एमालेमा अध्यक्षका लागि चार नेताको दौडादौड

एमालेमा अध्यक्षका लागि चार नेताको दौडादौड

नेकपा एमाले ललितपुर जिल्ला अध्यक्षका लागि चार नेता मैदानमा उत्रिएका छन् । जिल्ला सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला सहसंयोजक प्रेमभक्त महर्जन अध्यक्षका लागि दौडधुपमा देखिएका हुन् ।

आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सांसद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचनमा पराजित भएका थिए । तत्कालीन बुङमती गाविस अध्यक्षसमेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सहसंयोजक नियुक्त भएका हुन् ।

प्रेमभक्त महर्जन भने एमाले विभाजित पश्चात् माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेपछि एकीकृतमा खुलेका थिए । तर केही समयपछि एमालेमै फर्केका हुन् । एमाले मुख्यालयले सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा जोडबल गरिरहेको छ ।

ललितपुर अधिवेशनमा ५ सय ८० जना प्रतिनिधि हुने छन् । यसमा सबै जनसंगठनबाट एक–एक जना मनोनयन भने हुन बाँकी छ ।

पछिल्लो प्रतिनिधि चयनको आँकडा अनुसार ललितपुरको क्षेत्र नम्बर १ मा चेतनाथ सञ्जेल बलिला छन् भने २ नम्बर र ३ नम्बर क्षेत्रमा आचार्यको पकड छ । आचार्यले २०७० सालको जिल्ला अधिवेशनमा सचिवको दाबी छाडेर उपसचिवमा उम्मेदवारी दिएका थिए । त्यसबेला संविधानसभा निर्वाचनका कारण पद मिलानमा कार्यालय सचिवमा चित्त बुझाउँदै उम्मेदवारी फिर्ता गरेका थिए ।

२०५४ देखि २०६४ सालसम्म विद्यार्थी संगठनमा रहेका उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा पराजित भएपछि जिल्ला राजनीतिमा सक्रिय भएका हुन् । स्रोतका अनुसार जीवन खड्का र मधुसुधन पौडेल पनि सर्वसम्मत अध्यक्षको दौडधुपमा छन् ।

पुस २३ गते ललितपुरको मंगलबजारमा जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको एमाले ललितपुरले जानकारी दिएको छ ।

टिप्पणीहरू