वीर अस्पतालको आईसीयुमा ‘एमसीसी’ सम्झौता

वीर अस्पतालको आईसीयुमा ‘एमसीसी’ सम्झौता

राजधानीको वीर अस्पतालको आइसीयुमा सरकारका प्रतिनिधिहरुले एउटा सम्झौता गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको पहल र गृह मन्त्रालयको समन्वयमा अभियन्ता तारा बरालसँग हिजो सम्झौता भएको हो ।

झण्डै डेढ महिनादेखि वीर अस्पतालमा उपचाररत बरालले आईसीयुमा नै अनसन बसेपछि हिजो सम्झौता गर्नुपरेको मन्त्रालय स्रोतले बताएको छ । गत कात्तिक महिनामा अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्धमा आवाज बुलन्द पार्दै आएकी बराल र उनको समूहले कात्तिक अन्ततिर प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको समर्थनमा नाराबाजी गरेको थियो ।

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले राणाको बिरोधमा नाराबाजी र बिरोध कार्यक्रम गरेको बखत बराल कानुन व्यवसायीहरुमाथि नै जाइ लागेकी थिइन् । उक्त समयमा पुरुष कानुन व्यवसायीले आफूमाथि हातपात गरेको आरोप लगाउँदै बरालले उनीहरुलाई कारबाहीको माग राखेकी हुन् ।

एमसीसीको बिरोध र राणाको समर्थनमा नारा जुलुस गर्दै आएकी बराल कात्तिक मसान्तदेखि झण्डै एक साता बेखबर भएकी थिइन् । मंसिर पहिलो साता उनी भाडामा बस्दै आएको बिजुलीबजारको घरबाट स्वास्थ्य अवस्था नाजुक भएको भन्दै प्रहरीले वीर अस्पतालको इमर्जेन्सीमा पुर्याएको थियो । झण्डै एक सातासम्म भाडामा बसेको घरभित्रै गोप्य अनसन बसेर उनले शरीर थिलथिलो बनाएको बराल पक्षधरहरुको भनाइ छ ।

वीर अस्पतालको इमर्जेन्सीमा उपचाररत रहँदा समेत उनले माग पूरा गर्नुपर्ने भन्दै अनसन कायम राखेपछि प्रहरी र अस्पताल प्रशासनले उनलाई आईसीयुमा सारेको थियो । झण्डै एक महिनादेखि त्यहाँ पनि अनसन जारी राखेकाले हिजो सम्झौता गर्नुपरेको अस्पताल स्रोतले बताएको छ ।

तारा बरालसँग आइसीयुमा सम्झौता गर्ने क्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी, सामाजिक अभियन्ता, प्राध्यापक, स्वास्थ्यकर्मीलगायत सरोकारपक्ष सबैको उपस्थिति रहेको बताइएको छ । उनको मागबारे सात दिनभित्र बृहत अन्तरक्रिया गर्न वातावरण निर्माण गर्ने सहमति भएपछि बरालले हिजैदेखि आमरण अनसन तोडेको बताइएको छ ।

गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाको रोहबरमा भएको सम्झौतामा बरालले हिजाको सहमति कार्यान्वयन नभएमा फेरि अनसन बस्ने भन्दै शर्तसहित हस्ताक्षर गरेकी छन् ।

टिप्पणीहरू