफ दिँदा ती सई अलमल्ल परे । र, सुशील एक जना माननीयपट्टि ढाड फर्काएर सोफामा बसी मोबाइल हेर्न थाले ।

सईलाई अचम्म पर्ने गरी जवाफ दिएका उनै एसएसपी सुशीलले त्यसको एक सातापछि, अर्थात् १० गते शनिबार आफ्नै क्वार्टरमा झुण्डिएर आत्महत्या गरे । अर्थात्, असन्तुलित मनस्थिति (डिप्रेसन) ले उनलाई मृत्यु रोज्ने ठाउँसम्म पु¥याएको ठहर प्रहरी संगठनले गरेको छ । सहकर्मीहरू भन्छन्, ‘जागिरदेखि घरसम्मको तनावले उनलाई सुख थिएन । तर, मरिहाल्नुपर्ने अवस्था पनि हैन ।’

जागिरको तनाव भर्नाकै समयदेखि थियो । नेपाल प्रहरीको ९८ औँ व्याच भनेको अहिलेका आइजिपी शैलेस थापा क्षेत्री, एआइजी निरजबहादुर शाही, हरिबहादुर पालहरूको हो । उनी त्यही ब्याचतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा छनोट भए । तर, वैकल्पिकमा नाम निस्किनाले ११ महिना ढिलो नियुक्तिपत्र पाए । त्यस्तो हुँदा भर्ना मिति त्यसपछिको ९९ व्याचसँग कायम भयो, २०४९/१२/११ को ।

जागिरमा सँगै उत्तीर्ण भएका साथीहरू एक–एक दर्जाले अगाडि हुँदै, जुनियर व्याचसँग मिलेर काम गर्नुपर्ने कुराले उनलाई जागिरको शुरुवातबाटै तनाव थियो । त्यसमाथि जुनियर नै सही, ९९ व्याचका विश्वराज पोखरेल, सहकुलबहादुर थापाहरू एआइजी छन्, डिआइजीमा धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रामकृपाल शाह, उमेश रञ्जितकार, रविन्द्रबहादुर धानुक, अरुणकुमार बिसी छन् । आफूचाहिँ त्यही एसएसपीबाट आउने माघमा घर जानुपर्ने पीडाले पछिल्ला दिनहरूमा अलिक बढी असन्तुलित भएको उनका सहकर्मीहरू बताउँछन् ।

परासी, रामग्राम घर भएर घर नजिकैको भैरहवामा उनको अफिस थियो । तर, क्वार्टरमा एक्लै बस्थे । पत्नी र सन्तान काठमाडौंमै बस्छन् । मनस्थितिगत असन्तुलनले गाँजेको मानिस प्रायः एक्लै बस्न र रमाउन रुचाउने हुन्छन् । तर, उनीहरूलाई एक्लो रहन दिनु सबैभन्दा खतरनाक हुने मनोविद्हरू बताउँछन् ।

सधैँ सँगै नबसे पनि पत्नी रुपमकुमारीले सुशीलको दुःखमा साथ दिँदै आएकी थिइन् । आत्महत्या गर्ने अघिल्लो दिन शुक्रबार विहान ९ बजे जागिरमा बढुवा नभएको कुरालाई इंगित गर्दै उनले फेसबुकमा लेखेकी थिइन्, ‘यो कलियुग भएपनि अझै जीत सत्यकै हुन्छ ।’

अरु दिनजस्तै आत्महत्या गर्ने दिन पनि उनी विहानै उठेर जिम गर्न गएका थिए । क्वार्टरमा छिर्दासम्म अघिल्ला दिनहरूमा जस्तै सामान्य देखिन्थे । तर, कोठाभित्र छिरेको लामो समयसम्म ढोका नखुलेपछि रनर गार्डले हेर्दा झुण्डिरहेको अवस्थामा देखिए ।

एसएसपी यादवको आत्महत्यासँग प्रहरीप्रति राज्यको व्यवहार जोडिने सहकर्मीहरू बताउँछन् । देशमा प्रहरीजस्ता अनेकन संस्था र निकाय छन् । तर, प्रहरीलाई यस्तो संस्था बनाइएको छ कि, हरेक राजनीतिक दलका आँखा त्यहाँ पुग्छन् । सत्तारुढ दलको महाधिवेशनका नाममा सरुवा र बढुवा रोक्नेसम्मका काम हुने गरेका छन् ।

सत्तारुढ दल वा तिनका नेताले चाहँदा दरबन्दी सिर्जना गरेर पनि आफ्ना मान्छे बढुवा हुन्छन् । पहुँच नपुग्नेहरूले जतिसुकै गरे पनि बढुवा र अन्य अवसर पाउँदैनन् । सुशील पनि प्रतिष्ठित हेडमाष्टरका छोरा थिए । भूपूआइजिपी ध्रुवबहादुर प्रधान उनका मामा । तर, भनसुन नगरी बसेका उनले न्याय पाउने आश गरे । त्यसले झन्झन् निराश बनाएपछि मृत्यु रोजेको अनुमान निकटस्थहरूको छ ।

एकातिर संगठनभित्र सरकार र राजनीतिक दलको कुदृष्टि छँदैछ । अर्कातिर, प्रहरीभित्रै गरिने विभेदपूर्ण व्यवहारले पनि प्रहरी कर्मचारी हैरान छन् । प्रहरीमा पूरै अवधी जागिर खाएर अवकास हुने अधिकृतलाई मानार्थ बढुवा दिने चलन थिएन ।

तर, आइजिपीको नजरमा परेकै कारण भर्खरै एसपी दर्जामा अनिवार्य अवकास पाएका सुदीप राजभण्डारीले एसएसपीको फुली लगाए । उनी पनि सुशील नियुक्त भएकै व्याचका इन्स्पेक्टर हुन् । असईमा एक वर्ष जागिर खाएर इन्स्पेक्टर भएका उनी ०७२ फागुन १९ मा एसपीमा बढुवा भएका थिए ।

टिप्पणीहरू