पेस्तोल बेच्ने भारतीयको जिल्ला जिल्लामा नेटवर्क

पेस्तोल बेच्ने भारतीयको जिल्ला जिल्लामा नेटवर्क

भारतसँग सिमाना जोडिएका तराईका जिल्लामा आपराधिक घटना बढिरहेका बेला सोमबार हतियारको अवैध कारोवारमा संलग्न दुई भारतीय नागरिक पेस्तोलसहित समातिएका छन् । सुनसरीको कोशी गाउँपालिका–१ स्थित बी.एस. होटलबाट प्रहरीले दुई भारतीय युवालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार अररिया, बासमटियाका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षका हासिम अन्सारी हुन् । उनीहरुलाई हिजो जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु पहिलेदेखि नै हातहतियारको कारोवारमा संलग्न रहेको खुलेको छ । नेपालमा आएर हातहतियारका ग्राहक खोज्ने र अर्डर अनुसार सप्लाई गर्ने काममा उनीहरुको संलग्नता भेटिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार उनी बेला बखत ग्राहक खोज्न नेपाल आउने गर्थे । तर, नेपालमा कसकोमा हतियार पुर्याउँथे भन्ने विषय भने अझै खुलेको छैन । पक्राउ परेका अन्सारी र रामका साथबाट होटलको बेडमुनी लुकाइएको अवस्थामा पेस्तोल दुई थान, म्याग्जिन चार थान, ७ दशमलब ६५ एमएम गोली तीन राउण्ड बरामद भएको थियो भने मोबाइल १ थान, बीआर ५० के ०१४९ नम्बरको मोटरसाइकल र भारतीय रुपैयाँ दुई हजारसमेत बरामद भएको छ ।

उनीहरुले नेपालमा कसलाई पेस्तोल बेच्न लागेका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको र पुष्टि हुन केही समय लाग्न सक्ने थापाले जनआस्थासँगको कुराकानीमा बताउनुभएको छ । खुल्ला सीमाना भएकाले लागुऔषध तथा हातहतियार ओसारपसारका घटना बढ्दै गएको र त्यसले सुरक्षा चुनौती बढाएको पनि उहाँले स्वीकार्नुभयो ।

टिप्पणीहरू