प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र हाम्रो सन्दर्भ

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र हाम्रो सन्दर्भ

सरकारले यो वर्षदेखि पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन सुरु गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०७८ मनाउन सुरु गरेको हो ।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णयबमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो ।

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संबद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइएको छ ।

सामाजिक सुरक्षाको अवधारणा लागू गर्ने सन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला ज्येष्ठ नागरिकलाई मासिक भत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सबैभन्दा प्रगतिशील कदम भएको मानिन्छ ।

विश्वमा भने संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिन्छ ।

तथ्याङ्कले भन्छ विश्वमा प्रत्येक सेकेण्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्छन् । अहिले विश्वमा ९० करोडको हाराहारीमा रहेका ज्येष्ठ नागरिक सन् २०५० सम्ममा डेढ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०५० पछि विश्वको कुल जनसंख्याको २२ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिकहरूको हुनेछ । त्यो जनसंख्या १५ वर्ष मुनिको उमेर समूहभन्दा ६० वर्षको उमेर समूहको जनसंख्या धेरै हुने छ ।

स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयुदर वृद्धि हुँदै गएको छ । ज्येष्ठ नागरिकको संख्या बढ्नु स्वाभाविकै हो । पूर्वाधार विकासका कारणले गर्दा शिक्षा, स्वास्थ्यमा जनताको पहुँच पुगेको छ । त्यसैले अकाल मृत्यु र कुपोषणबाट नेपाली समाज बिस्तारै मुक्त हुँदै गइरहेको छ । विज्ञान र प्रविधिको तथा चेतनाका कारण जनसंख्या वृद्घिदर घट्नु र औसत आयु बढ्नु जस्ता कारणले ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो क्रममा छ । त्यति मात्र होइन चेतनास्तर वृद्धिसँगै व्यस्त जीवनका कारण पनि एक वा दुईभन्दा बढी सन्तान जन्माउन छाडेका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृद्धिदर २ दशमलब १ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर ३ दशमलब ४ प्रतिशत रहेको देखिन्छ । नेपालको जनसंख्याको ८ दशमलब १३ प्रतिशत अर्थात २५ लाख बढी ज्येष्ठ नागरिक छन् । पुरुषको भन्दा महिलाको संख्या उच्च छ ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन हुन् । नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पूरा गरेका लाई वरिष्ठ ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरिएको छ । नेपालको संविधानको धारा ४१ मा मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनि उल्लेख गरिएको छ ।

मानवअधिकारको विश्वव्यापी घोषणपत्र १९४८, UnitedNations Principles for older persons 1991, Macau plan of action on ageing1998/Madrid International plan of action on ageing 2002 जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले उपस्थिति जनाइसकेको छ । सोहीअनुसार जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालीन अवधारणा जेष्ठ नागरिक कार्ययोजना लागू गरिएको छ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको स्थापना भई जिल्लाहरुमा ज्येष्ठ नागरिक कल्याण समिति गठन गरिएको छ ।

हामीले वर्तमान सन्दर्भमा ज्येष्ठ नागरिकहरुले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीति राज्यले बनाउन चुक्नु हुन्न । ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन् । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनुपर्छ ।
तर हाम्रो सन्दर्भमा वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमशः ह्रास हुँदै गएको छ । सनातनबाट चल्दै आएको ज्येष्ठ नागरिकप्रतिको संरक्षण र सम्मानमा पछिल्लो समयमा विचलन आउन थालेको छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै छ ।

पारिवारिक स्नेहबाट अग्रज विमुख हुँदैछन् । जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेँला, घृणा र दुव्र्यवहारको सिकार बनेका घटना पनि नभएका होइनन् । अधिकांश ज्येष्ठ नागरिक बाल्यवस्था जस्तै वृद्ध पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुन्छन् । तर यहाँ यसको उल्टो ज्येष्ठ नागरिक परिवारबाटै अपहेलित हुन पुगेका छन् ।

ज्येष्ठ नागरिकका इच्छा र चाहनामा कतिपयको ध्यान पुग्न सकेको छैन । दुःख, पीडा र हीनताबोध जस्ता निराशाजनक जीवन जिउन विवश वृद्धवृद्धाको संख्या बढ्दो छ । यसतर्फ गम्भिर हुनु जरुरी छ । काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । आजका बालक भोलिका ज्येष्ठ नागरिक हुन् भन्ने भुल्नु हुँदैन । हाम्रो पनि त्यहि अवस्था आउँछ भन्ने कुरा सबैले हेक्का राख्नु जरुरी छ ।

ज्येष्ठ नागरिक एकातिर स्याहारसुसारको आवश्यकता महसुस गर्दै घरमै समय व्यतित गर्न बाध्य छन् भने अर्कोतिर आफ्ना शारीरिक, मानसिक अवस्थाका पीडा बोक्दै बसेका छन् । यस्तो अवस्थामा उनीहरूलाई सबैतिरबाट माया, प्रेम र सद्भावको खाँचो छ । भरपर्दो सहारा चाहिएको हुन्छ । ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नै घरपरिवारबाट मात्र सम्भव छ । घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारीबोधको खाँचो छ । ‘पितृ देवो भव’, ‘मातृ देवो भव’ को भावना घरघरमा जागृत हुन आवश्यक छ ।

ज्येष्ठ नागरिक ऐन तथा नियममा भएका कल्याणकारी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि घरपरिवार संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र जिम्मेवारीबोध हुनुपर्छ । दिवा सेवा तथा दिवा मिलन केन्द्र, अशक्त स्याहार केन्द्रलगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन र सहकार्यमा सरकारी र गैरसरकारी संघसंस्थाको सद्भाव, सहयोग, सहकार्य र समन्वयमा मात्र ज्येष्ठ नागरिकका लागि गरिएको कल्याणकारी कामले सार्थकता पाउन सक्छन् ।
माया, ममता र करूणाका खानि रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउन स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु तथा मर्यादित जीवनयापनका लागि यो दिवस फलदायी बनोस् !

वर्तमान युवा पुस्ताले ज्येष्ठ नागरिरकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि ज्येष्ठ नागरिकको सम्मान गर्नेछ । ज्येष्ठ नागरिक समाजका अमूल्य निधी र पथप्रदर्शक पनि हुन् भन्ने नभुलौँ र सम्मान गर्न नचुकौँ । ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध सबैजना आ आफ्नो ठाउँबाट उभिऔँ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०७८ को शुभकामना ।

लेखनाथ खतिवडा शिकारु

 

टिप्पणीहरू