चौतारीभित्र ’बा’ भन्दै बालकोट धाउने क–कसले मार्लान् बाजी ?

चौतारीभित्र ’बा’ भन्दै बालकोट धाउने क–कसले मार्लान् बाजी ?

नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको मिति तोकिएसँगै पदका लागि पत्रकार नेताहरू ‘बा’ निवास बालकोटको दौडधुपमा लागेका छन् ।

गत सोमबार र मंगलबार लुम्बिनीमा सम्पन्न चौतारीको केन्द्रीय कमिटी बैठकले आगामी माघ २२ र २३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

चौतारीको आगामी नेतृत्वका लागि आफूलाई ’बा’ को प्रचारक दाबी गर्दै आएका तर ’बा’ ले वास्तै नगर्नेहरु दोहोरिने सम्भावना कम हुँदै गएको एमालेका एक केन्द्रीय सदस्यले बताएका छन् । हालको नेतृत्वमा रहेकाहरुमध्ये कतिपय फेरि चौतारीमा नफर्किने पक्का–पक्की भएपछि नयाँ नेतृत्वका लागि सरगर्मी शुरू भएको हो ।

एमालेको दशौं महाधिवेशनमा हालका महासचिव शंकर पोखरेलविरूध्द मैदानमै उत्रिएका उनीहरु अध्यक्ष केपी शर्मा ओली र पोखरेलको सूचीबाटै ‘आउट’ भएको चौतारी स्रोतको दाबी छ । तीमध्ये केही महासचिव पोखरेललाई फकाउन पछि लागेर केही दिनअघि दाङ पुगे पनि वास्तै नभएपछि निराश हुँदै राजधानी फर्केको चौतारीकै हर्ताकर्ताहरुले बताएका छन् ।

आफूहरुलाई एक कार्यकाल दोहोर्याइदिने इच्छा व्यक्त गर्दै नेताको निवास धाउँदा कुनै परिणाम ननिस्कने देखिएपछि उनीहरु निराश बनेका हुन् । उता चौतारीका अन्य पदाधिकारीले भने आफ्नो बढुवाका लागि उपयुक्त अवसरको खोजी गरिरहेको देखिन्छ ।

एमालेबाट चौतारीको इञ्चार्ज पाएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ चौतारीकर्मीको भावना बुझेर नयाँ नेतृत्वका लागि हस्तक्षेप नगर्ने नीतिमा अडिग देखिनुभएको छ ।

सहमतिको प्रयासका लागि वर्तमान अध्यक्ष गणेश बस्नेत,पूर्वअध्यक्ष राजेन्द्र अर्याल,पूर्वमहासचिव प्रमोद दाहाल, पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, अहिलेका वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतबाट अध्यक्ष चयन हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

केन्द्रीय सदस्य माधवप्रसाद तिवारीले यसअघि नै सामाजिक सञ्जालबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा वर्तमान महिला उपाध्यक्ष टीका विष्ट, पत्रकार दीपक पाण्डेलगायतले जिम्मेवारी पाउने अवस्था बन्दै गएको चौतारी स्रोतले बताएको छ ।

निर्वाचन भएमा महासचिवमा वर्तमान उपमहासचिव हीरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्य, उपत्यका प्रदेशका इञ्चार्ज प्रकाश सिलवाल, पूर्व केन्द्रीय सदस्य चेतन अधिकारीलगायतको प्रतिस्पर्धा हुने चर्चा छ । कोषाध्यक्षमा प्रतिष्ठान इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट इञ्चार्ज रामेश्वर कार्की, केन्द्रीय सदस्य विष्णु तारुके, मोहराज शर्मालाई पनि अघि सारिने जनाइएको छ ।

चौतारीले महाधिवेशनमा विधान परिवर्तन गर्ने भएकाले कति पदाधिकारी हुने र पदाधिकारीमा उम्मेदवारीका लागि कस्तो मापदण्ड हुने भन्ने आधारमा उम्मेदवारहरुको आकांक्षा व्यक्त भएकाले पनि अहिले नै सबैले मुख खोलेका छैनन् ।

केन्द्रीय सदस्यहरूका लागि महाधिवेशन प्रवेश शुल्क नै प्रतिव्यक्ति पाँच हजार रुपैयाँ तोकेको चौतारीले पदाधिकारी उम्मेदवारका लागि महँगो शुल्क तोकेमा कतिपय उम्मेदवार पछि हट्न सक्ने आकलन गरिएको छ ।

निर्वाचन नभई सकेसम्म सहमतिमा नेतृत्व चयनको परिपाटी चलाएको माउ पार्टी एमालेले जनसंगठनहरुको महाधिवेशन आगामी फागुन मसान्तभित्र गर्न निर्देशन दिएपछि सबैभन्दा पहिले चौतारीले महाधिवेशन तोकेको हो ।

२०७३ जेठमा भएको चौतारीको आठौँ महाधिवेशनबाट निर्वाचित वर्तमान नेतृत्वको कार्यकाल यसअघि नै सकिएको थियो । तर पार्टी एकता र कोभिड–१९ का कारण अहिलेसम्म मिति सर्दै आएको हो ।

टिप्पणीहरू