नेपालका अध्यक्ष कमरेडहरूको ‘कल्ट’ क्रेज

नेपालका अध्यक्ष कमरेडहरूको ‘कल्ट’ क्रेज

– विराट अनुपम

एकपटक नेकपा एक हुँदाको चर्चित खबर यस्तो थियो– बैठकमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर आतंक भयो भनेर केन्द्रीय सदस्य राजेन्द्र राईले आपत्ति जनाएको, आपत्तिपछि तस्बिर हटाइएको । नेकपा दुई अध्यक्षको बिर्ता हैन भन्ने अर्थमा उनले गरेको विरोधले धेरै मिडिया खपत पायो ।

राजेन्द्र राईको हाइहाइ भयो । त्यो घटनाको केही वर्षपछि नेकपा अदालती र आन्तरिक दुवै कारणले फुट्यो । फुटेर एमाले र माओवादी भयो । एमालेमा पनि संस्थापन र माधव नेपाल पक्षको दुई धार भयो । यसै क्रममा माधव पक्षले अखिल फोर्स खोल्यो । उद्घाटन माधव नेपाल आफँैले गरे ।

एमाले संस्थापनलाई काउण्टर दिन खोलिएको अखिल फोर्स बन्दा मञ्चमा उपस्थित सबैको टाउकामा रातो फेटा बाँधिएको थियो । फेटामा ‘माधव नेपाल जिन्दावाद’ लेखिएको थियो । भोजपुरका राजेन्द्र राईकै गृह जिल्लाका सुदेश चापागाईंले त्यसको अगुवाइ गरेका थिए ।

तर, त्यसरी ‘माधव नेपाल जिन्दावाद’को विरोध राजेन्द्र राईले गरेको कतै सुनिएन । नेकपा हुँदा ओली र प्रचण्डको व्यक्तिवाद हाबी भएकोमा खुब विरोध गरेका राईले माधव नेपालको उदाउँदो व्यक्तिवादको विरोध गरेनन् । अहिले एमालेबाट माधव नेपाल अलग भएर नेकपा एसको अध्यक्ष छन् । कार्यक्रममा माधव नेपालको तस्बिर त्यत्तिकै हाबी हुन्छ जत्तिको हाबी नेकपा कार्यक्रममा ओली र प्रचण्डको हुन्थ्यो ।

रामकुमारी झाँक्रीको कथा उस्तै छ । उनलाई केपी शर्मा ओली समर्थकले भन्ने गरेको ‘बा’ प्रति बडो आपत्ति छ । तर, आफ्ना समर्थक युवाले भन्ने ‘दिदी’मा बडो सन्तुष्टि छ । उनले आफ्नो ट्विटर ह्याण्डलमै दिदी जोडेकी छन् ।

केपी ओलीले भन्दै आएका छन्– नेकपाको मत उनकै कारण आएको हो । जितेको सबै जश आफैँँ लिन खोजेका उनले हारेको अपजसको स्वामित्व लिएको भने पाइँदैन । प्रचण्ड र माधव नेपालको राजनीतिक शक्तिलाई आफूले लाइदिएको जुँगा भन्छन् ।

प्रचण्डले आफूलाई एमाले नेताहरूले मदन भण्डारी भेटिएको भनेको देखि, कांग्रेस समर्थकमाझ गिरिजाप्रसादले आफूलाई देशको जिम्मेवारी दिएकोदेखि लेनिन, माओ र प्रचण्ड एकपटक मात्रै जन्मने दाबी गर्छन् । माधव नेपालले आफू नेता भएको र आफैँँले एमाले बनाएको दाबी गरेका कुराको भिडियो क्लिप्स् व्यापकै छन् ।

अंग्रेजीमा एक शब्द छ ‘कल्ट’ । कल्ट भनेको एक हिसाबले देवत्वकरण हो । नेपाली कमरेडमा कल्ट आतंक छ । आफ्नो कल्ट बनाउन आफँै सक्रिय हुने वा सक्रिय भएकाहरूलाई धाप मार्ने प्रथा व्याप्त छ । रोचक कुराचाहिँ मदन भण्डारीको रहस्यमय मृत्युपछि संसद्मा बोल्दा मनमोहन अधिकारीले मदन राम्रो नेपाली नेता भए पनि उनको कल्ट भने बनाउन नहुने बताएका थिए ।

संयोगवश अहिले मदन र मनमोहन दुवैको कल्ट बनेको छ । एमालेको दशौँ महाधिवेशनमा मदन र मनमोहन कल्ट चल्यो । गीतमै मदन–आश्रितको विरासत र मनमोहन अधिकारीको आशिष पाएको भनिएको थियो ।

यसरी नेपालका मुख्य तीन कम्युनिष्ट दाबी गर्ने पार्टी अध्यक्षहरूको कल्ट मोह देखिने गरी छ । उसो त कल्टको प्रचलन नेपालमा मात्रै हैन, कम्युनिष्ट पार्टीमा मात्रै हैन । सबैतिर कल्ट प्रेम देखिन्छ । नेपालकै कुरा गर्दा कांग्रेसमा बीपी कोइरालादेखि गणेशमान सिंहसम्मको कल्ट छ ।

छिमेकी देशको कुरा गर्दा भारतीय सत्ताधारी पार्टीमा नरेन्द्र मोदीको कल्ट छ । चीनमा सि चिनफिङको कल्ट छ । बाँकी बिरासत र वंशज कुरामा खास महत्व राख्ने भारतदेखि पाकिस्तान, बंगलादेश हुँदै श्रीलंकासम्म कल्टको अभ्यास देखिन्छ ।

नेपाली कमरेडहरूको कल्टको अभ्यास र अभिव्यक्ति गज्जब छन् । आफ्नो कल्टको जगेर्ना गर्ने तर अरुको कल्टको विरोध गर्ने चलन देखिन्छ । उदाहरणका लागि केपी शर्मा ओलीको तस्बिरको कटआउट प्रतिमा बनाएर उभ्याउँदा र त्यसमा धेरैले तस्बिर लिँदा प्रचण्डले तिखो प्रहार गरे ।

ओलीलाई देवत्व गरेको भनेर धेरै भाषण गरे । एमाले पार्टी नभएर ओलीको कम्पनी भएको खुलेआम भन्दै हिँडे । अहिले प्रचण्डले त्यही अभ्यास आफ्नो आठौँ महाधिवेशनमा लागू गरेका छन् । उनका कटआउट प्रतिमाको तस्बिर सामाजिक सञ्जालमा व्यापक छन् । यसलाई अनलाइन खबरकी बिनु सुवेदीले सटिक टिप्पणी गर्दै ट्विटरमा लेखेकी छन्, ‘प्रचण्डको ओलीकरण ।’

स्वयं माओवादी नेतालाई पनि यस कुरामा चित्त बुझेको देखिन्न । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोले प्रचण्डलाई फुर्काउँदै लेखेका छन्, ‘यो माओवादी संस्कृति होइन र अध्यक्ष क. प्रचण्डको चाहना पनि होइन ।’ आङ्बोले भनेको संस्कृति होइन भन्ने माओवादीमै जोडिएका नेताहरूको भनाइले आफैँँ काट्छ ।

हिसिला यमिले आफ्नो पुस्तकमा प्रचण्डले आफ्नो देवत्वकरण गर्न प्रचण्डपथ ल्याएको र आफ्ना समर्थकलाई पार्टीका बैठकमा उनको भनाइ साभार गर्न र तस्बिर राख्न उर्दी जारी गरेको लेखेकी छन्। केही समयअगाडि मात्रै देवेन्द्र पौडेलले प्रचण्डपथ पुनः आवश्यक भएको सार्वजनिक रुपमै बताएका थिए । केपी ओली आजीवन प्रधानमन्त्री हुनुपर्छ भन्ने ऐन महर शैलीकै झल्को पौडेलले दिएर यी दुई पार्टीमा कल्टको उपस्थिति कस्तो छ भन्ने संकेत गरे ।

केपी ओलीले माओवादीमा प्रचण्डलाई कसैले चुनावी चुनौती दिन नसकेको भन्दै माओवादी पार्टी लोकतान्त्रिक नभएको दाबी गरिरहे । एमालेको दशाँै महाधिवेशनमा भने उनी आफैँं प्रचण्डकरण हुन खोजे । उनले जे नाम भने त्यही नाममा सबैले सहमति जनाए ।

फरक मत राख्नेलाई एमालेका महाधिवेशन प्रतिनिधिले भाउ दिएनन्, हराए । यसरी एकअर्काको पार्टीको कल्टको विरोध गरेका ओली र प्रचण्डले एकअर्काको अभ्यास भने साँटासाट गरेका छन् ।

माधव नेपालले नेकपा हुँदादेखि पछि एमालेमा हुन्जेल विधिको कुरा गरे । एक व्यक्ति एक पदको कुरा गरे । कल्टको विरोध गरे । तर, जब उनी नेकपा एसको अध्यक्ष भए, आफैँँ संसदीय दलको नेता पनि भए । आफैँँले छानेर नेताहरू बनाए । आफ्नो तस्बिर भाइरल गराए ।

यी सबै उदाहरणले के देखिन्छ भने नेपाली अध्यक्ष कमरेडहरूलाई कल्ट मन पर्छ । तर, अरुको हैन आफ्नो । पार्टीमा एकछत्र राज मन पर्छ । तर, अरुको हैन आफ्नो ।

टिप्पणीहरू