कमरेडको अवस्था बुझ्न अब के कठिन ?

कमरेडको अवस्था बुझ्न अब के कठिन ?

वडा कमिटीको अधिवेशनदेखि गैरकम्युनिष्ट विचार बोकेका, कम्युनिष्ट विचारप्रति कहिल्यै आस्था र सम्मान नराखेका मान्छेहरूलाई प्रवेश गराउने समारोहको अध्यक्षतासमेत अध्यक्ष स्वयंले नै गर्नुपर्ने भएपछि पार्टीमा कसको कुन अवस्था रहेछ भनेर अनुमान गर्न कठिन छैन । जनताले उठाउने सबैखाले प्रश्नको जवाफ दिन पनि अध्यक्ष नै माइकसामु उभिनुपर्ने भएपछि अरु नेताहरूले कस्तो भूमिका प्राप्त गरेका होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ ।

कम्युनिष्ट पार्टी भनेको त सामुहिक नेतृत्व र निर्णयमा चल्ने पार्टी हो । देश र जनताको हितको निम्ति के कस्तो मुद्दा उठाउने, त्यस मुद्दामा जनताको समर्थन कसरी हासिल गर्ने भन्ने कुरा कमिटीमा छलफल गरेर तय गरिने हो । धुरन्धर विद्वानको एउटा मस्तिष्कले भन्दा गँवारहरूको धेरै मस्तिष्कले ठिक निर्णय लिनसक्छ भनिन्छ ।

के आज नै घरघरमा ग्यास पाइप लाइन पु¥याउन सम्भव छ ? के नेपालमा पानी जहाज सञ्चालन गर्न पूर्वाधार छ, त्यसकारण सम्भव छ ? चाइनासँग रेलमार्गले जोड्ने काम तत्कालै गर्न सकिने काम हो ? यस्ता विषय उठाउनुपूर्व पार्टीको कमिटीमा छलफल गरिएको भए यी मुद्दाहरू खिसिटिउरीको विषय बन्ने थिएनन् । मान्छेले कागजको पानीजहाज बनाएर, प्याट्ट ग्यास भनेर उडाउने थिएनन् । अति नै राम्रो भिजन पनि बिनाछलफल र सल्लाह अघि सारियो भने यस्तै गरी अलपत्र अनि हँसिमजाकको बिषय बन्छ ।

कम्युनिष्टहरूले राम्रो लुगा लगाउन हुँदैन, माछामासु खान हुँदैन, गाडी चढ्नु हुँदैन भन्ने होइन तर यो सबै गर्न परिश्रमबाट आर्जेको धन अर्थात् राज्यकोषमा कर दाखिला गरेको धन खर्च गरेको हुनुपर्छ । एमाले मात्रै होइन अरु धेरैको जीवनशैली अस्वाभाविक किसिमको देखिन्छ ।

उत्पादनमूलक कार्यमा कुनै नेता संलग्न रहेको पाइन्न तर तिनले राजधानी वा सदरमुकामतिर घर बनाएका छन्, महँगो स्कुल, कलेजमा छोराछोरी पढाएका छन् । गाडीघोडा चढेकै छन् । हजार–लाख पर्ने जुत्ता र घडी लगाएकै छन् । यस्तो भएपछि जनताले पत्याउने कुरै भएन ।

राजेन्द्र लिङ्देनले भनेको जस्तो त होइन तर कहाँबाट ल्याउछन् पैसा र यस्तो जिन्दगी बिताउँछन् भनेर त भन्छन् र भनिरहेका नै छन् । गरिबको निम्ति धर्म भनेको अफिमले दिने नशाजस्तै हुन्छ भनेर माक्र्सले भनेका छन् । गरिब हुनु, रोग लाग्नु मेरो भाग्य हो, उस जन्मको फल हो, पापको नतिजा हो भनेर गरिब हुनुको, रोग लाग्नुको कारण नखोज्ने बनाउँछ धर्मले भन्छन् ।

त्यसकारण कम्युनिष्टहरूले धर्मको पक्षपोषण गर्दैनन् । तर अहिले गरिबहरूलाई, नबुझेकाहरूलाई अन्धविश्वासमा पारेर ठोरी यात्रामा सहभागी बनाइएको छ । त्यहाँ सचेत, जागरुक मान्छे सहभागी थिएनन्, तिनै गरिब र नबुझेका मान्छेहरू नै गेरु बस्त्रशस्त्र धारण गरेर लामबद्ध थिए र यस्तो उपक्रम जारी रहने देखिन्छ । यस्तो भएपछि प्रगतिशील र बैज्ञानिक चिन्तन प्रणाली र ब्यवहारको बिकास कसरी सम्भव हुन्छ !

साधारण जीवनशैली र उच्च बिचार कम्युनिष्टहरूको चरित्र हो । किफायती बन्नु, कम खर्च गर्नु, जीवनोपयोगी काममा खर्च गर्नु, तडकभडक नगर्नु कम्युनिष्ट चरित्र हो । तर सहयोग मागेर हुन्छ कि चन्दा उठाएर हुन्छ कि प्रायोजन गराएर हुन्छ कि कसरी हुन्छ पैसा बटुलेर काम गर्ने । सामान्यभन्दा सामान्य भेलासमेत होटलमा गर्ने, खानपिनमा खर्च गर्ने, सार्वजनिक सवारीसाधनमा यात्रा नगर्ने आदि आदि काम भएको देखिन्छ ।

पोलपोलमा नेताको पोस्टर टाँस्ने, स्टिकर बनाएर बोतलमा टाँस्ने, ठूलो धनराशि खर्च गरेर भोजभतेर गर्ने, नेताको हिंडडुललाई राजाको सवारीजस्तो बनाएर जनताको आवागमनमा बाधा पु¥याउनेजस्ता काम कम्युनिष्ट संस्कारभित्र पर्दैनन् । तर यस्तो काम भइरहेको छ र यो रोकिनेवाला छैन ।

चितवनमा भव्य रूपमा सम्पन्न भयो पार्टीको महाधिवेशन तर यो पर्सेप्सनअनुसार हेर्ने हो भने के बुझिन्छ होला कि खास प्रतिनिधिहरू मात्रै जुटेर अधिवेशनमा खर्च कम गरी पैसा जोगाएर त्यो पैसा दुर्गम गाउँमा स्वास्थ्य चौकी वा विद्यालय भवन निर्माण वा मर्मतमा खर्च गरेको भए के हुन्थ्यो ? एमालेको यस प्रकारको अर्थवादी राजनीतिले खास गरेर कमजोर आर्थिक–सामाजिक हैसियत कमजोर भएको मानिसहरूलाई राजनीतिमा प्रवेश गर्न बन्देज नै लाग्ने अवस्था उत्पन्न हुने कुरामा दुईमत छैन ।

भनाइ छ, केही नदेऊ तर बोली वचन त देऊ । राजनीतिमा सहमति, असहमति हुन पाइन्छ । अलगअलग राजनीति गर्न पनि पाइन्छ । विचार नमिल्न सक्छ । बानीव्यहोरा नमिल्न सक्छ, मन नपर्न सक्छ । कांग्रेस कम्युनिष्ट भएका छन्, कम्युनिष्ट कांग्रेस भएका छन् । कतै विचारले, सिद्धान्तले त कतै स्वार्थले मान्छेहरू पार्टी परिवर्तन गर्छन् । राजनीतिक गतिविधिको प्रतिकार वा राजनीतिक प्रश्नको जवाफ राजनीतिले नै दिने हो । कसैलाई पनि गालीगलौज, अपमान, घृणा गर्नु ठीक होइन । हाम्रो सामाजिक संस्कारले पनि यस्तो गर्ने अनुमति दिँदैन ।

कम्युनिष्ट चरित्र त झन् तथ्यमा आधारित रहेर स्वस्थ आलोचना गर्ने हो । कुलङ्घार, धोकेबाज, बेइमान भन्ने, मरेको भए श्रद्धाञ्जली दिन्थे बरु भन्ने जस्ता गाली गर्नु राजनीतिक होइन । नेतृत्वबाट गरिने यस्तो अभद्र खाले टिकाटिप्पणीले तलका हुर्किँदै गरेका नेता–कार्यकर्ताहरूलाई समेत अमर्यादित, असहिष्णु र आक्रामक बनाउने काम गर्छ ।

यस प्रकारका अनेकौं खाले बिचलनहरूबाट एमाले ग्रसित हुँदै गइरहेको तीतो यथार्थ हो । यस्ता विकृति र विसंगतिहरूलाई समयमै नियन्त्रण गर्न सकिएन र यो संस्कृतिकै रुपमा मौलाउन गयो भने यसले एमालेलाई मात्रै नभएर समग्र राजनीतिलाई नै दूषित तुल्याउनेछ ।

टिप्पणीहरू