राजनीतिक र प्रशासनिक नेतृत्वविहीन मन्त्रालय

राजनीतिक र प्रशासनिक नेतृत्वविहीन मन्त्रालय

सिंहदरबारभित्रको एउटा अड्डा राजनीतिक र प्रशासनिक नेतृत्वविहीन अवस्थामा पुगेको छ । यस्तो स्थितिमा पुगेको अड्डा हो सरकारको रक्षा मन्त्रालय । नेपाली काँग्रेसको हालै सम्पन्न १४ औं महाअधिवेशनमा महामन्त्री पदमा पराजीत भएसँगै मन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका थिए । झण्डै दुई सातादेखि राजनीतिक नेतृत्वविहीन भएको रक्षा मन्त्रालय हिजोदेखि प्रशासनिक रुपमा समेत नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

रक्षा सचिवका रुपमा कार्यरत रहेका वेगेन्द्रराज शर्मा पौडेल सचिवको पाँच वर्षे अवधि पूरा गरि घर फर्किएसँगै रक्षा मन्त्रालय राजनीतिक र प्रशासनिक रुपमा नेतृत्वविहीन अवस्थामा पुगेको हो । शर्मा ओली नेतृत्वको सरकारमा अन्याय भुक्तमान गरेका प्रशासक समेत हुन ।

उनी सचिवमा बढुवा भए यता कहिल्यै मन्त्रालयको जिम्मेवारी पाएका थिएनन् । शर्मा सचिवमा बढुवा हुनासाथ तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय प्रशासकमा पदस्थापन भएका थिए । त्यसपछि मध्यपश्चिमाञ्चलबाट पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा भएको हो ।

पोखराबाट उनी प्रधानमन्त्री कार्यालय अन्तर्गतको अस्थायी प्रकृतिको निर्वाचन क्षेत्र निर्धारण आयोगमा सरुवा भए । निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्वाचन आयोगमा सरुवा भएका उनी त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भए । खरिद अनुगमन कार्यालयबाट उनको सरुवा २०७६ भदौमा वित्त आयोगमा गरिएको थियो ।

यसअघि ओली सरकारले ठूलो संख्यामा सचिवको सरुवा गर्दा उनको सरुवा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भयो । तर सरुवापछि सूची नै संशोधन गरी त्यहाँ उनको नाम काटियो र टेकनारायण पाण्डेलाई थमौति गरिएको थियो ।

सचिव बनेको साढे चार वर्षसम्म मन्त्रालयको जिम्मेवारी नपाएका उनी ५ महिनाअघि वर्तमान सरकारले रक्षा सचिवको रुपमा खटाएको थियो । त्यहाँ पुगेको पाँच महिनामै सेवा अवधि (५ वर्ष) पूरा भएका कारण उनी हिजोबाट घर फर्किएका हुन् । उनको अवकाशपछि हिजोदेखि रक्षा मन्त्रालय प्रशासनिक र राजनीतिक रुपमा समेत नेतृत्वविहीन अवस्थामा पुगेको हो । उनीपछि रक्षा मन्त्रालयको निमित्त सचिवका रुपमा बाबुराम अधिकारीलाई तोकिएको छ ।

मन्त्री रिजालले राजीनामा दिएसँगै अहिले रक्षा र अलि पहिलेदेखि उद्योग मन्त्रालय मन्त्री विहीन छ । ती ठाउँमा १४ औं महाअधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापति बन्न सघाएका प्रकाशमान सिंह र विजय गच्छदारका कोटाबाट एक एक जनालाई मन्त्री बनाइने काँग्रेसी वृत्तभित्र चर्चा छ ।

टिप्पणीहरू