आज पनि झापा र मोरङमा ब्राउनसुगर कारोबारी समातिए

आज पनि झापा र मोरङमा ब्राउनसुगर कारोबारी समातिए

प्रदेश नम्बर १ को मोरङ र झापामा लागुऔषधका तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–९ का २२ वर्षीय निसान चौधरी र १२ का २८ वर्षीय दिवश तामाङ छन । दुबैलाई विराटनगर–१४ बाट प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

हिजो राति ९ बजे सीआरभी जतुवाको प्रहरी टोलीले दुबैलाई प्रदेश १–०२–०४६ प ११८७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । चेक जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार निसान चौधरीले ज्याकेटको गोजीमा ३ ग्राम ७ मिलिग्राम उक्त लागुपदार्थ लुकाएका थिए । ब्राउनुसुगर फेला परेसँगै मोटरसाइकल चालक दिवश तामाङसमेत गिरफ्तार परेका हुन् ।

त्यसैगरी झापाको दमक नगरपालिका–९ बाट पनि ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगञ्ज घर भएका र हाल दमक नगरपालिका–४ मा डेरा गरी बस्ने ३४ वर्षका मोहमद इस्ताका हुन् ।

हिजो इलाका प्रहरी कार्यालय दमकले चेकजाँच गर्ने क्रममा उनले लगाएको पाइण्टको खल्तिमा २ ग्राम ब्राउनसुगर, नगद २ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल फेला परेको हो । उनलाई थप अनुसन्धानका लागि झापा अदालतबाट म्याद थप प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू