छोरीलाई कोरोना लागेपछि प्रधानमन्त्री छुट्टिए

छोरीलाई कोरोना लागेपछि प्रधानमन्त्री छुट्टिए

इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट निवासमा अलग्गै बस्न थालेका छन् । १४ वर्षीया छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अलग्गै बस्न थालेका हुन् ।

छोरी ओमिक्रोन वा डेल्टामध्ये कुन भेरिएन्टबाट संक्रमित भएकी हुन् भन्नेबारे कुनै जानकारी दिइएको छैन । तर बेनेटकी श्रीमती र अन्य बालबालिकाको परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।

पहिले नै कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी छोरीलाई संक्रमण भएको हो ।
छोरीको कोभिड–१९ पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको थाहा पाएपछि मन्त्रिमण्डलको साप्ताहिक बैठक छाडेर प्रधानमन्त्री एकाएक निवास पुगी अलग्गै बस्न थालेका हुन् ।

यसअघि संयुक्त अरब इमिरेट्सबाट फर्केका एक व्यक्तिमा कोभिड–१९ पुष्टि भएपछि प्रधानमन्त्री बेनेट डिसेम्बर १४ मा पनि यसरी नै अलग्गै बसेका थिए । ती इजरायल फर्केका व्यक्ति बेनेटको सम्पर्कमा आएकाले उनी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

इजरायलमा एक हजार एक सय १८ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । पछिल्ला दिन संक्रमितहरूको संख्या प्रत्येक दुई दिनमा दोब्बरले बढिरहेको छ ।

टिप्पणीहरू