राष्ट्र बैंकको योगामा माया-पिरिम र बैगुनी

राष्ट्र बैंकको योगामा माया-पिरिम र बैगुनी

नेपाल राष्ट्र बैंकले अस्ति शुक्रबार कार्यालय समयपछि शनिवार दिउँसोसम्म आफ्ना ६५ जनाभन्दा बढी निर्देशक तथा कार्यकारी निर्देशकलाई ‘रिफ्रेसमेण्ट’ गराउने भन्दै थानकोट नजिकैको चन्द्रागिरि रिसोर्टमा लगेको छ । मोटामोटी २४ घण्टाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी,डेपुटी गभर्नरद्वय नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पनि सहभागी थिए ।

अधिकारी भने शनिवार बिहानको ‘योगा डान्स’ मा सहभागी नभएको बताइन्छ । डेपुटीहरु अन्य कार्यकारी र निर्देशकहरुसँगै शुरुमा योगाभ्यास र पछि ‘योगा डान्स’ मा सहभागी भएका थिए । चन्द्रागिरि नगएका केही कार्यकारी र निर्देशकलाई भने उक्त अवसरबाट वञ्चित भएको भन्दै कार्यक्रमस्थलबाट लञ्च समयमा फोन गरेर उताकाले जिस्काएका थिए ।

शुक्रबार दिउँसो कार्यालयबाट सोझै त्यहाँ पुगेकाहरुले साँझको रमाइलोबाट ‘रिफ्रेसमेण्ट’ को थालनी गरेका थिए । यो वर्षको मेरी क्रिसमससमेत परेकाले शुक्रवारको चिसो साँझ छिप्पिँदै जाँदा छु्ट्टै ‘मज्जा’ आएको एक जना निर्देशकले बताए । साँझको ‘तातो’ खानपान र नाचगानले आँतै आनन्दित बनाएको उनी बताउँछन् ।

तर, हिजो बिहान योगा गराउँदा भने उनी आफैँ झुक्किए । ‘पहिले पलेटी कसेर पैतालादेखि भुँडीसम्म हल्लाउन लगाइयो,एक छिनपछि ‘योगा डान्स’ भन्दै म्युजिक बजाइँदा धेरै जना अलमलमा पर्यौं,’ उनले भने ।

अघिल्लो साँझ छिप्पिँदै गएको क्रिसमिस इभमा बजाइएको ‘रोमाण्टिक’ गीत नै भोलिपल्ट सबेरैको योगामा बजाएपछि गोडाको चाल नै फरक परेको अर्का एक जनाले पनि स्वीकारे । ‘माया पिरिम, बैगुनी र निष्ठुरी उल्लेख गरिएको गीतमा योगा गर्दा साह्रै गाह्रो हुँदोरहेछ,’ उनको अनुभव हो यो ।

टिप्पणीहरू