केपी ओलीलाई अरु केही चाहिन्न,‘बा’ भन्दिए दङ्ग : माधवकुमार नेपाल

केपी ओलीलाई अरु केही चाहिन्न,‘बा’ भन्दिए दङ्ग : माधवकुमार नेपाल

-बुध्दि पुन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली गफाडी मात्रै भएको बताउनुभएको छ । जनतालाई आश्वासन दिने तर जनभावना बिपरित काम गर्ने भएकाले ओली गफाडी नै भएको उहाँले बताउनुभएको हो । पार्टीको सल्यान जिल्ला कमिटीले आज दिउँसो खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ओलीकै अहम र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको बताउनुभएको छ । ‘ओलीले पार्टीमा मनपरीतन्त्र चलाए,यसले पार्टीलाई भलो गर्दैन, दुईतिहाइ प्राप्त पार्टी अहिले सरकार बाहिर रहेको छ’ उहाँले भन्नुभयो ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले बिद्रोह गरेका हौँ, यसको शुरुवात कर्णालीबाट भएको हो ।’ कम्युनिष्टको खोल ओढेर ओलीले यसरी गफ लगाउँदैमा कम्युनिष्ट हुनै नसक्ने उहाँको भनाई छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले ओलीकै कारण एमाले पार्टीको भविष्य अन्धकार बनेको र सूर्य चिन्हमा ग्रहण लागेको बताउनुभयो । पार्टी र देशको बिकास,समृध्दिसँगै संविधान र लोकतन्त्र रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदाएको उहाँले बताउनुभयो । ‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याण हुनेछ’ उहाँले भन्नुभयो ‘पार्टीप्रति नागरिकको आकर्षण बढेको छ,पार्टी पुनर्गठन अभियान देशभर सञ्चालन भैरहेको छ ।’

नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतिक भएको बताउनुभयो । ‘अब तपाईंले कलममा भोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतिक हो’ उहाँले भन्नुभयो । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिवीच गठबन्धन हुने बताउँदै उहाँले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गर्नुभयो ।

फरक प्रसंगमा उहाँले सल्यान जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला भएको बताउनुभएको छ । जिल्लामा उत्पादन हुने कृषि तथा पशु र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उहाँले दाबी गर्नुभयो । उहाँले जिल्लाको बिकास र समृध्दिको लागि सहयोग गर्न आफू तयार भएको बताउनुभएको छ ।

यस्तै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा आवध्द हुन सबैमा आग्रह गर्नुभएको छ । केही कार्यकर्ता विभिन्न भ्रम र आश्वासनको भर परेर एमालेमा रहेको भएपनि विस्तारै उनीहरु पनि आफ्नो भविष्य सुनिश्चितको लागि कलम चिन्हभित्र गोलबध्द हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज शेरबहादुर केसी,प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, केन्द्रीय सदस्य धीरेन्द्र श्रेष्ठ, भद्रसिंह बुढा,शारदा परियार, लक्ष्मण केसी,मोहन गौतम लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर दुई सय बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष उदय बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव भोला केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव रमेश गौतमले गर्नुभएको थियो ।

टिप्पणीहरू