पोखराको डाँडामा केबलकार चल्यो

पोखराको डाँडामा केबलकार चल्यो

पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट पुग्न निर्माण गरिएको केबलकार आगामी शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ । अंग्रेजी नयाँ वर्षको अवसरमा केबुलकार सञ्चालन गर्ने तयारी गरिएको हो ।

कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो केबलकार निर्माण सकिएको सञ्चालक एवम् निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट सात जनाको टोली पोखरा पुगेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । लोड परीक्षण सकिएको कम्पनीले दाबी गरेको छ ।

झण्डै साढे दुई किलोमिटर लामो केबलकारमा १८ वटा टावर छन् । एउटा सामान बोक्नेसहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले आठ जना यात्रु ओसार्न सक्छ । केबलकार सञ्चालनमा आउँदा २५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने जानकारी दिइएको छ ।

पोखराको केबलकारमा यात्रा गर्दा एकैपटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइने भएको छ । केबलकार निर्माणमा दुई अर्बभन्दा बढी खर्च भएको निर्माण जानकारी दिइएको छ । केबलकार चढ्न नेपालीले दोहोरो यात्राको लागि ६ सय रुपैयाँ तिर्नुपर्ने छ । स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिकलगायतलाई विशेष छुट दिइने कम्पनीले दिएको जानकारीमा उल्लेख छ ।

केबलकारमा व्यवसायी कालु गुरुङसहित अन्य नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी छ ।

टिप्पणीहरू