टानभित्रको चुनावी सरगर्मी

टानभित्रको चुनावी सरगर्मी

पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियन अफ नेपाल (टान) को आगामी माघ तेस्रो साता हुने निर्वाचनको सरगर्मी पुसको जाडोमा समेत देखिएको छ । अरुले घोषणा नगर्दै अध्यक्षको निम्ति नीलहरी बाँस्तोलाले उम्मेदवारीको घोषणा गरेका छन् ।

टानको पूर्व उपाध्यक्षसमेत रहेका बाँस्तोलाले आगामी माघ २८ गते हुन लागेको ४३ औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

एसिएन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इम्पाेर्ट, कार्गो, हस्तकला निर्यातलगायतका उद्योग व्यवसायमा लगानी गरेका पर्यटन व्यवसायी बाँस्तोलाले एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएको बताएका छन् ।

आफू २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्णरुपमा लागेकाले अध्यक्षको दाबी गरेको उनले बताएका छन् । सोलुखुम्बु निवासी बाँस्तोलाले सन् २००२ मा टानको साधारण सदस्य लिएको र सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित भएर कार्य गरिसकेकाले यो पटक अध्यक्षको प्रमुख दाबेदार रहेको बताएका छन् ।

बाँस्तोला बाहेक अरुले डेढ महिनापछि हुने निर्वाचनको निम्ति अहिले नै उम्मेदवारी घोषणा गरेका छैनन् । मुख्यगरी आगामी अध्यक्षको लागि राजेन्द्र सापकोटा पनि चर्चामा रहेका छन् । उनी पर्यनट बोर्डका पूर्वसदस्य समेत हुन् ।

औपचारिक रुपमा घोषणा नगरे पनि दामोदर ढकाल, चोलेन्द्र बहादुर कार्की, बोधराज भण्डारी पनि आगामी कार्यकालको निम्ति अध्यक्ष पदको आकांक्षी देखिएको बताइन्छ । ढकाल अहिले टानमा सचिव छन् भने कार्की प्रथम उपाध्यक्षको जिम्मेवारीमा छन् ।

टिप्पणीहरू