क्यामरा देखाउँदै फेसबुकमार्फत् ठग्ने समातिए

क्यामरा देखाउँदै फेसबुकमार्फत् ठग्ने समातिए

सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरेर ठगी गर्ने एक युवा समातिएका छन् । विभिन्न व्यक्तिको नाममा फेसबुक पेज बनाएर डिएसएलआर क्यामरा बिक्रीमाको आकर्षक विज्ञापन तयार गरेर अनलाइन मार्फत् ठगी गरेको आरोपमा रमेश थारुलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका १० का २३ वर्षीय थारुले विभिन्न व्यक्तिको नागरिकताकोको दुरुपयोग गरि फेसबुक पेज बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले फेसबुक पेजमा क्यानन ८० मोडलको क्यामरा बिक्रीमा रहेको भन्दै आइएमी–पे र इसेवा मार्फत् अनलाइनबाट रकम भुक्तानी गर्न लगाएर ठगी गरेका हुन् ।

थारुले क्यामरा खरिदका लागि ग्राहकहरुलाई पहिले नै ५० प्रतिशत रकम भुक्तानी गर्न लगाउने र रकम पाएपछि सम्पर्कविहीन हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले रकम ठगी गर्न ९७४५५४१४५६ नम्बरको मोबाइलमा सम्पर्क गर्न लगाउने गरेको देखिएको छ ।

क्यानन ८० मोडलको क्यामराको ७८ हजार रुपयाँ पर्ने भन्दै थारुले सामाजिक सञ्जाल फेसबुक पेजमा आकर्षक विज्ञापन गर्ने गरेका थिए । ठगी गर्ने थारुलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसँगको समन्वयमा हिजो पक्रेर अपराध अनुसन्धान महाशाखामा बुझाइको थियो । उनलाई आवश्यक कारबाहीको लागि आज महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

टिप्पणीहरू