शासकलाई ‘सलाम’ गरेर मोदीका दूत स्वदेश फर्किए

शासकलाई ‘सलाम’ गरेर मोदीका दूत स्वदेश फर्किए

भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगला छिमेकी राष्ट्र म्यान्मारको भ्रमण सकेर नयाँदिल्ली फर्किएका छन् । भारतको तर्फबाट म्यान्मारमा सैन्य ‘कू’ पछिको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । गत फेब्रुअरीमा म्यान्मार सेनाले प्रजातान्त्रिक सरकार अपदस्थ गरी राज्य–सल्लाहकार आङ सान सुकीलगायत राजनीतिक नेतृत्वलाई नजरबन्दमा राखेको छ ।

त्यहाँको सेनाले म्यान्मारको राज्यसत्ता आफ्नो कब्जामा लिएर क्रुरता प्रदर्शन गरिरहेको छ । म्यान्मार भ्रमणका क्रममा भारतीय विदेश सचिव श्रृंगलाले सत्तारुढ सैन्य परिषद्का उच्च व्यक्तिहरूसँग भेटवार्ता गरेका छन् । मानवीय सहायता, सुरक्षा, म्यान्मार–भारत सीमा र पछिल्लो राजनीतिक अवस्थाबारे पनि सचिव श्रृंगलाले संवाद गरेको भारतीय विदेश मन्त्रालयको दाबी छ ।

भारतको म्यान्मारसँग झण्डै १६ सय ४० किलोमिटर लामो सीमा जोडिएको छ । सैन्य ‘कू’ यता मणिपुर र नागाल्याण्ड हुँदै हजारौँ वर्मेलीहरू शरणका लागि भारत छिरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लोपटक ती राज्यहरूमा भइरहेको चरमपन्थी गतिविधिबाट भारत चिन्तित देखिएको छ ।

तर रणनीतिक दृष्टिकोणले म्यान्मार भारतका लागि धेरै महत्वपूर्ण छ । चर्चित वर्मेली नेतृ सुकीलाई एक स्थानीय अदालतले सैन्य सरकारविरुद्ध प्रदर्शन भड्काएको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ । उनी यतिबेला नजरबन्दसँगै सैन्य जेलमा छिन् । लगतै, म्यान्मार सैन्य अदालतको अराजनीतिक कदमप्रति भारत चिन्तित रहेको बताइन्छ ।

म्यान्मार र भारतबीचको सम्बन्ध शताब्दीयौं पुरानो हो । बुद्ध धर्म दुई देशको दीगो सम्बन्धका लागि बलियो बन्धन बनेको छ । म्यान्मार र भारत दुबैको समाज र संस्कृतिमा बुद्ध धर्मको गहिरो छाप प्रष्टसँग देखिन्छ ।

सन् १९४८ मा बेलायती शासनको अन्त्य भएपछि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । म्यान्मार अर्थात् तत्कालीन वर्मा ब्रिटिश शासनकालमा ‘ब्रिटिश–भारत’ को एक प्रान्तजस्तै मानिन्थ्यो । जसका कारण यी दुई मुलुकबीचको सम्बन्ध निकै बलियो रहेको जनविश्वास रहँदै आएको छ ।

टिप्पणीहरू