प्रचण्डपथ ब्युँताउँदैनौं : प्रचण्ड

प्रचण्डपथ ब्युँताउँदैनौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डपथ फेरी ब्युँतिने अवस्था नरहेको बताउनुभएको छ । पार्टीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दै उहाँले विगतमा हतारमा प्रचण्डपथ छाडिएको भए पनि फेरी त्यसैमा फर्किने अवस्था अब नरहेको प्रष्ट पार्नुभयो ।

माओवादीकै कतिपय नेताहरुले राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथ फर्काउनुपर्ने बताइरहेका बेला प्रचण्डले भने नयाँ विचार र संश्लेषणको खाँचो भएकाले पुरानै विचारमा फर्किन नसकिने बताउनुभएको हो । यद्यपि पर्याप्त छलफल र समीक्षा नगरी प्रचण्डपथ स्थगन गरेर विगतमा गल्ति गरेको उहाँको भनाइ छ ।

माओवादीले दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथ पारित गरेको थियो । शान्ति प्रक्रियामा आएपछि तत्कालीन एकता केन्द्रसँगको पार्टी एकताका बेला प्रचण्डपथ थाँती राखिएको थियो । पछिल्लो समय माओवादीमा प्रचण्डपथ फेरी ब्युँताउनुपर्ने आवाज उठिरहेको छ ।

‘फेरि प्रचण्डपथमा नै फर्किने भन्ने त हुँदैन,’ प्रचण्डले भन्नुभयो, ‘तर पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिक मार्गदर्शनमा लैजान नयाँ विचारको बहस र संश्लेषणको जरुरी छ ।’

टिप्पणीहरू