म्यानमारमा सैनिक पत्नीहरु शासकविरुध्द उत्रिए

म्यानमारमा सैनिक पत्नीहरु शासकविरुध्द उत्रिए

म्यान्मारमा ‘जुन्ता’ शासकको क्रुर दमनले नागरिकहरू दिनहुँ आक्रोशित बन्दै गएका छन् । प्रजातन्त्र समर्थकसहित सैनिक परिवारका सदस्यहरूले पनि सेनाको अमानवीय कार्यप्रति असहमति जनाउन थालेका छन् । अनेकौँ धम्कीका बावजुद ‘जुन्ता’ विरूद्ध बोल्ने ‘सैन्य परिवार’ का सदस्यहरूको संख्या बढिरहेको सैनिक स्रोतको दाबी छ ।

प्रजातन्त्र समर्थक एक संस्थाको सामाजिक सञ्जालमा सैनिक पत्नीहरू भेला भएको तस्बिर सार्वजनिक गरिएको छ । सैन्य उच्च नेतृत्वको त्रासले ‘सैनिक–पत्नी’ को पहिचान लुकाएर राखिएको छ ।

‘मेरो पति तानाशाहको गुलाम बनेको देख्दा दुःख लागेको छ । हाम्रा छोराछोरीले आफ्ना बुबालाई घृणा गरेको चाहँदैनन् । हामीहरू जाग्नैपर्छ । उठ्नुपर्छ ।’ तस्बिरसहित यस्तै–यस्तै नाराहरू उल्लेख गरिएको छ ।

म्यान्मारमा सैन्य परिवारका सदस्यहरूले ‘जुन्ता’ विरूद्ध गरेको यो नै दुर्लभ विद्रोह हो । जसका सदस्यहरू गत फेब्रुअरी १ को ‘कू’ पछि प्रायः मौन छन् । जनसत्ता कब्जा गर्ने सैन्य जुन्ताले अझैसम्म राजनीतिक निकाससमेत दिनसकेको छैन । सेनाले शान्तिपूर्ण आन्दोलनमाथि हिंसात्मक दमन भने कायमै राखेको छ ।

‘सैनिकहरू जुन्ता शासनको आदेशमा नागरिकमाथि गोली बर्साइरहेका छन् । निर्दोष युवा–युवतीहरूको हत्या भइरहेको छ । हामीहरू यस्तो कार्यप्रति चिन्तित छौँ,’ नागरिक अवज्ञा आन्दोलनमा सामेल भएकी नाम नखुलाउने शर्तमा एक ‘सैनिक–पत्नी’ ले भनिन्, ‘सैन्य नेताहरूको वर्तमान कार्यले जनता आक्रोशित छन् । उनीहरूले हाम्रो परिवारको जीवन कुनै पनि समयमा नष्ट गर्न सक्छन् ।’

सैनिक सन्तानहरूले मानसिक यातना भोगिरहेका छन् । आफ्नो बुबालाई मानिसहरूले घृणा व्यक्त गरेको उनीहरू बताउँछन् । म्यान्मारका सिपाहीहरूले जनताको सुरक्षा गर्दैनन् । उनीहरू निर्दोष नागरिकलाई मारिरहेका छन् । त्यसैले ‘जुन्ता सत्ता’ को चर्को बिरोध क्रमशः बढिरहेको छ ।

प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गरेका सैनिक–परिवारलाई उच्च अधिकारीहरूले विभिन्न तरिकाले धम्की दिइरहेका छन् । प्रायः ‘सैनिक–पत्नी’ हरूले यो अवस्था सहनु नै पर्नेछ किनभने पतिहरू तत्काल सैन्य सेवाबाट बाहिर निस्कन सक्दैनन् । उनीहरूले सैनिक नेताले जनताप्रति गरेको क्रुरताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

म्यान्मारमा सेनाको कमाण्ड प्रणालीलाई अनुचित रूपमा हेरिन्छ । अमानवीय आदेश र हिजोआज सेनामा थप दमन देखिन्छ । सैनिक जवानहरूले ‘कू’ नरूचाए पनि विद्रोह गर्न सक्ने अवस्थामा भने छैनन् ।

सेवा छाडेर नागरिक अवज्ञा आन्दोलनमा सामेल भएका पूर्वसैन्य–कप्तान न्यू थुटाले ८५ प्रतिशत सैनिकहरू ‘कू’ को विपक्षमा रहेको विश्वास गरेका छन् । ‘मेरो मतलब यो होइन कि सबैजना सेनाको विरुद्ध छन् । सेनाभित्रका ८५ प्रतिशत कर्मचारी भने पक्कै छन् । तर उनीहरूमा जागिर छोड्ने हिम्मत छैन,’ उनले भने, ‘कसैलाई आफ्नो जीवन बर्बाद हुने डर छ । त्यसैले तिनीहरू तटस्थ रहन्छन् ।’

सैनिक–परिवारका अनुसार बम बिष्फोट र आक्रमणको परिणामस्वरूप बढ्दो मृत्युको संख्याले बर्मेली–जनतामा विद्रोहको भावनामा स्वतः वृद्धि भएको छ ।

सुरक्षाका कारणले नाम नखुलाउने सर्तमा एक जना सैनिक अधिकृतकी बहिनीले स्थानीय सञ्चार–माध्यमलाई भनिन्, ‘सेना देशको रक्षामा जुटेको छैन । यसले सत्ता जोगाउनको लागि अनुचित कार्य गर्दै आएको छ । मानिसहरूले एक अर्कालाई मारिरहेका छन् । म्यान्मारका लगभग आधा सैनिकहरू जुन्ता प्रमुख जनरल मिन आङ हेलाइन्ङसँग दुःखी भएको उनको बुझाइ छ ।

कम्पाउण्डमा सँगै बस्ने सैनिक परिवार तथा आफन्तहरू पनि सेनाविरूद्धको आन्दोलनमा सामेल भइरहेका छन् । उनीहरूले कम्पाउण्डमा मासिक बैठक गर्ने गरेका छन् ।

यता सैन्य ‘जुन्ता’ सरकारका प्रवक्ता जाव मिन टुनले सेनाभित्रको असन्तुष्टिको रिपोर्टलाई अस्वीकार गरेका छन् ।

टिप्पणीहरू