अन्तर्घातले चुनाव हारेको महतको दावी

अन्तर्घातले चुनाव हारेको महतको दावी

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको अन्तरघातका कारण आफूले महामन्त्रीमा हार्नु परेको बताएका छन् । १४ औं महाधिवेशमा महामन्त्रीबाट पराजित उनले आज अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्दै टिमका आधारमा आफूलाई मत नआएका कारण हारेको बताए ।

परिणाम अनपेक्षित भए पनि आफूले स्वीकार गरिसकेको महतले बताए । पराजयले आफूलाई थप उर्जा प्राप्त भएको भन्दै उनले पार्टी निर्माणमा आफ्नो ठाउँबाट भूमिका खेल्ने पनि प्रष्ट पारे ।

महतले आफ्नो पराजयको समीक्षा हुने पनि बताएका छन् । उनले भने, ‘समीक्षा गरेपछि थाहा हुन्छ, मेरो उम्मेदवारीको विरुद्धमा को,किन लागे भन्ने कुरा । अहिल्यै केही नभनौं । अन्तर्घात आफ्नै टिमबाट भएको हो ।‘

सभापतिले केन्द्रीय सदस्यमा मनोनित गरे त्यसलाई स्वीकार गरेर पार्टी काममा सक्रिय हुने उनको भनाइ छ ।

कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनमा अधिकांश पदमा शेरबहादुर देउवा प्यानलका उम्मेदवार विजयी भए पनि महामन्त्रीमा भने संस्थापन बाहिरका गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका थिए । देउवा प्यानलबाट चुनाव लडेका महत र प्रदीप पौडेल दुवैजना पराजित भएका थिए ।

टिप्पणीहरू