प्रकाशमान कसरी देउवा नभई हुन्न भन्नेमा पुगे ?

प्रकाशमान कसरी देउवा नभई हुन्न भन्नेमा पुगे ?

– बैकुण्ठ ढकाल

‘बीउ राम्रो हुँदैमा फल गतिलो लाग्छ भन्ने भ्रमबाट पूर्णरुपमा मुक्त भइयो आज’ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सभापतितर्फ पहिलो चरणको मतदानको नतिजा आयो । शेरबहादुर देउवा पहिलो, शेखर कोइराला दोस्रो, प्रकाशमान सिंह तेस्रो विमलेन्द्र निधि चौथो र कल्याण गुरुङ पाँचौ भए । अनि कोइराला बाहेकका चारै जनाले शेरबहादुर देउवालाई नै समर्थन गर्ने भए ।

प्रकाशमानले शेरबहादुरलाई समर्थन गर्ने भनेपछि नै हो ‘बीउ राम्रो हुँदैमा फल गतिलो लाग्छ भन्ने भ्रमबाट पूर्णरुपमा मुक्त भइयो आज’ भन्ने ट्रोल सामाजिक सञ्जालमा भाइरल भएको । जसै १४ औं महाधिवेशनको चहलपहल शुरु भयो तसै प्रकाशमान सिंह जसरी पनि नेतृत्व परिवर्तन गर्नु पर्छ भनेर गर्धन फुलाउनेमा सबैभन्दा अघि थिए । हरहालतमा कांग्रेस सभापतिमा देउवाले निरन्तरता पाउनु हुँदैन भन्ने प्रकाशमानको एक सुत्रीय रटान थियो । सिंहभन्दा कम नै सुनिएका थिए बरु अन्य उम्मेदवारहरू ।

तर दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने मामलामा पनि उनी एक नम्बरमा आए । अनि त्यसको दोष बोक्नु प¥यो प्रकाशमान सिंहका स्वर्गीय पिता गणेशमान सिंहले । नेपाली राजनीतिमा गणेशमानलाई त्यागको प्रतीक मानिन्छ । गणेशमानले प्रधानमन्त्री पद अस्वीकार गरे । मुखमै आएका अन्य पदहरूमा पनि आशक्ति देखाएनन् । जनआन्दोलन गरे बापत कुनै पनि पद खोजेनन ।

तर उनका छोरा प्रकाशमान सिंह के फसे, के मा लोभिए, आफ्नो अडानमा अडिन सकेनन् । अघिल्लो दिनसम्म देउवा कुनै पनि हालतमा हुन्न भन्ने प्रकाशमान भोलिपल्टै कसरी देउवा नभई हुन्न भन्नेमा पुगे ? यो प्रश्न जबरजस्त रुपमा उठेको छ । यसले प्रकाशमानको राजनीतिक उचाइ माटोमा मिलायो । उनले आफ्नै कद घटाए तर जोड्नेहरूले उनका पितासम्मलाई जोडे । हुन त प्रकाशमानले उपप्रधानमन्त्री हुने आश्वासन पाएकाले देउवालाई समर्थन गरेको चर्चा चलिरहेको छ ।

पहिलो चरणको नतिजा आएपछि देउवाबाहेकका विद्रोहीहरु एक ठाउँ आउँछन् र देउवालाई ठेगान लगाउँछन भन्ने धेरैलाई लागेको थियो । तर राजनीति त ‘निष्ठा’ हैन ‘लाभ’ हो भन्ने बुझेका प्रकाशमानलाई समर्थकले बुझ्न सकेनन् । उधारो ‘प्रधानमन्त्री’मा ‘बिकेका’ प्रकाशमानले आफ्ना समर्थकहरूको घोर अपमान गरे । सबैले देउवालाई समर्थन गरे पनि शेखरको मत बढ्यो । सायद यो प्रकाशमानप्रति प्रतिनिधिहरूको ‘विद्रोह’ थियो ।

कांग्रेसको पदाधिकारीहरूदेखि केन्द्रीय सदस्यहरूको मतपरिणाम आइरहँदा धेरै प्रश्न पनि उठिरहेका छन् । महाधिवेशनले केन्द्रीय सदस्यहरूमा गणेश लामादेखि अजयबाबु शिवाकोटीसम्मलाई निर्वाचित गरेको छ । कांग्रेस समर्थक पत्रकारहरू आफैंले चुनाव जितेभन्दा बढी खुशी छन् ।

तर तिनले अजयबाबुले तय गरेका चुनावी एजेण्डा हेरेर खुशी भएका हुन् कि नहेरी ! उदेकलाग्दो छ । तिनै कांग्रेस प्रतिनिधि हुन् पदाधिकारीमा विजयकुमार गच्छदारलाई हराउँछन् उनका ‘चेला’ गणेश लामालाई जिताउँछन् । यी खुद्रा कुरा भए शेरबहादुर देउवामा के देखे र प्रतिनिधिले दोस्रो कार्यकालका लागि चुने भन्ने प्रश्न पनि जबरजस्त रुपमा उठेका छन् ।

शेरबहादुर देउवा अघिल्लो महाधिवेशनबाट पार्टी सभापति भएपछिको पहिलो आम निर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो । एकातिर दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन र अर्कोतिर पार्टीको आन्तरिक व्यवस्थापनमा देउवाको कमजोर नेतृत्व चुनावी परिणाममा स्पष्टै देखिएको थियो । आम निर्वाचनअघि नै स्थानीय तह निर्वाचनमा समेत देउवा नेतृत्वको नेपाली कांग्रेसले नमीठो नतिजा भोगिसकेको हो । कतिपय ठाउँमा माओवादी केन्द्रसँग गठबन्धन गर्दागर्दै पनि कांग्रेस उम्मेदवारहरू पराजित हुन पुगे ।

पार्टीभित्रै चरम असन्तुष्टिका बाबजुद कांग्रेसका मतदाताले माओवादी उम्मेदवारलाई भोट हाले । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गठबन्धन गरेर सँगै सत्तायात्रा गरिरहेका बेला भएको यो गठबन्धन आम निर्वाचनअगावै टुटफुट भयो । स्थानीय तहको निर्वाचनमा एमालेप्रति मतदाताले देखाएको विश्वासबाट लोभिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कमजोर कांग्रेसको साथ छोडेर ओली क्याम्पमा पुगे ।

सरकार र पार्टी दुवैको चाबी आफ्नै खल्तीमा राखेर उँघिरहेका देउवा आम निर्वाचनमा पार्टीले भोगेको शर्मनाक हारको जिम्मेवारी आफूले होइन कार्यकर्ताले लिनुपर्ने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिन पछि परेनन् । सभापतिको असक्षमताले पार्टी पराजित भएको बुझेका नेताहरूले गरेको मोर्चावन्दीमा विस्तारै खिया लाग्दै गयो ।

अन्ततः १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा आइपुग्दा देउवाविरुद्ध सँगठित थुप्रै अनुहार तितरबितर बने । १३ औँ महाधिवेशनपछि ५ वर्ष ९ महिनामा देउवाले खनेको बाटो कति चर्कियो, कति भत्कियो, कति उजाडियो र कति बन्द भयो भन्ने कुराको हिसाब किताव कसैले निकालेनन् । बरु देउवाले सत्तामा बसेर खाइरहेको ठूलो भाग देखेर फेरि वरिपरि झुम्मिनेहरूको बथान बढ्यो ।

सत्तामा भएकै बेला चुनाव गराएर पार्टीलाई १३ प्रतिशत सिटमा झारेका देउवाले फेरि आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने भन्दै मत मागे । प्रतिनिधिले पत्याइ दिए । यसो त जसरी पनि नेतृत्व परिवर्तन गरेरै छाड्ने भनेर सभापतिकै उम्मेदवार बन्नेहरूले त पत्याएपछि अरु प्रतिनिधिले पनि पत्याए । महाधिवेशनमा देउवाले पार्टीलाई सँगठित गर्न सकेनन्, कामको डेलिभरी दिन सकेनन्, प्रतिपक्षीमा हुँदा सबल र सरकारमा हुँदा सफल हुन सकेनन् भन्नेहरूले नै आफ्नो विवेक निकालेर देउवाको पानी ट्यांकीमा खसाली दिए ।

आफैंले अक्षम र असफल भनेर पनि देउवालाई अनुमोदन गरिदिए । देउवाको सभापतिको रुपमा दोस्रो इनिङ्सले उनी निकटलाई त खुशी नै बनाएको छ । १३ औं महाधिवेशनमा सभापति चुनिएका देउवाले भातृसंगठनहरूको चुनाव गराउनै सकेनन्, कतिपय विभागहरूले पूर्णता पाएनन् । अब १४ औं महाधिवेशनबाट सभापति चुनिएपछि कम्तिमा यी कामहरू गराउलान् । यो पटक समयमा पार्टीको महाधिवेशन गर्न नसकेका देउवाले १५ औं महाधिवेशन गराउलान् भन्ने आश गरौं ।

१४ औंं महाधिवेशनले परिवर्तनको सानो झिल्का भने फालेको छ । परिवर्तनको आश गराउने दुई झरिला र भरिला ‘युवा’ गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएका छन् । उनीहरूले कांग्रेसलाई केही गर्लान् कि भन्ने धेरैको आशा छ । हुन त अहिलेदेखि नै सामाजिक सञ्जालहरूमा गगन र विश्वको उमेर हुँदा ‘देउवा’बाट पनि धेरै आशावादी थियौं तर त्यसो भएन भन्ने प्रतिक्रियाहरू आउन थालिसकेका छन् । यी कुराहरूलाई गलत सावित गर्न गगन र विश्वसहितका युवाहरू लाग्नु पर्दछ ।

टिप्पणीहरू