बाँदर सधैं बाठो नभए पो बेस

बाँदर सधैं बाठो नभए पो बेस

– कौशल चेम्जोङ

राजा महेन्द्रलाई सम्झने दिनका रुपमा पुस १ गते थियो, जुन दिन उनले संसदीय व्यवस्थाको घाँटी निचोरेर ‘सवल राजतन्त्र अर्थात् निर्दलीय प्रजातन्त्र’को जरो गाड्ने प्रयास गरे । प्रजातन्त्रका पक्षधर प्रजाहरूले राजा महेन्द्रको त्यस कदमलाई रुचाएनन् । बरु जेलनेल र निर्वासन खेप्न राजी भए । प्रजाहरूमा प्रजातन्त्रप्रतिको त्यही निष्ठाको कारण गाउँफर्क अभियानले हावा खायो, २०३६ सालको जनमत संग्रह भयो । तर जनमत संग्रहका नाममा झेली खेल भएपछि ३० वर्ष नपुग्दै विकल्परहित ठानिएको निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो ।

इतिहास साक्षी छ, नेपाली जहानियाँ राणा शासनको ‘रैती’को दाम्लो चुँडालेर ‘प्रजा’ भए, प्रजाको टीका पुछेर ‘जनता’ भए र जनताको टीकोलाई धोएर ‘नागरिक’ भएका हुन । नेपाली नागरिक हुनुमा गर्व गर्नेहरूले राजा महेन्द्रको पुस १, २०१७ को कदमलाई कालो दिनको रुपमा सम्झिने गरेका छन् । त्यसलाई पनि माथ गर्दै जनताको छोरा भनिएका तत्कालीन दुई तिहाई जनमतका धनी खड्गप्रसाद शर्मा ओलीलाई जनताले पुस ५ को दिन कालो बिरालोले बाटो काटेको दिनसँग जोडेर सम्झन शुरु गरेका छन् ।

केपी ओलीको यो कदम राजा महेन्द्रको पुस १ को भन्दा बढी महत्वाकांक्षी र ‘नवतानाशाह’ बन्ने थियो । त्यसैले पुस ५ गते कालो दिनका रुपमा इतिहासमा दर्ज भएको हो । के का लागि ओलीले संसद विघटन गरे ? जबकि उनीसँग इतिहासमै पहिलोपल्ट दुई तिहाईको जनमत थियो । योभन्दा बढी ‘जनमत’ को आशा गर्ने नेता कि त ‘खुस्केट’ हुन्छ कि ‘नवतानाशाह’ बन्ने सपनामा रमाएको हुन्छ । के बामालेले अब पनि माग्ने दुई तिहाई (फुइँतिहाइ) नै हो ?

आफू नेतृत्वमा हुने, डाडुपन्यु सबै आफ्नै हातमा हुने अनि अरुले काम गर्न दिएनन् भन्ने गुनासो कि त ‘मुतुवा’ले गर्छ वा त आफ्नो असक्षमता वा नालायकीपन लुकाउने गेजुुले गर्छ । शक्ति पृथकीकरणको सिद्धान्तलाई धोती लगाउँदै शक्ति अनि सत्ताको डंका पिट्नेले एक पटक संसद विघटनको निर्णय गलत र प्रतिगमनोन्मुख थियो भन्दै जान्दाजान्दै पुनः दोस्रो संसद विघटन गर्ने काम कि त ‘हठी’ले गर्छ वा त ‘सत्ताको मात’ लागेकाले गर्छ ।

आफैंले दुई पटकसम्म विघटन गर्न खोजेको संसदमा गएर नानाभाँती कुरा गर्ने काम कि त लाज पचेका ‘नकच्चरो’ले गर्छ वा त ‘गतिछाडा’ले गर्छ ।आफुभन्दा अलग विचार राख्नेहरूलाई धुस्नो पार्ने कामको बिँडो उठाउने कुरा कि त भुसतिघ्रेले गर्छ वा त इदिअमिनले गर्छ । हो, विरोधीको खोपडीलाई गमला बनाएर फूल फुलाउने ‘बा’ को इदिअमिने सपनाले यतिखेर बालुवाटारदेखि बालकोटको बार्दलीको भव्य यात्रा तय गरिसकेको छ । त्यसैले त पुस ५ बामाले अर्थात् ओलीको पर्याय बन्न पुगेको छ ।

आफुभन्दा अरुलाई मान्छे नगन्ने कुरा कि त ‘मनोरोगी’ले गर्छ वा त ‘भङ्गेरेपित्ते’ले गर्छ । हो, यसबेला ‘बामाले’भित्र एमालेहरूको हुर्मत लिइएको बेला एउटा उखान टुक्का सम्झिरहेको छु, ‘साउँको भन्दा ब्याजको माया लाग्दो रहेछ !’ एमालेले कुनै एक ओलीको पौरखले मात्रै यहाँसम्मको बाटो तय गरेको होइन । धेरै भुइँमान्छेहरूको कम्युनिष्ट विचारप्रतिको ढृढ आस्था र विश्वासले गर्दा यहाँसम्म पुगेको हो । श्रमजीवी मजदुर किसानहरूको तागतले बनेको हो ।

सबैखाले श्रमजीवीहरूको बृहत्तर हितको लागि राज्यसत्ताको उपयोग गर्नु पर्नेमा सत्तामा पुग्नेबित्तिक्कै ओलीले ‘बा’ बन्ने जुन प्रयास गरे, त्यही विचार नैं, त्यही सोच नैं धेरै भुइँमान्छेका लागि निराश बनाउन पर्याप्त थियो । कम्युनिष्ट नामको कलंक थियो । धेरैलाई सम्झना होला, एक खर्ब २० अर्ब, सेटलाइटबाट बिजुली बत्ती बाँडिने ओलीको आश्वासन, जसले महाकालीलाई भारतको पोल्टामा हाल्न महत्वपूर्ण भूमिका खेलेको थियो सबैलाई बिर्सेर मान्छेबाट भूल हुन्छ भन्दै ओलीलाई राजनेताको रुपमा सपना देख्नेहरू पनि थिए । तर दुर्भाग्य मधौरोले माड खाएन अरु कुरा नै खायो, धुपौरोले धुप बालेन, घरभित्रै आगो बाल्यो र यतिखेर विक्षिप्त मनस्थितिमा बालहठ देखाइरहेको छ, ‘माधव नेपाल गए ठाम, भए ठाम म जान्न ।’

कुरा बुझ्नेहरूको लागि काफी छ, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा सँगै बस्ने ओली मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसदको अवरोध खुलाउन डाकिएको सर्वदलीय बैठकमा किन जाँदैनन् ? किन माधव नेपालको नाम लिन्छन् र बैठकबाट भाग्छन् ? माधव नेपाल त एउटा बहाना मात्रै हो, ओलीको सत्ताको नशा ओर्लिएपछि धरातल थाहा भयो नेपाली नागरिकहरू एमसीसीको विरोधमा छन्, यदि बोली नफेरेर सरकारमा हुँदाको बखत झैं एमसीसी पास गर्ने कुरामात्र उठाउने हो भने बामालेको चोला उठ्छ ।

प्रधानमन्त्री पदमा विराजमान हुँदा ओलीले एमसीसी टेबल नै गर्न नदिएको आरोप सभामुख महरालाई लगाएका थिए । र, सत्ताबाहिर हुँदा ओलीले माधव नेपाललाई तेस्र्याएर एमसीसीमा ‘चतुरोपन’ देखाइरहेका छन् । तर सबैलाई थाहा भएको कुरा हो ‘काग धेरै बाठो भयो भने …खान्छ’ अनि उखानेलाई उखानै थप्न मन लाग्छ, ‘बाँदर धेरै बाठो भयो भने …चेप्टिन्छ ।’

टिप्पणीहरू