आगो ताप्दा सतर्क बनौः स्वास्थ्य मन्त्रालय

आगो ताप्दा सतर्क बनौः स्वास्थ्य मन्त्रालय

पछिल्लो केही दिनयता बढेको जाडो छल्न अधिकांशले आगो र विद्युतीय उपकरणको प्रयोग गरेको पाइन्छ । कोठालाई न्यानो बनाउन आगो ताप्ने, हिटर बाल्ने र तातो पानीको निम्ति गिजरको प्रयोग गर्दा सावधानी अपनाएको पाइएको छ ।

यसैलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता उपकरण प्रयोग गर्दा सावधानी अपनाउन अपिल गरेको छ । कोठालाई न्यानो बनाउने नाममा आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्दा दुःखद् घटना भएकाले सावधानी अपनाउन अपिल गरिएको हो ।

हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न मन्त्रालयले भनेको छ । साथै, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न अनुरोध गरिएको छ ।

यसैगरी, मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउन सुचित गराएको छ ।

मन्त्रालयले गिजरको मुख्य भागलाई स्नानगृह बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म स्नानगृहमा नबस्न पनि आग्रह गरेको छ ।

टिप्पणीहरू