भारतीय सीमापुलमा विप्लवको तालाबन्दी

भारतीय सीमापुलमा विप्लवको तालाबन्दी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् ।

भारतको ज्यादतीविरुद्ध उनीहरुले आज बिहान पुलको गेटमा ताला लगाएको नेकपा दार्चुलाका सचिव भरत मल्लले पुष्टि गरेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको उनले बताए ।

एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेका छन् । नाम, नागरिकता नम्बर, पिताको नामलगायत व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिकको खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा दार्चुलाका सदस्य भुवन जोशीले बताए ।

प्रहरीले भने सीमापुलमा तालाबन्दी नगरेको दाबी गरेको छ । सीमापुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक भरतसिंह बोहराको भनाइ छ ।

टिप्पणीहरू