सँगै रमाउने, बच्चा जन्माउने अनि जिम्मा नलिने

सँगै रमाउने, बच्चा जन्माउने अनि जिम्मा नलिने

काभ्रेको तेमाल गाउँपालिका घर भई २००१ देखि वैदेशिक रोजगारीमा गएका एक युवक श्रीमतीको खोजीमा छन् । छोरी १९ बर्षकी भइन् । बैदेशिक रोजगारबाट पटक पटक पठाएको रकम पनि छैन, श्रीमती छैनन् । श्रीमतीको खोजविन गरी सम्वन्ध विच्छेदको मुद्दा दर्ता गरेका युवकले २ वर्षदेखि अदालतबाट न्याय नपाएको बताए । श्रीमती सँगै बस्न नचाहने, सम्वन्ध विच्छेद पनि नदिने ? दुई वर्षदेखि लगातार अदालत धाइरहेका युवकले श्रीमतीकै कारण दुःख पाएको बताए ।

सम्वन्ध विच्छेदका लागि दर्ता गरेको मुद्दामा १४ पटक पेशी तोकिँदा पनि फैसला हुन नसकेको, श्रीमतीले म्याद नबुझेको, प्रतिउत्तर नलगाएको, पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत न्याय पाउन नसकेको बताए । अदालतले पुनः अंशको संरक्षण गर्नु पर्ने भएकाले त्यसको लागि आदेश जारी गरेको छ । उनी तिनै श्रीमती चाहन्छन् । श्रीमती बस्न नचाहे अंश पनि दिन तयारछन् । त्यो दुबै नदिएकी श्रीमतीले अड्को थापेर संकटमा पारेकाले तत्कालै सम्वन्ध विच्छेदमार्फत न्याय चाहिएको हो भन्छन् ।

जिल्ला अदालत धुलिखेलमा सम्वन्ध बिच्छेदका लागि मुद्दा दर्ता गरेका मण्डनदेउपुर नगरपालिका निवासी एक ब्यक्ति श्रीमतीलाई अंश दिएर अलग हुन सहमत भए । १५ वर्षअघि विवाह गरेको उक्त जोडीबाट जन्मिएकी ९ बर्षिया छोरी आमासँग बस्न चाहन्छिन् । अदालत परिसरभित्रै छोरीले आमा, म तपाईंसँग बस्छु जसरी पनि राख्नुस् न प्लिज भन्दै रोईकराई गर्छिन् । आमाले उनको चित्कारलाई वास्ता गर्दिनन् । छोरीले बाबासँग बस्न पनि मन गर्दिनन । बाबासँग नबस्ने, आमाले नराख्ने । यस्तो संकटमा हुर्किएका सन्तानको भविश्यको सुरक्षा कसले गर्ने ? सम्बन्ध बिच्छेदपछि उब्जिएको यो प्रतिनिधिमुलक घटना हो ।

काभ्रेको रोशी गाउँपालिका घर भई राजधानीमा डेरा गरी बस्ने एक परिवार विवाहको २० वर्षपछि सम्वन्ध विच्छेदका लागि जिल्ला अदालत गए । विवाह गरेको केहि महिनादेखि अलग भएका बाबुको अनुहार नदेखेकी १७ बर्षिया छोरीले अदालतमा बाबुलाई कयौं पटक बिन्ति गरिन् । प्लिज बाबा, आमा र मलाई नछाड्नुस् न । मैले आजसम्म कसैलाई बाबा भन्नै पाएको छैन । बल्ल चिनें ।

चिनेलगत्तै तपाईंलाई गुमाउनु पर्दाको पीडा ब्यक्त गर्न सक्दिन । आमाले तपाईंको पर्खाइमा कति दुःख ब्यहोर्नु भयो ! भन्दा पनि बाबाले मान्दै मानेनन् । कुनै पनि हालतमा अलग हुन चाहे । जन्मेका सन्तानले बाबुसमेत भन्न नपाउने गरी १७ वर्षपछि अलग हुने निर्णयले समाजको अर्काे चरित्र उदांगो भएको छ । अदालतमा दर्ता भएका कयौं सम्वन्ध विच्छेदका घटनाहरूका यी प्रतिनिधि मात्रै हुन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको अध्ययनमा पनि सम्वन्ध विच्छेदपछि समाजका विविध समस्याहरू उजागर गरेको छ ।

मुलुकी ऐन, २०२० लाई प्रतिस्थापन गर्दै मुलुकी देवानी संहिता, २०७४ लागु भएपश्चात् पुरुषहरू समेतले सम्बन्ध विच्छेद गर्ने क्रम बढेको छ । श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेकाअनुसार जिल्ला अदालतमा पछिल्लो ५ वर्षमा औसत फैसला भएका मुद्दाहरू ८६ प्रतिशत सम्वन्ध विच्छेदका छन्् । २०७३ श्रावणदेखि २०७८ बैशाख मसान्तसम्म दर्ता भई फैसला भएका १ हजार १ सय ७७ थान मुद्दाहरूमध्ये अदालतको अभिलेख शाखामा उपलब्ध १ हजार ६ थान सम्बन्ध विच्छेदका छन् । यो फैसला भएका मुद्दाहरूको करिब ८६ प्रतिशत हो ।

जिल्ला अदालतमा फिरादीहरूमध्ये २० देखि ३० वर्ष उमेर समूहका अत्यधिक छन् ्। ४० वर्षमाथिकाको संख्या न्यून छ । उनीहरूको औसत उमेर ३०.४१ वर्ष छ भने प्रतिवादीहरूको औसत उमेर ३२.९८ वर्ष छ । ७० वर्षभन्दा माथिका व्यक्तिले पनि सम्बन्ध विच्छेदको माग गरेका छन् । खानीखोला गाउँपालिकामा बसोवास गर्नेहरूले सबैभन्दा कम प्रतिशत र पनौती नगरपालिका बस्नेले सबैभन्दा बढी प्रतिशत मुद्दा दायर गरेका छन् ।

तर त्यो भन्दा पनि बढी वादीहरूको संख्या जिल्ला बाहिरको छ । तेमाल गाउँपालिकाबाट सबैभन्दा बढी प्रतिशत मुद्दा दायर भएका छन्् भने नगरपालिकाहरूमध्ये सबैभन्दा कम मण्डनदेउपुरका छन् । नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकाका फिरादीहरूको संख्या अत्यधिक छ ।  ५७ प्रतिशतभन्दा बढी मुद्दाहरू आदिवासी जनजातिका छन् । ब्राम्हण र क्षेत्रीहरू वादी भएका मुद्दाहरू करिब ३५ प्रतिशत छ । जनजातिहरूको संख्या पनि बढी भएको हुँदा यो मुद्दाको भार स्वभाविकै देखिन्छ । समष्टिमा सम्बन्ध विच्छेद माग गर्ने महिलाको तुलनामा पुरूषहरूको अनुपात निकै कम छ ।

प्रेम विवाह गरेका पुरूषको तुलनामा सामाजिक विवाह गरेका बढी पुरूषले सम्बन्ध विच्छेदको माग गरेका छन् । त्यस्तै प्रेम विवाह गरेका महिलाको तुलनामा सामाजिक विवाह गरेका कम महिलाले सम्बन्ध विच्छेद माग गरेका छन् । त्यसैले प्रेम विवाहमा पुरूषभन्दा महिलाले र सामाजिक विवाहमा महिलाभन्दा पुरूषले बढी अन्यायको अनुभूति गरेका छन् । विवाह भएको पहिलो वर्षमा नै सम्बन्ध विच्छेदको लागि फिराद गर्नेहरु पनि छन् ।

विवाह भएको ६३ वर्षमा पनि फिराद गरेको पाइएको छ । तर विवाह भएको ५ देखि १५ वर्षको बीचमा अधिक सम्बन्धविच्छेदको दावी पर्ने गरेको छ । विवाहदेखि सम्बन्ध विच्छेद मुद्दा दायर गर्दासम्मको औसत समय भने १०.७६ वर्ष रहेको छ । २० वर्षपछि मुद्दा दायर गर्ने व्यक्ति भने निकै कम छन् ।

८२.८० प्रतिशत शारीरिक वा मानसिक यातना दिएको कुरालाई सम्बन्ध विच्छेदको आधार बनाउने गरेका छन् । खान, लाउन नदिएको वा घरबाट निकाला गरेको कारण देखाएर सम्वन्ध विच्छेद गर्नेहरूको संख्या धेरै छ । सम्वन्ध विच्छेदका कारण समाजमा विचलन आउन र बालबालिकाहरूको मनोविज्ञानमा असर पर्न थालेको छ ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू