अध्यक्षमा पराजित कमल थापा अब पोखरामा भिड्ने

१८ औं संस्करणको माछापुच्छ्रे खुला टेनिस आजदेखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगितामा राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि सहभागी हुने आयोजकले बताएको छ । पोखरा रंगशालाभित्र रहेका छ वटा टेनिस कोर्टमा प्रतिस्पर्धा गराईंदैछ ।

महिला र पुरुषको खुलाबाहेक पुरुषतर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथि उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा हुने टेनिस संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।

पुरुष एकलतर्फ १६ जना, डबल्सतर्फ ९ समूहको प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ एकलमा १२ जना र डबल्सतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । उमेर समूहतर्फ ३५ वर्षमाथिको उमेर समूहको एकलतर्फ २१ जना र डबल्सतर्फ १३ टिमले प्रतिस्पर्धा गर्ने छ । ४५ वर्षमाथिको उमेर समूहमा एकलतर्फ ३२ जना र डबल्सतर्फ २१ टिमको सहभागिता रहने आयोजकले बताए ।

त्यस्तैै ५५ वर्षमाथि उमेर समूहको प्रतिस्पर्धामा १५ जना एकलतर्फ र १३ टिम डबल्सतर्फ प्रतिस्पर्धा गर्दै छन् । ६५ वर्षमाथिको उमेर समूहमा भने ८ जनाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका विजेताले ८० हजार र उपविजेतालाई ४० हजार नगद पुरस्कार राखिएको छ । डबल्सतर्फका विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार एवं सेमिफाइनलिष्टले १० हजार प्राप्त गर्ने छन् । उमेर समूहअन्तर्गत ३५ वर्षमाथिको उमेर समूह विजेतालाई एकलतर्फ ६० हजार र उपविजेतालाई ३० हजार नगद पाउँदा डबल्सतर्फ २० र १० हजार रुपैयाँ पुरस्कार छ ।

४५ वर्षमाथि उमेर समूहको एकलतर्फ ४० हजार र उपविजेताले २० हजार, डबल्सतर्फ विजेतालाई २० र उपविजेतालाई १० तथा ५५ वर्षमाथिका एकल विजेताले ३० हजार र उपविजेताले २०, डबल्सतर्फ विजेताले २० र उपविजेताले १० हजार पुरस्कार पाउँछन् ।

टिप्पणीहरू