भारतीय दूतावासमा सुरक्षा भरमार

भारतीय दूतावासमा सुरक्षा भरमार

नेपालको आन्तरिक राजनीतिमा विभिन्न सम्भावना र चुनौतिका रेखाहरु कोरिँदै छन् । यससँगै नेपाललाई सकारात्मक वा नकारात्मक उद्देश्यका साथ महत्व दिने विदेशीका कार्यशैली पनि फरक फरक हुन थालेका छन् । यसैक्रममा भारतले आफ्नो दूतावासभित्र सुरक्षा कमाण्डको स्तरोन्नति गरेको छ ।

गत बिहीबार एयर इण्डियाको उडानबाट इण्डियन पुलिस सर्भिस (आइपिएस) का एसपी अनिलकुमार गिरी काठमाडौं अवतरण भएका छन् । एकजना महिला (सम्भवतः पत्नी) सहित काठमाडौंमा उत्रिएका उनले बन्दोबस्तीका सामानहरु पनि राम्रैसँग लिएर आएका छन् ।

अर्थात्, उनी घुम्न वा निश्चित मिशन बोकेर हैन, पोष्टिङकै क्रममा काठमाडौं उत्रिएको बुझिन्छ । जबकि, लैनचौरस्थित भारतीय दूतावासमा औद्योगिक सुरक्षा बल (सिआइएफएस) बाट खटिने एकजना इन्स्पेक्टरको दरबन्दी छ । उनकै कमाण्डमा सुरक्षाकर्मी त्यहाँ रहन्छन् । तर, एसपी गिरीको आगमनसँगै अब त्यहाँको कमाण्ड माथिल्लो दर्जामा गएको छ ।

त्यसो त दूतावासमा भारतीय सेनाका एकजना कर्णेल डिफेन्स अट्याची (रक्षा सहचारी) का रुपमा खटिएका छन् । त्यो चलन प्रत्येक देशका दूतावासमा हुन्छ । प्रहरीबाट सहचारीका रुपमा डिआइजी तहका हाकिम हुन्छन् । त्यसबाहेक गुप्तचर संस्था ‘रअ’ का नाम र दर्जा खुलेका १७ जनाको दरबन्दी लैनचौर दूतावाससँग छ ।

चिनिने र नचिनिने गरी अनगिन्ती कर्मचारी काठमाडौंसहित देशका विभिन्न भागमा रहेका मुख्य–मुख्य प्रशासनिक इकाईमा छोडिएका छन् । भारत सरकारले आफ्नो विशिष्ट पाहुना नेपाल भ्रमणमा जानुपूर्व यस्तो किसिमको उच्च दर्जा र ठूलो संख्याका सु्रक्षाकर्मी पठाउने गरेको छ ।

तर, अहिले नेपालमा भारतबाट त्यस्ता कुनै विशिष्ट पाहुना आइहाल्ने तयारी छैन । राजदूतको अंगरक्षासहित दूतावासभित्र २३–२४ जना प्रहरी नियमित अवस्थामा बस्ने गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो पटक नेपाल आएको बेला सरकारले ६७ भन्दा बढी सुरक्षाकर्मी उतारेको थियो ।

टिप्पणीहरू