खेलकुद मन्त्री विमानस्थलमा

खेलकुद मन्त्री विमानस्थलमा

दोस्रो पटक एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट आउँदै गरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहित नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केको टोली पुगेको हो ।

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा भर्खरै स्वागत तथा सम्मान गरिएको छ ।

विमानस्थलमा खेलाडीहरुको स्वागत गर्दै मन्त्री गहतराजले अर्को प्रतियोगिताको लागि तयार भएर बस्न आग्रह गर्नुभएको छ । प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर दोस्रो पटक उपाधि जितेको हो । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।

हिजो मात्रै मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई पाँच, प्रशिक्षकलाई तीन र अफिसियललाई दुई लाख रुपैयाँ नगद दिने निर्णय गरेको थियो ।

टिप्पणीहरू