विद्यालय शिक्षकविहीन, अभिभावकहरूले सिडिओ गुहार्न थाले

विद्यालय शिक्षकविहीन, अभिभावकहरूले सिडिओ गुहार्न थाले

एक महिनादेखि स्थानीय विद्यालय शिक्षकविहीन भएपछि अर्घाखाँची मालारानी गाउँपालिका–१ का अभिभावकहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् ।

मालारानी गाउँपालिका–९ गोखुङ्गा, कालुकादीपस्थित महादेव आधारभुत विद्यालय एक महिनादेखि शिक्षकविहीन बनेको र तत्काल शिक्षकको व्यवस्थापन गर्न स्थानीय दलका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारीसमक्ष हारगुहार गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विकसहितका सदस्यहरूले विद्यालयको लेटरप्याडमै निवेदन लेखेर प्रजिअलाई शिक्षक खोजिदिन अनुरोध गरेका छन् ।एउटा मात्रै दरबन्दी भएको र विद्यालयले आवश्यक प्रक्रिया पूरा गरी नियुक्त गरेका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिको सहमतिबेगर हाजिर भएको ४५ दिनभित्र अन्यत्र सरुवा गरी पालिकाले विद्यालयलाई शिक्षकविहीन बनाएको माओवादी केन्द्रका पालिका अध्यक्ष एवम् स्थानीय अगुवा पदम क्षेत्रीले आरोप लगाएका छन् ।

सोमबार प्रजिअलाई शिक्षक खोजिदिन आग्रह गरिएको र भोलिपल्ट पालिकामा ‘डेलिगेसन’ गए पनि सुनुवाई नभएको क्षेत्रीले बताए । ‘शिक्षक सरुवा हुन दुई पक्षको सहमति चाहिन्थ्यो तर दुई पक्षको सहमतिबिना नै पालिकाले जबर्जस्ती सरुवा गरेको छ,’ क्षेत्रीले भने ।

तर, क्षेत्रीको आरोप पालिका अध्यक्ष बालकृष्ण आचार्यले इन्कार गर्नुभएको छ । ‘राजनीतिक आस्थाका आधारमा खेल्न खोज्दा साथीहरूले विवेक पुर्याउनु भएन,’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘पालिकाभित्रको शैक्षिक गुणस्तर कायम गर्न हामी प्रतिबद्ध छौं । आज सार्वजनिक बिदा भइहाल्यो भोलि दुबै विद्यालयमा शिक्षक हाजिर हुनुहुनेछ ।’

उहाँले स्थानीयलाई भ्रममा पार्न खोजेको जनाउँदै शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीति गर्न नहुने बताउनु भयो । आचार्यले दुबै विद्यालय पुगेर सबैको सहमतिमा शिक्षक हाजिर गर्ने र शैक्षिक गतिबिधि बढाउने गरी सहमति गरिसकेको जानकारी समेत दिनुभयो ।

टिप्पणीहरू